लुम्बिनीमा गठबन्धनबाट सापकोटा र सुवेदीको उम्मेदवारी
दाङ : राष्ट्रियसभा सदस्यका लागि लुम्बिनी प्रदेशमा सत्ता गठबन्धनबाट बिष्णुकुमारी सापकोटा र झक्कुप्रसाद सुवेदीले उम्मेदवारी दर्ता गराएका छन्।
सत्ता गठबन्धनमा आबद्ध नेपाली कांग्रेस, नेकपा माओवादीलगायतका दलका नेता तथा कार्यकर्तासहित घोराही उपमहानगरपालिका-१५ स्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर सत्ता गठबन्धनबाट कांग्रेसकी नेता सापकोटा र नेकपा माओवादीका सुवेदीले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेले जानकारी दिए।
गुल्मी जिल्ला निवासी सापकोटाले महिला कोटा र रोल्पा जिल्ला निवासी सुवेदीले अन्यबाट उम्मेदवारी दर्ता गराएका हुन। सापकोटाको प्रस्तावकमा बबई गाउँपालिका अध्यक्ष कुलबहादुर खत्री र समर्थकमा दंगीशरण गाउँपालिका शम्भु गिरी रहेका छन्।
सुवेदीको प्रस्तावकमा लुम्बिनी प्रदेशसभा सदस्य मिना बुढामगर र समर्थकमा प्रदेशसभा सदस्य दिलकुमारी बुढामगर रहेका छन्। राष्ट्रियसभा सदस्यका लागि लुम्बिनी प्रदेशमा दुई सिटका लागि निर्वाचन हुन थालेको छ।