दिलिप हत्याको चार वर्ष पूरा, पर्यावरण सहिद घोषणाको माग बेवास्ता

दिलिप हत्याको चार वर्ष पूरा, पर्यावरण सहिद घोषणाको माग बेवास्ता
दिलिपलाई हत्या गरिएको क्रसर देखाउँदै दिलिपकी बहिनीहरु संगम र लक्ष्मी।
सुन्नुहोस्

ढल्केवर : ४ वर्ष अघिको पौष २५ लाई सम्झिंदा अहिले पनि धेरैको जिउ सिरिङ्ग हुन्छ। पर्यावरण जोगाउन निरन्तर चिच्याइरहेका युवालाई खोलामै वध गरिएको त्यो कालो दिन बिर्सने सायदै कोही होलान्। पर्यावरण अभियन्ता ओमप्रकाश (दिलिप) महतो हत्याको आज ठ्याक्कै चार वर्ष पुगेको छ।

२५ पुस २०७६ को झिसमिसे बिहानीमा धनुषाको मिथिला नगरपालिका–५ श्रीपुरका दिलीपलाई क्रसर डनले क्रुर हत्या गरेका थिए। क्रसर गुण्डाले दिलिपलाई कोखमा‘लिभर’प्रहार गरी सख्त घाइते बनाएर टिपरले किचेर हत्या गरेका थिए। चुरे दोहन रोक्नुपर्ने, अबैध उत्खनन् र क्रसर उद्योग बन्द गर्नुपर्ने उनको चोटिलो आवाज खोला तस्करको तारोमा परेर दिलिपको हत्या गरिएको थियो। सोही दिनको स्मरणमा आज दिलीपको चौथो स्मृति दिवस मनाइँदै छ।

जिल्लामा चित्त नबुझ्दा उच्चमा मुद्दा

दिलिप हत्या मुद्दामा धनुषा जिल्ला अदालतले तीनजनालाई दोषी ठहर गरिसकेको छ। जिल्ला अदालतले गत फागुन १२ गते मुख्य योजनाकार चुरियाई बालुवा प्रशोधन उद्योगका सञ्चालक विपीन महतो र कामदार मुनिन्द्र महतोलाई २५–२५ वर्ष कैद र ५–५ लाख क्षतिपूर्ति तिर्न फैसला सुनाइएको थियो। न्यायाधीश चित्रबहादुर गुरूङको इजलासले उक्त फैसला सुनाएको हो।
त्यस्तै, हत्याका मतियार ठहर भएको जितेन्द्र महतोलाई साढे १२ वर्ष कैद र २ लाख ५० हजार रुपैयाँ क्षतिपूर्ति तिर्न फैसला सुनाइएको थियो। 

त्यही मुद्दामा क्रसर सञ्चालक विपीनका दाइ विनोद महतो, कामदारहरू सत्यनारायण महतो, शत्रुघन महतो र रोशनकुमार यादवलाई अदालतले भने सफाइ दियो। यसमा पिडित परिवारको चित्त बुझेन। उनीहरुले उच्च अदालतमा पुनरावेदन गरेका छन्। ‘प्रहरीकै प्रतिवेदनले सातैजना दोषी देखिएका थिए। जिल्ला अदालतले तीनजनालाई मात्रै दोषी ठहर गर्‍यो। त्यसमा पनि उनीहरुलाई आजीवन कैद हुनुपर्नेमा जन्मकैद मात्रै गर्‍यो,’ दिलिपका बुवा रामजीवन भन्छन्, ‘यसमा पुनर्विचार होस् भनेर हामी उच्च आदलत पुगेका हौं। दोषी जति सबै जेलमा कोचिनु पर्छ। जन्मकैद हैन आजीवन कैदको सजाय दिइनुपर्छ।’

उनले चौथो स्मृति दिवसकै दिन अर्थात आज पहिलो पेशी तोकिएको बताए। ‘उच्च अदालतमा बुधबार पहिलो पेशी तोकिएको छ। उच्चबाट पूर्ण रुपले न्याय पाउनेमा विश्वस्त छौं,’ रामजीवनले भने। दिलिपलाई सहिद घोषणाको गुहार सरकारले नसुनेको उनले दुखेसो पोखे।

कमाउने बेला मारिदा कर्जामा हुर्कंदै दिलिपका परिवार

बुढेसकालमा बलियो सहारा हुन्छ भन्ने आशमा छोरा दिलीपलाई रामजीवनले इन्जिनियर पढाइरहेका थिए। ‘सहारा हुन्छ सोचेको थिएँ, ऋण गरेरै भए पनि छोरालाई इन्जिनियर बनाएर पैसा कमाउन जापान पठाउने चाहना थियो’, दिलीपलाई सम्झिँदै रामजीवन भन्छन्, ‘सोचेको सपना त तुहियो–तुहियो, छोरोलाई पापीहरूले खोसेर बुढेसकालमा मलाई बेसहारा बनाइदियो। अहिले हाम्रो पूरा परिवार नै बेसाहारा भइसकेको छ।’ हत्या हुनुभन्दा केही दिन अघिमात्र दिलीप भारतको भोपालबाट मेकानिकल इन्जिनियरिङको परीक्षा सकाएर गाउँ आएका थिए।

यसरी भएको थियो दिलीपको हत्या

धनुषाको श्रीपुर गाउँमा औरही खोला छ। सो खोलाबाट क्रसरवालाले अवैध रूपमा नदी जन्य सामग्री झिक्दै आएका थिए। ठूला खाल्टो बनाएर खनिएको खोलामा वर्षायाममा बाढी आउँदा धार परिवर्तन गरी किसानको उब्जाउ जमिन कटान गर्ने गर्थ्यो। त्यस अघिदेखि नै दिलीपले किसानको जमिन बचाउन नदी दोहोनविरुद्ध आवाज उठाउँदै आएका थिए।

एकाबिहानै घरनजिकैको खोलामा स्काभेटर प्रयोग गरेर खोला खनिँदै थियो। टिपरमा राखेर बालुवा गिट्टी क्रसरमा दुवानी भइरहेको थियो। क्रसर डनका नामले चिनिने विपिन महतोले खोला खनेर नजिकैको चुरियामाई बालुवा प्रशोधन उद्योगमा लगिरहेका थिए। स्काभेटर र टिपरको आवाज सुनेर साथी रोशन यादवसँगै दिलीप पनि खोला उत्खनन रोक्न गएका थिए। त्यसै समय दिलीपलाई विपिनले मुक्का हाने। दिलीपसँग विपिनको भनाभन् भएपछि टिपरबाट लिभर निकालेर उनको कोखमा घोचेर घाइते बनाए। पछि हातखुट्टा समातेर ना.७ ख ६४१३ नम्बरको लोड टिपर ब्याक गरेर दिलीपको निर्मम हत्या गरिएको थियो।

सहिद घोषणाको मागलाई बेवास्ता

चार वर्षअघि पर्यावरणकै लागि बोलिरहँदा खोलामै मारिएका थिए दिलिप। त्यतिबेला घटनाको विरोधमा तराई–मधेसदेखि संघीय राजधानीसम्म आन्दोलन चर्कियो। दोषीलाई कारबाही र दिलीपलाई प्रथम पर्यावरण सहिद घोषणाको माग गर्दै देशव्यापी प्रदर्शनहरू भए। दिलीपको घरमा समवेदना व्यक्त गर्न सांसद्‍देखि मन्त्रीसम्मको लाइन लाग्यो। सबैले न्याय दिलाउने वाचा गरे। 

कांग्रेस नेता शशांक कोइरालासम्मले पर्यावरण सहिद घोषणा गराउन संसद्मा पहल गर्ने प्रतिबद्धता जनाएका थिए। दिलीपलाई प्रथम पर्यावरण सहिद घोषणा गर्नुपर्ने माग अझै जनस्तरबाट उठिरहेको छ। तर, उक्त मागलाई तीनै तहको सरकारले बेवास्ता गरेको दिलीपकी बहिनी संगमको गुनासो छ। पर्यावरणलाई सरकारले नजरअन्दाज गरेको उनले आरोप लगाइन्। 

‘सरकारले पर्यावरण नबुझेको हो कि जस्तो लाग्छ,’ उनले भनिन् ‘दिलिप महतोलाई पर्यावरण सहिद घोषणा गराएर पर्यावरणको मुद्दा स्थापित गराउँछौं।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.