तिमी को हौ ?

तिमी को हौ ?
सांकेतिक तस्बिर।

जीवनको अविच्छिन्न यात्राका क्रममा परिस्थितिजन्य एक मोड आउँछ। त्यहीँ मेरो सामु एउटा विशाल प्रश्न तेर्सिन्छ– ‘तिमी को हौ ?’ म प्रश्नको वजनले थिचिएर बीच बाटोमै थचारिन्छु। घोत्लिन्छु। अनि आफ्नै परिचय खोज्न दिमागी मन्थन सुरु गर्छु। यस प्रश्नको उत्तर उत्तिकै व्यापक छ जति अनन्त छ आकाश। हेर्नुस् न ! मैले आजसम्म म को हुँ भनेर आफैंलाई सोध्नु परेन। तर, आज विवश भएँ। सोधखोज गर्नैपर्ने भयो। प्रश्न उठ्यो मेरो परिचयमाथि। 

मेरो पहिचानमाथि। 

मलाई मेरो पहिचान छुट्ट्याउन आमाबुवाले एउटा नाम दिएका छन्। तर, यो नामले कसले चिन्लान र मलाई ? यो नामधारण गरी मैले त्यस्तो केही विशिष्ट र स्मरणयोग्य कुनै काम गरेको भए पो ! न कुनै कुकर्म गरेको छु। ताकी नराम्रै नामले भए पनि चिनोस्। त्यसकारण यो नाम लिनुको कुनै तुक छैन। मेरो अस्तित्वको अर्को पाटो छ– एक छोरा–नाति, दाजु–भाइ, पति–पिता, भान्जा–भतिजा, ज्वाइँ–भेना आदि। यो त नाताको सामान्य परिचय भयो। मानिस भई यो पृथ्वी लोकमा जन्मने जो कोहीले स्वतः प्राप्त गर्छन् यो पहिचान। कुनै ठूलो युद्ध जित्नु परेन। न त कुनै ठूलो पराक्रम नै प्रदर्शन गर्नुपर्छ। म अझै अर्को गहकिलो परिचय खोज्न घोत्लिएँ।

अनि मेरो जात मेरो अलग पहिचान, मेरो बासस्थान, नागरिकताका आधारमा म एक नेपाली। हो यो पनि मेरो पहिचान हो। नेपाल मेरो देश। नेपाली मेरो भाषा। म नेपाली। मेरा पुर्खा देशको गरिमा बढ्ने थुप्रै गर्विलो काम गरेर गएका छन्। हो म नेपाली हुनुमा गौरव गर्छु। म नेपाली नै हुँ। मेरो सबभन्दा ठूलो पहिचान नेपालीपन हो। मैले निश्चय गरेँ, छाती फुकाएर नेपाली हुँ भन्ने। तर फेरि मेरो मनमा अनेक विचार अनि शंका उब्जिन थाले। आफूलाई नै प्रतिप्रश्न गर्न थालेँ। के मैले आफूलाई नेपाली भनेर परिचय दिँदा केही फरक त पर्दैन ? राम्रो नराम्रो के होला ? यस्तै सोच्दै थिएँ। एउटा पुरानो कुराको सम्झना आयो। त्यसले झस्कायो। नेपालमा त केही फरक पर्दैन। तर परदेशमा फरक पर्ने रहेछ। 

धेरै पहिलेको कुरा। सन् १९९७। ओहेर अन्तर्राष्ट्रिय विमानस्थल सिकागोको अध्यागमन क्षेत्र। म नेपालीको हैसियतले हरियो राहदानी (रातो होइन) बोकेर फूर्तिसाथ अघि बढ्दै थिएँ। एक सुरक्षागार्डले रोकेर मेरो राहदानी हेर्न माग्यो। मैले गर्वसाथ खल्तीबाट झिकेर दिएँ। उसले आफ्नो हातमा भएको नेपालको नक्सा अंकित मानचित्र हेर्न थाल्यो। नेपालको नक्सा अंकित क्षेत्रमा रातो घेरा लगाइएको थियो। रातो घेराभित्र पर्ने मुलुकका राहदानीधारी शंकास्पद हुन्छन् र तिनीहरूले गहन चेकजाँच पास गर्नुपर्ने हुँदो रहेछ। उसले मलाई रातो बत्ती बलेको गेटतिर संकेत गर्‍यो। मेरो घमण्ड चकनाचुर भयो। म त्यहाँको रातो बत्तीभन्दा रातो अनुहार पार्दै लुसुलुसु भन्सार जाँच गराउन त्यो गेटभित्र छिरेँ। 

ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले हिजोअस्ति नयाँ प्रतिवेदन सार्वजनिक गर्‍यो। अति भ्रष्टाचार हुने मुलुकको सूचीमा रहँदै आएको नेपालले एक अंक सुधार गरेको समाचार पढेँ। एक अंककोे सुधार हुनु स्वागतयोग्य कुरा हो। तर, धेरै भ्रष्टाचार हुने मुलुकको सूचीमा रहिरहनु हामी नेपाली अति भ्रष्टाचारी नै छौं भन्ने त देखाइरह्यो। यो सूचीबाट हट्ने कुनै उपाय छैन ? मेरो अबुझ दिमागमा एउटा बुद्धि सुझ्यो। त्यो सहज उपाय के भने ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालको प्रतिवेदनलाई नै अमान्य घोषित गर्ने। लामो गनगन नै रहँदैन। होइन भने हाम्रा मन्त्रीहरू विदेशतिर भिक्षापात्र लिई ‘भिक्षां देही’ भनी सहयोगको याचना गर्न जाँदा रित्तो हात फर्कनुपर्ने जोखिम बढ्न सक्छ। ‘तिमीहरूलाई दिएर के गर्ने, यो पैसा तिम्रो देशसम्म पुग्ला नपुग्ला भन्ने प्रश्न उठ्न सक्छ। त्यसमाथि एन्टी मनि लाउन्डरिङको ग्रे एरियाको जोखिम बाँकी नै छ।

अर्थशास्त्रीहरू भन्छन्– ‘वैदेशिक ऋणबिना देश नचल्ने अवस्था छ।’ यस्तै अवस्था रहिरहने हो भने आन्तरिक ऋण पनि नउठ्ने हुन सक्छ। सरकार कमजोर भयो, देश भ्रष्टाचारमा चुर्लुम्मै डुब्यो, प्रशासनिक संयन्त्र बेकम्मा भयो, दैनिक कार्य सञ्चालन नै हुन सकेन, व्यवस्थापनमै कमजोरी भयो भने देश कसरी चल्छ ? देश त चलायमान हुनुपर्छ नभए असफल भइन्छ। देशको असफलतालाई बृहत् रूपमा अथ्र्याउन सकिन्छ। भद्रगोल, अशान्ति, अस्थिरता, लुटपाट, हिंसा, अराजकता जे पनि हुन सक्छ। यसको परिणाम भयावह हुन सक्छ। नेपालको अस्तित्वमाथि नै खतरा उत्पन्न हुन सक्छ। 

आफू नेपाली हुँ भनी गर्व गर्ने मैले नेपालको रक्षा गर्ने जिम्मेवारी पनि वहन गर्नुपर्छ। यो गर्छु त्यो गर्छु भनी धाक लाएर हिँडने अनि देश भड्खालोमा झर्न लाग्दा कता गए म सुरक्षित हुन्छु भनी दाउ हेरी बस्ने। शरणार्थीको फाराम भरी गोजीमा तयारी अवस्थामा राख्ने हो भने म केको नेपाली ? म नालायक, गद्दार, अनि देशद्रोही कहलिन्छु।

सोच्दै थिएँ झल्यास्स होसमा आएँ। परको चिया पसलको रेडियोमा गीत गुञ्जिरहेको थियो। राष्ट्रकवि माधवप्रसाद घिमिरेको रचना, नातिकाजीको संगीत र स्वरमा। 

नेपाली हामी रहुँला कहाँ नेपालै नरहे
उचाइ हाम्रो चुलिन्छ कहाँ हिमालै नरहे।

तराई हाम्रो सुनका टुक्रा हिमाल हीराको
माटो र पानी पहिलो धन धर्तीका छोराको 
ए कहाँबाट संसार हेर्छौ संझ्यालै नरहे।

दसैं र तिहार रमाइलो हाम्रो चुट्का र ख्यालीले
हृदय हाम्रो जुर्मुराउँछ जितको झ्यालीले
बैंसको तालमा नाचौला कहाँ मादलै नरहे।

ए कति राम्रो बिहानी पख घामको रेखी हो
सभ्यता पैलो संसारमा फैलियो हिमालदेखि हो 
ब्युँझाउँला कहाँ पूर्वको पहिलो उज्यालै नरहे।

नेपाली हामी रहुँला कहाँ नेपालै नरहे।। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.