यो पनि स्कुलै हो

यो पनि स्कुलै हो
सुर्नया गाउँपालिका –२ बैतडीमा रहेको पत्ताल भूमेश्वर आधारभूत विद्यालय र विद्यार्थी।

बैतडी : काठ र जस्तापाता प्रयोग गरी निर्माण गरिएको सानो टहरा । टहरामा तीन कोठा, त्यो पनि साँघुरा । यसै कोठामा कोचिएका छन् १ देखि ५ कक्षा सम्मका विद्यार्थी । यो हो सुर्नया गाउँपालिका—२ बैतडीमा रहेको पत्ताल भूमेश्वर आधारभूत विद्यालय ।

कक्षा सञ्चालन भइरहेकै कोठामा कार्यालय पनि राखिएको छ । अनि, कार्यालयमा फर्निचरको नाममा एक टेबलबाहेक केही छैन । ‘विद्यालयको भौतिक सम्पत्ति भनेको यही टहरा नै हो, एउटै कोठामा सबै कक्षाका विद्यार्थीलाई राखेका छौं’, विद्यालयका प्रधानाध्यापक दीपा विष्ट भन्छिन्, ‘कार्यालय पनि कक्षा कोठामै छ, पठनपाठनमा निकै समस्या छ ।’ 

null

हिउँदको समयमा विद्यार्थीलाई पठनपाठन गराउन निकै समस्या हुने गरेको शिक्षिका लक्ष्मी विष्टले बताइन् । ‘घाम लागेको समयमा त बाहिर बसाउँछौं, नत्र सबै विद्यार्थी एकै कोठामा राख्नुपर्छ, कोठामा बस्ने ठाउँ हँुदैन,’ विष्टले भनिन् । चिसो मौसम पनि सुरु भएकाले विद्यार्थीको पढाइ प्रभावित हुने गरेको उनले बताइन् । विद्यालयमा पर्याप्त शैक्षिक सामग्री र कक्षा कोठा व्यवस्थापन नहुँदा समस्या हुने गरेको छ ।

गाउँमा नजिक विद्यालय नभएपछि २०७२ सालमा स्थानीयको श्रमदानबाट निर्माण गरिएको अस्थायी टहरामै हालसम्म कक्षा ५ सम्मको पढाइ हुने गरेको छ । २०७५ सालमा पालिकाबाट विद्यालयले स्वीकृति पाएको थियो । उक्त विद्यालयमा करिब ८६ जना बालबालिका अध्ययन गरिरहेको विद्यालयले जनाएको छ । 

कक्षा अनुपातमा भौतिक संरचनामात्रै होइन शिक्षक पनि अभाव छ । राहत तथा स्थायी वा संघीय अनुदानको शिक्षक नै छैनन् । हाल दुई जना गाउँपालिका शिक्षकको रूपमा कार्यरत छन् भने दुई जना शिक्षकलाई निजी विद्यालयले नै निजी स्रोतबाट तलब खुवाउने भन्दै नियुक्ति दिएको छ । तर, निजी स्रोतका शिक्षकहरूलाई नियमित पारिश्रमिक दिन नसकिएको विद्यालय व्यवस्थापन समितिले जनाएको छ । स्थापनाकालदेखि हालसम्म भौतिक संरचनाको लागि माग भए पनि कुनै पहल नभएको प्रधानाध्यापक विष्टले बताइन् । null

श्रमदानमा विद्यालयको टहरा निर्माण गरिएको भए पनि थप संरचना निर्माण गर्न नसकिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर विष्टले बताए । ‘२०७५ सालमा सुर्नया गाउँपालिकाबाट फिल्ड निर्माणको लागि बजेट पाएका थियौं, त्यसयता केही बजेट आएन,’ अध्यक्ष विष्टले भने । विद्यालयको भवन निर्माणको लागि बेलाबेला माग गरिएको भए पनि कुनै सुनुवाइ नभएको उनको गुनासो छ । ‘दुई पटक राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि निवेदन पेस गर्‍यौँ, गाउँपालिकासँग पनि नियमित माग गर्दै आएका छौं’, उनले भने । 

किमगैर, घर्कटे, ग्वानी, गाडाइजर, सुन्धारन, थालापानी, कुर्कुट्यालगायतका टोलबाट बालबालिका अध्ययन गर्न उक्त विद्यालयमा आउने गरेका छन् । साँघुरा कक्षा कोठामा दुई वा दुईभन्दा बढी कक्षाका विद्यार्थीलाई एकै कोठामा बस्नुपर्दा असहज हुने गरेको छ । ‘विद्यालयमा डेस्क बेन्च नै पर्याप्त छैनन्, साँघुरा कोठामा बस्नुपर्छ, विद्यालयमा शिक्षकसमेत छैनन्,’ कक्षा ५ मा अध्ययनरत मनोज मानमती महरले भनिन् । 

चिसोको मौसममा बालबालिकाहरूको पढाइ प्रभावित हुने गरेको छ । घाम लागेको समयमा बाहिर बसाउने गरेको भए पनि पानी पर्दा निकै असहज हुने गरेको शिक्षिका पार्वती विष्टले बताइन् ।

null

वडास्तरीय शिक्षा समितिका अध्यक्षसमेत रहेका वडा नं २ का अध्यक्ष गणेशबहादुर विष्टले विद्यालयको समस्या समाधानका लागि आफू सकारात्मक रहेको बताए । भौतिक संरचना र शिक्षक अभाव रहेको विद्यालयमा वडाबाट आवश्यक पहल चालिने अध्यक्ष विष्टले बताए । उक्त विद्यालयमा आवश्यक रहेको भवन निर्माणको लागि प्रदेश सरकार समक्ष सिफारिससहित अनुरोध गरिएको गाउँपालिका अध्यक्ष अमरबहादुर कुँवरले जानकारी दिए ।

‘योजना छनोटका क्रममा प्रदेश सरकारसमक्ष भवन निर्माणको माग गरिएको छ, पालिकामा अहिले बजेट छैन, आवश्यक शिक्षक दरबन्दीको विषयमा गाउँपालिकाबाट आवश्यक पहल गर्छाैं,’ अध्यक्ष कुँवरले भने । गाउँपालिकाका विद्यालयहरूमा समस्या सबै ठाउँमा रहेको बताउँदै विस्तार र सुधारको पहल भइरहेको अध्यक्ष कुँवरले बताए । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.