बुकी कपको उपाधि आर्मीलाई
![बुकी कपको उपाधि आर्मीलाई](https://annapurnapost.prixacdn.net/media/albums/Untitled-1_7FhITljaIg_mtqeQx6zdt.jpg)
बागलुङ : बुकी कप भलिबलको च्याम्पियन त्रिभुवन आर्मी क्लब बनेको छ। बागलुङको गलकोट नगरपालिकामा भएको प्रथम बुकी कपको फाइनल खेलमा विभागीय टिम नेपाल पुलिस क्लबमाथि रोमाञ्चक जित निकाल्दै आर्मीले उपाधि चुमेको हो।
सोमबार भएको फाइनल खेलमा आर्मीले पुलिसलाई ३-२ को प्रतिस्पर्धात्मक सेटमा पराजित गरेको हो। पहिलो सेटमा आर्मीले २७-२५ को रोमाञ्चक र प्रतिस्पर्धात्मक जित निकाल्न सफल भयो। त्यसपछि आर्मीले दुवै सेट २२-२५ र २१-२५ ले गुमाउन पुगेको थियो। चौथो सेटमा आर्मीले उत्कृष्ट प्रदर्शन गर्दै २७-२५ को पुनरागमन जित निकाल्दै खेललाई पाँचौ सेटमा लम्ब्याए।
आर्मी २२-२४ ले पछि रहेपनि त्यसपछि लगातार दुई अंक जोड्दै खेललाई २४-२४ को बराबरीमा ल्याउन सफल भएको थियो। त्यसपछि एक अंक जोड्दै पुलिस च्याम्पियन नजिक पुगे पनि आर्मीले लगातार तीन अंक जोड्दै खेल आफ्नो पक्षमा पार्यो।
पुलिसले पाँचौ सेटमा भने फितलो प्रदर्शन गर्यो। पाँचौं सेटमा ४-४ को बराबरीबाट लगातार ४ अंक जोड्दै आर्मीले ८-४ को अग्रता लिदै जिततर्फ अग्रसर बन्यो। १५-७ ले आर्मी च्याम्पियन बन्न सफल भयो। यससँगै आर्मीले लिग चरणमा भोगेको हारको बदला लिन सफल भएको छ।
बागलुङको गल्कोट नगरपालिका-६ मजुवाफाँटमा भएको प्रतियोगितामा गण्डकी प्रदेशलाई हराउँदै एपिएफ क्लब तेस्रो भएको छ। उपाधिसँगै आर्मीले ५ लाख, पुलिसले २ लाख ५० हजार र एपिएफले १ लाख २५ हजार रुपैयाँ प्राप्त गरेका छन्।
हिमालयन म्युजिकल इभेन्ट म्यानेजमेन्ट एण्ड इभेन्ट्स प्रालिको आयोजनामा पुस ८ गते सुरु भएको प्रतियोगितामा तीन विभागसँगै गण्डकी प्रदेश र गल्कोट नगरपालिकाले सहभागिता जनाएको थियो।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)