गुन तिर्दै देउवा

गुन तिर्दै देउवा
फाइल तस्बिर
सुन्नुहोस्

काठमाडौं : कांग्रेसको १३औं महाधिवेशनमा शेरबहादुर देउवासँगै सभापतिमा प्रतिस्पर्धा गरेका थिए–कृष्णप्रसाद सिटौला। देउवा, सिटौला र अर्का प्रतिस्पर्धी रामचन्द्र पौडेल कुनैको पनि पहिलो चरणमा ५० प्रतिशत बढी मत आएन। सबैभन्दा कम मत पाएका सिटौला दोस्रो चरणबाट बाहिरिए। पौडेल र देउवाबीच दोस्रो चरणमा प्रतिस्पर्धा भयो। सिटौलाले दोस्रो चरणको निर्वाचनमा देउवालाई सहयोग गरे। देउवाले सभापति जिते पनि।  

१३औं महाधिवेशनपछि सिटौलाले देउवालाई सहयोग गरिरहे। १४औं महाधिवेशनमा पनि सहयोग गरे। देउवा पनि कम छैनन्, उनले हालै सिटौलाको गुन तिरे। पार्टीका युवा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायतका नेताहरूले ‘चुनाव हारेका र पटकपटक अवसर पाएकालाई’ राष्ट्रियसभामा उम्मेदवार नबनाउन देउवामाथि दबाब बढाएका थिए। तर, दबाबसँग देउवा डराएनन्। सिटौलालाई उम्मेदवार बनाइछोडे, उनले चुनाव जिते पनि। जितसँगै सिटौलाको ‘शक्तिमा पुनरोदय’ भएको छ। 

पार्टीको १३औं महाधिवेशनमा प्रतिस्पर्धी बनेका देउवा र पौडेलबीच १४औं महाधिवेशनमा ‘अचम्म’को सहकार्य भयो। देउवा इतरपक्षीय समूहबाट सभापतिको उम्मेदवार बन्न नपाएपछि पौडेल १४औं महाधिवेशनमा उम्मेदवार बनेनन्। भित्रभित्रै देउवालाई सहयोग गरे। देउवा सभापति बने। देउवाले पनि पौडेलको गुन तिरे। कहिल्यै पनि पार्टीको ‘फस्ट म्यान’ बन्न नसकेका पौडेललाई राष्ट्राध्यक्ष बनाए। त्यसबेला पार्टीभित्र राष्ट्रपति बन्न दर्जनौं आकांक्षीलाई ‘बेवास्ता’ गरेर पौडेलले १४औं महाधिवेशनमा लगाएको गुन तिरेका थिए। अप्ठेरो बेला आफूलाई साथ दिनेलाई गुन तिर्न देउवा खप्पिस भएको उनी निकट नेताहरू बताउँछन्। 

राष्ट्रियसभाको निर्वाचनका बेला पनि पटकपटक अवसर पाएका, विगतमा चुनाव हारेका, समानुपातिक उम्मेदवार भएकालाई उम्मेदवार नबनाउन देउवामाथि दबाब बढेको थियो। उम्मेदवार छनोटकै विषयमा सभापति र महामन्त्रीको द्वन्द्व छरपस्ट भयो। उक्त विषयलाई लिएर कांग्रेसका महामन्त्रीद्वयले सामाजिक सञ्जालमार्फत असन्तुष्ट नै पोखे। इतर पक्षले फ्लोर क्रसको धम्की नै दिए।

सत्ता र शक्तिमा पुगेपछि आफूलाई साथ दिएका साथीभाइ बिर्सने बानी देउवामा देखिँदैन। उनी निकट केन्द्रीय सदस्य रामहरि खतिवडा भन्छन्, ‘आफूलाई सहयोग गर्नेलाई विशेष अवसर र मौका हेरेर स्थान दिने बानी सभापतिजीको छ।’ २०५६ सालदेखि सभापति देउवासँग नजिक भएर काम गर्दै आएका कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्मा देउवा वचनको पक्का मान्छे भएको बताउँछन्। उनले भने, ‘कसैलाई वचन दियो भने पूरा गर्नुहुन्छ। त्यो उहाँको स्वभाव हो। आफ्नो प्रयासमा इमान्दार बन्नुहुन्छ,’ विश्वकर्मा भन्छन्।  

राजनीतिमा सबैलाई मिलाएर सँगै लैजानुपर्ने पक्षमा देउवा सधैं रहने गरेको विश्वकर्माले बताए। ‘उहाँले सबैलाई सँगै लिएर सहमति गरेर जाऔं। किन साथीहरूलाई चित्त दुखाएर विद्रोह गर्ने भन्नुहुन्छ, विश्वकर्मा भन्छन्, ‘राष्ट्रपतिमा रामचन्द्र पौडेल र राष्ट्रियसभामा कृष्ण सिटौलालाई ल्याउँदा पनि उहाँले सबैसँग सल्लाह गरेरै नाम सिफारिस गर्नु भएको हो।,’ 

जबकि १४औं महाधिवेशनमा पौडेल देउवासँग प्रतिस्पर्धा गर्न चाहन्थे। इतर समूहका नेताहरू डा. शेखर कोइराला, गगन थापालगायतका नेताले नमानेपछि पौडलले मौन समर्थन देउवा जिताउनलाई देखाए। सभापतिमा देउवा, कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङबीच प्रतिस्पर्धा भयो। तर कसैको पनि बहुमत आएन। दोस्रो चरणमा निधि र गुरुङले देउवालाई समर्थन गरेपछि उनी लगातार दोस्रोपटक सभापति बन्न पुगे। 

देउवालाई प्रजातान्त्रिक कांग्रेस हुँदादेखि नै सहयोग गर्दै आएका निधिलाई भने कता राखेर गुन तिर्छन् त्यो भने बाँकी नै छ। विश्वकर्मा भन्छन्, ‘निधिजीसँग बेलाबखत सरसल्लाहका लागि भेट भइराख्छ। उहाँहरूमा दुरी कत्ति पनि छैन।’ पौडेल र सिटौलामात्रै नभई बीपी पुत्र डा. शशांक कोइराला पनि देउवालाई सहयोग गर्ने नेतामा पर्छन्। उनले १३औं महाधिवेशनदेखि नै सहयोग गर्दै आएका छन्। १४औं महाधिवेशनमा आफ्नै दाजु शेखर सभापतिमा उठ्दा पनि मौन प्रायः भएरै शशांकले देउवालाई सहयोग गरेका थिए। 

नेता प्रकाशमान सिंह कांग्रेस फुट्दा देउवासँगै थिए। केही समय कोइराला पक्षमा गए पनि १४औं महाधिवेशनका बेला दोस्रो चरणमा देउवातिरै खुले। सोही गुनस्वरूप स्थानीय तहको निर्वाचनमा सिंह पत्नी सिर्जना सिंहलाई काठमाडौंको मेयरको टिकट दिए। सिंहलाई के दिएर गुन लगाउँछन् त्यो भने हेर्न बाँकी नै छ। शशांकलाई भने उनले १५औं महाधिवेशनमा पार्टी सभापतिमा अगाडि सार्ने मनस्थिति बनाएको देउवा निकट नेताहरू बताउँछन्। ‘सभापतिजीले सरकारमा नयाँ मन्त्री पठाउँदा प्रकाशमान सिंहलाई पठाउने तयारीमा हुनुहुन्छ,’ देउवा निकट एक नेताले भने, ‘शशांकजी सभापतिमा अगाडि बढ्नुभयो भने उहाँलाई सभापति बनाउन तयार जस्तै देखिनुहुन्छ।’


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.