राष्ट्रियसभाको उम्मेदवार बनेपछि पहिचानको मुद्दामा नरम बने सिटौला
फिदिम : नेपाली कांग्रेसका नेता तथा लोकतान्त्रिक वाम गठबन्धनको तर्फबाट राष्ट्रिय सभा सदस्यको उम्मेदवार बनेका कृष्णप्रसाद सिटौलाले पहिचानको मुद्दालाई वार्ताद्वारा समाधान गर्नुपर्ने बताएका छन्। पूर्व गृहमन्त्रीसमेत रहेका सिटौलाले ‘कोशी’ नामको विषयमा देखिएको विवादलाई वार्ताद्वारा समाधान गर्नुपर्ने बताए।
‘त्यत्रो द्वन्द्वलाई त समाधान गर्यौं। पहिचानको मुद्दालाई पनि वार्ताद्वारा समाधान गर्न सकिन्छ,' सिटौलाले भने ‘यस्ता द्वन्द्वहरू समाधान गर्नकै लागि राष्ट्रियसभामा मैले उम्मेदवारी दिएको हो।’ प्रदेशको नाममा देखिएको विवादलाई सम्बादको माध्यमबाट हल गर्नुपर्ने उनको तर्क छ।
‘ठूलो बलिदान र क्रान्तिपछिको उपलब्धिलाई रक्षा गर्न अहिलेको गठबन्धन बनेको हो,’ उनले भने, ‘संसद विघटनपछि उपलपब्धि खतरामा पर्ने देखेर कांग्रेस र माओवादी एक ठाँउमा उभिएका हुन्।’
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि संघीयता र संविधान नै भत्किने खतरा देखेर कांग्रेस र माओवादी एक ठाँउमा उभिएको सिटौलाले तर्क गरे। राष्ट्रिय सभामा उम्मेदवारी दर्ता गरेपछि सिटौला भोट माग्दै पाँचथर आइपुगेका हुन्।
उनको टोलीमा गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी केन्द्रीय सदस्य चम्पादेवी कार्की लगायतका नेताहरू सहभागी छन्।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)