कहाँ छन् १० चर्चित संगीतकार ?
![कहाँ छन् १० चर्चित संगीतकार ?](https://annapurnapost.prixacdn.net/media/albums/sangitkar_TjDr9JVFwS_6qh8gcsTGE.jpg)
भनिन्छ, ‘धुनले हृदयलाई छुन्छ।’ जब बाजाका तारमा संगीतकारका औंला नाच्न थाल्छन्, त्यहाँबाट निस्कने धुनले गीतका शब्दलाई जीवन दिन्छ। सुमधुर आवाज, संगीतको ताल र शब्दले श्रोता र दर्शकको मन जित्छ। आधुनिक युगमा वैज्ञानिक नै भन्छन्, ‘संगीतले उपचार पनि गर्छ।’ तर, सबैतिर गायकगायिकाकै ‘डिमान्ड’ हुन्छ। उनीहरू नै ‘वर्ड टुर’मा निस्कन्छन् र हाईहाई बटुल्छन्। रचनाकार र संगीतकारको नाम त छिटफुटमात्र सुनिन्छ। तर गीत बनाउन महत्तवपूर्ण भूमिका खेल्ने गीतकार र संगीतकारको नाम भने गुमनाम हुन्छ। पेसामा लागेकै समय पनि गुमनाम हुने केही संगीतकार पछिल्लो समय कामबाटै गुमनाम भएका त होइनन् ? धेरैको प्रश्न छ। आजको अंकमा अन्नपूर्णकर्मी रविन भट्टराईले १० चर्चित संगीतकारको ठेगान खोजेका छन्।
शान्तिको संगीत खोज्दै सीके
स्वरसम्राट् नारायणगोपाल गुरुवाचार्यले गाएको गीत रेडियो नेपालमा बज्दा उद्घोषकले त्यसमा सँगै जोडेर धेरै लिने संगीतकारको नाम हो चन्द्रकुमार (सीके) रसाइली। सांगीतिक जीवनका उतारचढाव धेरै भोगेका रसाइली हाल बालकुमारी, ललितपुरमा बस्छन्। संगीतमा पु¥याएको योगदानमार्फत पाएको लाइफटाइम अचिभमेन्ट अवार्ड, अरू विभिन्न सांगीतिक अवार्ड तथा पुरस्कारले ढपक्क ढाकेको उनको बैठक कोठामा पुग्नेलाई जीवनका उकाली ओराली सुनाउँछन्। अहिले उनको दैनिकी यसरी नै बितिरहेको छ।
धेरैलाई रसाइलीको जन्म पाकिस्तानमा भएको भन्ने थाहा नहुन सक्छ। तर, उनी पाकिस्तानको बलुचिस्तानको राजधानी क्वेटामा १९९८ फागुन १८ गते जन्मिएका हुन्। कारण उनका बुवा ब्रिटिस आर्मीमा थिए। दोस्रो विश्वयुद्धको समयमा पाकिस्तानमा खटिएको समयमा उनको जन्म त्यहीँ भयो। उनको बाल्यकालको केही समयमात्रै पाकिस्तानमा बित्यो। सात दाजुभाइमध्ये ६ जना कुनै न कुनै रूपले सेनामा जोडिए। तर, उनी संगीतमा तरंगित बने। त्यसै क्रममा उनको परिवार मलाया (मलेसिया) स¥यो। बाल्यकालको अधिकांश समय मलायामै बिताए। ६ कक्षासम्म उतै पढे। उनी सानै उमेरदेखि माउथ अग्र्यान (मुखेबाजा) बजाउँथे। विद्यालयका सांगीतिक कार्यक्रममा गाउने र बजाउने गर्थे रे। उनको संगीत पहिलोपटक ब्रिटिस फोर्सेस ब्रोडकास्टिङ सर्भिसेस सिंगापुरबाट प्रसारण भएको थियो।
भारतको पूर्वाेत्तर राज्य मेघालयको सिलोङबाट मेट्रिक पास गरेका उनले गाउँकै क्लबबाट अर्केस्ट्रा बजाउन गाले। गायनबाटै आफ्नो सांगीतिक जीवन सुरु गरेका रसाइलीले पछि आफूलाई संगीतमा केन्द्रित गरे। २०२० सालमा सीके रसाइलीसहितको सांगीतिक टोली नेपाल आएको थियो। राजा महेन्द्रको जन्मोत्सव पारेर सिलोङबाट नेपाली संगीत कला समितिको टोली नेपाल आएको थियो। राष्ट्रिय नाचघरमा भएको सांस्कृतिक कार्यक्रममा रसाइलीको समूहले प्रस्तुति दिएको थियो। रसाइलीहरूको प्रस्तुतिलाई राजा महेन्द्रले मन पराएछन्। त्यसपछि राजा महेन्द्रको जन्मोत्सवमा लगातार रसाइलीको समूहलाई निमन्त्रणा गरियो। म.वी.वी. शाहद्वारा रचित शब्दलाई रसाइलीले संगीतबद्ध गरेका थिए।
बुढ्यौलीले गर्दा पुराना दिन सम्झन कठिन छ उनलाई तर थाहा छ, २०१९ सालदेखि रेडियो नेपालमा काम गरेको। हजारौं गीतमा संगीत भरेका रसाइलीले नेपाली सेनाको संगीत विभागमा म्युजिक डाइरेक्टरको रूपमा पनि काम गरे। बुढ्यौली लागे पनि सीके रसाइलीका औंलाहरू अहिले पनि मेन्डोलिन र हार्मोनियममा नाचिरहन्छन्। चार दशकदेखि नेपाली सुगम संगीतको उत्थानमा लागेका उनी अहिले पनि संगीतमा के नयाँ दिन सकिन्छ भनेर सोचिरहेका छन्।
नौलोपनको अध्ययनमा प्रकाश
नेपाली सांगीतिक क्षेत्रमा दशकौंदेखि अनगिन्ती सिर्जनामार्फत अविच्छिन्न समर्पित साधक हुन्, संगीतकार प्रकाश गुरुङ। पाँच दशकदेखि नेपाली सांगीतिक क्षेत्रमा लागेका उनको सक्रियता आज पनि कायमै छ। तर, पहिलेको गतिमा छैन। उनी अहिले पनि यो क्षेत्रमा नयाँ प्रयोगको खोजीमा नै रहेको बताउँछन्। उनको यही समर्पण र क्षमता सांगीतिक अनुरागीसँगको सुमधुर सम्बन्ध स्थापित गर्ने मजबुत कडी सावित भएको छ।
२००८ पुस १ गते हरिमान र डोमिनीको कोखबाट भारत दार्जिलिङमा प्रकाश गुरुङको जन्म भएको हो। बुवा शास्त्रीय संगीतका ज्ञाता भएकाले घरमा सांगीतिक माहोल थियो। बुवाको सांगीतिक दीक्षाले उनमा संगीतको ज्ञान र प्रभाव झाँगिँदै गयो। स्कुल जीवनमै प्रकाश गुरुङ गीतसंगीतमा सक्रिय भइसकेका थिए। अलिअलि गाउँथे पनि। तर, वाद्ययन्त्रहरूसँग बढी रमाउँथे। कम्पोजिसनको आकर्षण बेसी थियो। २० वर्षको उमेरमा खस्र्याङमा रहेको अल इन्डिया रेडियोमा आफ्नै स्वरमा गीत रेकर्ड गराएका प्रकाशले संगीतकारका रूपमा भने २०३० सालमा रेडियो नेपालमा मीरा राणाको स्वरमा पहिलो गीत रेकर्ड गराएका थिए।
त्यसयता विभिन्न कलाकारको स्वरमा उनले स्तरीय र लोकप्रिय संगीत भर्दै गए। २०२९ सालमा नेपाल आएपछि भने प्रकाश गुरुङको कर्मथलो यतै बन्यो। नेपाली मौलिकता तर प्रस्तुतिमा पश्चिमी शैलीको उनको नौलो प्रयोगले २०३५ सालतिर संगीतबजारमा तहल्का मच्चियो। आधुनिक गीतका सफल संगीतकार प्रकाश गुरुङले करिब २० ओटा भिडियो र आधा दर्जन जति ठूलो पर्दाका फिल्ममा सुमधुर संगीत भर्न सफल भए। उनको ती सबै क्षेत्रमा मौलिकता र नेपालीपन भेटिन्छ। उनले आफ्नो गायकी एल्बम ‘प्रियसीलाई’मार्फत पनि यी कुरा प्रमाणित गरेका छन्।
२८ वर्षदेखि सांगीतिक गुरुको भूमिकालाई उनले इमान्दारिताका साथ आज पनि निभाइरहेका छन्। विभिन्न मुलुकको भ्रमण गरेर नेपाली गीतसंगीतलाई अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार गर्न उनले उल्लेखनीय भूमिका निभाएका छन्। संगीतको सुरसँगको निकटता अनि निष्ठा अझै कायम होस्।
जीवन र ज्ञानको मिश्रणमा पारस
नेपाली गीतसंगीत बुझ्नेले भन्छन्, ‘मुकारुङ परिवार र नेपाली गीत, संगीतको क्षेत्र एक अर्काका परिपूरक हुन्।’ त्यही परिवारमा संगीतको हस्ती हुन् पारस मुकारुङ। झन्डै तीन दशकदेखि संगीत सिर्जनामा सक्रिय नेपालको पूर्वी जिल्ला भोजपुरका बासिन्दा उनका थुप्रै सिर्जना श्रोताका रुचिका बने। जसमाः आधा उमेर निद्रैमा बित्यो, खोटाङ हलेसी, अँधेरीमा जुन फुल्दा आदि छन्।
भोजपुरको दिलपा गाउँबाट पारस राजधानी काठमाडौं छिरेको १६ वर्षभन्दा बढी भएको छ। लाहुर जाने खलकमा जन्मेहुर्के पनि गल्लावालबाट तर्केर गीतसंगीतका जिज्ञासु बन्दै राजधानी आएपछि उनले यो क्षेत्रमा तहल्कै मच्चाए। उनले झन्डै एक दर्जन सीडी÷क्यासेटका गीतमा संगीत भरे। अहिले पनि संगीतको अध्ययन र संकलनमै छन् उनी।
रत्नराज्य क्याम्पसमा संगीतका विद्यार्थी रहेपछि मोहनराज जोशी र गोपालनाथ योगीबाट बाँसुरीवादनमा कक्षा लिएका पारसले संगीत सिर्जनाको काम र अवसरबाट कहिल्यै पछाडि हट्नु परेन। तर उनी ‘रकपप’को दाँजोमा सधैं ‘सुगम संगीत’ भन्दै आफ्नै सर्कलमा मात्रै व्यस्त बनिरहे। गायिका श्रीमती झुमा लिम्बू, गायक भाइ भीषण मुकारुङसहितका आफन्तजनको घेरामा पारसले चाहे जति नाम त बनाएका छन्, तर संगीत सिर्जनाको बाटो जीवनयापनको सजिलो बाटो भने अझै बन्न सकेको छैन।
पूर्वी नेपालको सांगीतिक स्वादका कम्पोजिसन रुचाउने उनी अहिले पनि गीतसंगीतमा देखिएको नयाँपनको अध्ययनमा नै लागेको बताउँछन्। शब्दसंगीत र स्वरमा जति राम्रो पकड र प्रभाव भए पनि गतिलो ‘भिजुअल’ नभई र मिडियामा पहँुच नभई बजार पाउन नसकिने कटु यथार्थ पनि उनले बेहोरेका छन्। अब यस्तै परिस्थितिमा जुध्ने तयारीमा उनी देखिन्छन्।
कवितावाचनमा रमाएका आभाष
‘धुन आफैंमा कोमल हुन्छ। कोमल धुनले नै हृदयलाई छुने गर्छ’, यस्तो मीठो शब्दले संगीत जोड्ने संगीतकार हुन् आभास। सानैदेखि सांगीतिक मोहमा रुमलिए उनी। संगीतको हावाले छोएपछि उनी वाम आन्दोलनतिर लागेका थिए रे। त्यहींबाट उनको हृदयमा रहेको संगीत विस्तारै मौलाएको भन्छन् उनी। सानै उमेरमा रामेश र मञ्जुलहरूको संगत गर्न पाएका उनी वाम आन्दोलनका अगुवाहरूको संगतले अम्बर गुरुङसम्म पुगेका थिए। अनि, भए राष्ट्रिय गीतका संगीतकार अम्बर गुरुङका शिष्य।
२०४३ सालतिर आभासलाई रामेशले पहिलोपटक अम्बर गुरुङसँग भेट्टाइदिए। सुरुमा गुरुङ उनलाई सिकाउन अन्कनाएछन्। पछि गुरुङबाटै हारमोनियमका भन्दा हृदयका तारहरू चलाउन सिके। अहिलेका गीतसंगीतमा प्रयोग हुने बाजाहरू नयाँ छन्। तिनबाट नयाँ रसहरू भित्रिरहेका छन्।
लय भने पुरानै मेलोडीमा कम्पोजिसन भइरहेको छ। उनी यसकै अध्ययनमा अहिले पनि लागिरहेका छन्।
१५ वर्षको उमेरमै निकालेको धुनबाट बामे सरेका थिए आभास। आभासले फत्तेमानसँग पनि काम गर्ने मौका पाए। र, फत्तेमानको जिन्दगीमा जम्मा एउटा एल्बम निकालियो, जसका सबै गीत आभासले नै ‘कम्पोज’ गरे। हँसिला देखिने आभास खासमा गम्भीर छन् संगीतमा। र, संगीतलाई माया गरिरहन्छन्। उनले सैंयौ गीतमा संगीत गरिसकेका छन्। साहित्यको विद्यार्थी उनी अहिले पनि कविता कोर्छन्। कवितावाचन र श्रवणदेखि पुस्तक विमोचनसम्म उनको उपस्थिति पाइन्छ। कविता रुचाउने भएकाले एक पब्लिकेसनसँग नजिक छन्। नेपालयले आफूलाई चाहिएका साहित्य बुझ्ने संगीतकार भेट्यो, आभासलाई। अचेल उनी नेपालयका बैठकहरूमा धुन र कविताका कुरा गरिरहेका भेटिन्छन्।
अनुभव साट्नै व्यस्त शान्ति
सिनेमा र संगीतको कुरा गर्दा नेपाली सिनेमामा संगीत गर्ने प्रथम महिला संगीतकारको नाम आउँछ शान्ति ठटाल। दार्जिलिङबाट बनेको चलचित्र ‘परालको आगो’ मा संगीतकारको रूपमा काम गरेकी हुन् उनले। यो नेपाली चलचित्रको निम्ति गौरवको विषय थियो। भारतमा ३ या ४ जनाभन्दा बढी महिला संगीतकार नभएको अवस्थामा र भारतीय चलचित्रमै एक किसिमले अभाव भएको अवस्थामा पनि नेपाली चलचित्रले २०३६–२०३७ सालमा नै पहिलो महिला संगीतकार पाएको थियो ठटाल। उनको जन्म सन् १९३८ मा दार्जिलिङमा भएको हो।
‘परालको आगो’ प्रताप सुब्बाको निर्देशन र गुरुप्रसाद मैनालीको कथामा बनेको फिल्म थियो। यो फिल्मका निम्ति शान्ति ठटालको चयन हुनु एउटा सौभाग्यको तथा गर्वको विषय थियो। उनले आफ्नो सांगीतिक जीवन ईश्वर बल्लभद्वारा लिखित गीतिनाटक ‘नीलो सूर्यास्थ’ बाट सुरु गरेकी थिइन्। उनी गायिकाको रूपमा सांगीतिक जगत्मा प्रवेश गरेकी हुन्।
विस्तारै उनले गायनका साथसाथै सांगीतिक जीवनको पनि बलशाली प्रभाव देखाएको पाइन्छ। सम्पूर्ण गीत रेकर्डिङ गर्न कलकत्ता चुनिएको थियो। ‘परालको आगो’मा उनले मूल गायिकाको रूपमा अरुणा लामालाई रोजेकी थिइन्। अरुणा लामाले मनबहादुर मुखियाको शब्दमा रहेको गीत गाएकी थिइन्। त्यसमा पनि पेमा लामा, शंकर गुरुङ, दाबा ग्याल्बोलगायतका कलाकारलाई पनि शान्ति ठटालले ‘ब्रेक’ दिएकी थिइन्।
शान्ति ठटालको लोकप्रियता चर्चा दोस्रो फिल्ममा देखिएको हो। त्यो फिल्मको नाम बाँच्न चाहनेहरू हो। त्यो फिल्म प्रताप सुब्बाको निर्देशनको दोस्रो चलचित्र थियो। नरदेव लुम्बालाई गीतकारको रूपमा प्रतापले ब्रेक दिएका हुन्। उनले परालको आगोमा शान्ति ठटाल र गीतकार मनबहादुर मुखियालाई ब्रेक दिए भने बाँच्न चाहनेहरूमा अत्यन्त प्रतिभाशाली गीतकार कवि लुम्बालाई गीतकारको रूपमा ल्याइएको थियो।
ठटालको जस्तो यादगार छाप अहिले पनि महिला संगीतकारले छाड्न सकेका छैनन्। उनको समयमा संगीत गर्ने महिला तारादेवी, कोइलीदेवी हुँदाहुँदै उनीहरूले चलचित्रमा त्यस्तो मौका पाएनन्। तर शान्ति ठटालले पाएको मौका सदुपयोग र सफलतालाई विशेष रूपमा सम्झना गरिन्छ। अहिले उनी सांगीतिक विषय कार्यक्रममा पुग्ने र आफ्ना अनुभव बाँड्नमै व्यस्त छिन्।
छन्द कवितामा भेटिइन्छिन् लोचन
आधुनिक गायिकाले बढी चिनिने संगीतकार हुन्, लोचन भट्टराई। २०४४ सालमा आधुनिक गीततर्फ प्रथम भएपछि निर्माण भएको उनको परिचय अझै पनि आधुनिक गायिका नै छ। तर, जब २०५४ सालमा म्युजिक नेपालले भानुभक्तीय रामायणलाई छन्दमा वाचन गराउने काममा उनले धेरै श्लोक वाचन गरिन्। यसले छन्दलाई संगीतमा जोड्दै उनको अर्कै परिचय निर्माण भयो छन्द गायिका लोचन। उनको जन्म भारतको कालिम्पोङमा भएको हो।
आधुनिक त छँदैछ, २०४८ सालमा सांस्कृतिक संस्थानमा जागिरे भएपछि सोरठी, तामाङ सेलो, झ्याउरे, चर्यालगायतका विविध सांस्कृतिक गीत गाए पनि पछिल्लो समय भने उनलाई छन्दको लत नै बसेको छ। अहिले पनि उनी नेपाली भाषाको अध्ययनमा लागेकी छन्। भन्छिन्, ‘जुनसुकै चिजलाई संगीत गर्न सकिन्छ त्यो गीत भनेर लेखिएको हुनु पर्दैन।’ उनले यहाँसम्म आउन धेरै कसरत गरिन्। पहाडबाट बसाइँ सर्दा उनको फुपाजुले सबै सम्पत्ति हिनामिना गरेका कारण उनीहरूको जीवन भने कष्टप्रद हुन पुग्यो। खान, लाउनसमेत धौ धौ हुन्थ्यो।
जीवनयापनका लागि घाँस, दाउरा गरेर अरूको घरमा गएर भकारो सोरेर तथा आमाले पनि अरुका उखु, अम्बा घरघर लगेर बेचेर उनीहरूलाई हुर्काइ, बढाइ र पढाइ गरेको उनी सम्झन्छिन्। उनको लगाव अब गीत संगीतमा भन्दा पनि छन्द र कवितातर्फ अघि बढेको छ। भन्छिन्, ‘२०४४ सालमा जागिर छोडेर छोरा हुर्काउँदै घरमै बसेकी थिएँ। छोरा पनि ६ वर्षको भएर स्कुल जाने भइसकेका थिए। एक दिन श्रीमान्ले तिमी पनि रेडियो नेपालमा आधुनिक गीत प्रतियोगिता भइरहेको छ त्यहाँ जाउ भनेर भन्नुभयो। अनि यात्रा मेरो अघि बढेको थियो।’
२०४४ सालमा रेडियो नेपालमा भएको आधुनिक गीत प्रतियोगितामा प्रथम भएकी थिइन् उनी। गीतहरू भाषागत रूपमा कसरी शुद्ध गाउने भनेर भावी पिँढीलाई एउटा ज्ञान दिन चाहन्छिन् उनी। स्वर र उमेरले साथ दिएसम्म आगामी दिनमा नेपाली कविताहरूलाई सकेसम्म संगीतबद्ध गरेर इतिहासमा एउटा सार्थक काम गर्ने विचारमा छिन् उनी।
संगीत सिकाउँदै रेखा
गीत होस् या संगीत दिनुपर्ने कुनै कुरा, त्यसलाई न्याय गर्ने संगीतकार हुन् रेखा पौडेल। अहिले पनि उनी राजधानीका विद्यालयमा बालबालिकालाई आफ्नो ज्ञान बाँडिरहेकी भेटिन्छिन् बेलाबेला। भन्छिन्, ‘संगीत कम्पोजले मात्रै पुग्दो रहेनछ, त्यसैले पढाउन थालेकी हुँ।’ उनको सांगीतिक यात्रा २०५९ सालमा चितवन महोत्सवको ‘आधुनिक गीत प्रतियोगिता’बाट भएको थियो। खासमा उनी त्यो प्रतियोगितामा गीत गाउन गएकी थिइन्। गायनमा भविष्य बनाउन आएकी उनी संगीततिर तानिइन्।
त्यसयताको सांगीतिक यात्रामा उनले ‘अलंकार’, ‘अठोट’, ‘अतृप्त’ र ‘अविरल’जस्ता सोलो एल्बम बजारमा ल्याइन्। करिब एक सय गीतमा संगीत दिइसकेकी उनी भन्छिन्, ‘संगीतकारको कमाइ गायकको जस्तो हुँदैन। तर पनि सन्तुष्ट छु।’ पुरुषको तुलनामा महिला संगीतकारलाई गाह्रो देख्छिन् उनी। सुरुआतमा उनले काम खोज्दै हिँड्नुप¥यो रे। भन्छिन्, ‘गायिका देख्न रुचाउनेको भीडमा संगीतकार हुँदा छक्क पर्थे कतिपय।’
सुरुआततिर उनले कुपण्डोलमा संगीत कक्षा खोलिन्। तर विद्यार्थी जुटाउन हम्मेहम्मे प¥यो। आएकाहरूले टिचर खोज्थे। ‘मै सिकाउँछु’ भन्दा विद्यार्थीले पनि पत्याएका थिएनन् रे । उनले ‘फूल’, ‘चिहान’, ‘हमेशा’, ‘पीपल’, ‘कोइला’, ‘मायाको सौगात’, ‘कालेदाइ’लगायत चलचित्रमा संगीत दिइसकेकी छन्। अञ्जु पन्त, दीपक लिम्बू, प्रमोद खरेल, राजेशपायल राई, आनन्द कार्की, मेलिना राई, शिव परियारलगायत गायकगायिकासँग काम गरिसकेकी छन्। सगरमाथा म्युजिक अवार्ड र दुबईमा सम्पन्न ‘मोडेल सङ्स अवार्ड’मा सर्वोत्कृष्ट संगीतकारको रूपमा सम्मानसमेत पाएकी उनी अझै संगीतमा केही गर्ने सोचमा छिन्।
आफ्नो समय कुर्दै राजु
तीन दशकदेखि नेपाली संगीतमा साधनारत संगीतकार राजु सिंह अहिले पनि आपूmलाई साधक नै ठान्छन्। भविष्यमा कलेजको प्रोफेसर, बैंकरजस्ता पेसा अपनाउँछु होला भन्ने सानैदेखि सोच्ने राजुलाई आफूभित्रको सांगीतिक मनले नै संगीतकार बनाएको ठान्छन्। काठमाडौंकै एक कलेजमा अर्थशास्त्र विषय अध्यापन गरेर ‘प्रोफेसर’सम्म बनेका उनको चर्चा भने गीत संगीतमा नै बढी हुन्छ। सिंहले हजारभन्दा बढी गीतमा संगीत दिइसकेका छन्। उनको संगीतमा ३७ बढी सोलो एल्बम छन्।
काठमाडौंका स्थानीय उनी भृकुटीमण्डपमा हुने विभिन्न गीतको सुटिङ हेरेरै यसतर्फ आकर्षित भएको बताउँछन्। दीप श्रेष्ठ, नारायणगोपाल, प्रकाश श्रेष्ठ, दीपक खरेल, ओमविक्रम राणाका गीत सुनेर उनी हुर्किएका हुन्। पुराना गीत सुन्दा उनलाई अहिले पनि आनन्द लाग्छ रे। गोपाल योञ्जन, नातिकाजी, अमर गुरुङलगायतका संगीतकारले भरेको संगीतको धुन सुनेरै यसतर्फ आएको उनी बताउँछन्। सिंहका बुवा भगत सिंह पनि कुशल वाद्यवादक हुन्। भन्छन्, ‘पहिलोे सांगीतिक गुरु नै बुवा हो।’ उनका बुवाले केही समय रेडियो नेपाल र राष्ट्रिय नाचघरमा पनि काम गरेका थिए।
बुवालाई पछ्याउँदै रेडियो नेपाल पुग्थे उनी। त्यहाँ गीत रेकर्ड गरेको, बाजा बजाएको सुन्थे–हेर्थे। कताकता ती धुनहरूले छुन्थ्यो उनलाई। घरमा आएर बजाउने कोसिस गर्थे। नाचघरमा नाटक हेर्न पुग्थे। यसरी नै उनलाई यो क्षेत्रमा दौडायो। सांगीतिक क्षेत्रमा राजुको आगमन भने प्रतिबिम्ब ब्यान्डमार्फत भएको हो। उनको सुरुआती सांगीतिक विधा भने पप थियो। सुरुआतमै नारायणगोपालको ‘गीतियात्रा’ नामक एल्बम बजारमा ल्याएका थिए। यो ब्यान्ड छोटो समयमै चर्चा कमाउन सफल भयो। आनन्द कार्कीको स्वरमा रहेको ‘फेरि तिम्रो याद आयो’ नामक एल्बममा संगीत गरेपछि सिंहले कहिल्यै पछाडि फर्केर हेर्नु परेन।
अहिले कमाउनभन्दा पनि गुमाउन संगीतमा आएको हुँ भन्छन् सिंह। तर, संगीतकै कारण अनेकन् सम्मान पाएकोमा मक्ख छन् उनी। पछिल्लो समय उनको संगीतमा गीत कम बनेका छन्। उनी काम कम भएको नभई प्रविधिले गर्दा काम कम देखिएको बताउँछन्। करिब ३० वर्षदेखि नेपाली संगीतको उन्नयनमा लागिपरेका सिंह नेपाली गीतसंगीत अन्य देशको तुलनामा अब्बल भएको दाबी गर्छन्।
निर्देशनमा जमेका जेम्स
जेम्स प्रधान नेपाली गीतसंगीतमा स्थापित नाम हो। करिब तीन दशकदेखि गायनसँगै संगीतकार, एरेन्जर, गीतकार, विज्ञापन निर्माताका रूपमा परिचित प्रधान निर्देशक पनि हुन्। छोटो चलचित्र ‘सर्ट टर्म मेमोरी लस’मार्फत निर्देशकीय यात्राको प्रारम्भ गरेका उनले ठूलो पर्दाका लागि चलचित्र निर्देशनको यात्रामा पनि दौडने बताउँछन्। छोटा चलचित्रको निर्देशनलाई खुड्किलोका रूपमा बुझ्न आग्रह गर्ने उनी फरक–फरक काममा हात हालिरहन मन लागिरहने सुनाउँछन्।
अहिले उनी संगीतमा भन्दा पनि निर्देशनमा ध्यान दिइरहेको उनी निकट बताउँछन्। सुरुमा सांगीतिक यात्रामा निस्किएका जेम्सले बमभोले, चस्मी, हावा हुँदै आवाज लिएर आए। करिब सात सय विज्ञापनमा आवाज भरिसकेका जेम्स प्रधानको आवाजमा जति जादु छ संगीत संयोजन, विज्ञापन निर्माण र गीत पनि उत्तिकै छ। उनको परिवारको परम्परागत व्यवसाय व्यापार थियो। विशेष गरेर टेलिकमसम्बन्धी व्यापार गथ्र्यो। उनी यस्तै काम देखेर हुर्किएका हुन्। त्यतिखेर उनी इन्जिनियर बन्छु भन्थे रे। त्यसो हुँदा उनको परिवारलाई पनि सहयोग हुन्थ्यो। इन्जिनियरसम्बन्धी सानातिना समस्या पनि उनी समाधान गर्थें। त्यतिखेर घरपरिवारमा इन्जिनियर नै पढ्छ भन्ने ठान्थे रे। धेरै पछि मात्र सांगीतिक बाटोतिर लागेका थिए। बिस्तारै गाउन बानी बस्यो। भन्छन्, ‘अहिले सम्झँदा के लाग्छ भने म गायक नभएको भए इन्जिनियर बन्थें हुँला।
पछि त सांगीतिक माहोलमा पुगें। त्यही माहोलमा हुर्किंदै गएँ। मानविकी पढें। अनि गीत–संगीतमै जमें।’
लोकभाकाको लयमा प्रेक्षा
प्रेक्षा गौतम नेपाली संगीत क्षेत्रमा चर्चित नाम हो। उनलाई अझै संगीतलाई नजिकबाट चिनेकाले सफल संगीतकारका रूपमा पनि चिन्छन्। तर, पछिल्लो समय भने उनी यो क्षेत्रबाट गुमनाम जस्तै छिन्। उनको पहिलो एल्बम आधुनिक गीतको थियो। तर त्यो सोलोमा उनको ‘भर्सटालिटी’को छनक चाहिँ थियो। ‘अन्तरा’मा प्रेक्षा गौतमलाई चिनाउने दुइटा गीत थिए, ‘फूल जस्ती जून जस्ती’, र योः लैलै ढाकाटोपी लाउनेले लैलै...।’
यो गीतपछि उनी लैलैकै पछिपछि लागिन्। यसमा मार्गदर्शन गरेको थियो अरुण उपत्यका समूहले। उनका पछिल्ला तीनै गीत लोकलयका आए। उनलाई हल्कासाथ गायक खेमराज गुरुङ र नवीन खड्काले दिए। शास्त्रीय संगीत पनि सिकिरहेकाले आधुनिक वा लोक, कुनै पनि गीत गाउन मलाई अप्ठ्यारो लाग्दैन रे। धराने युवती उनी पूर्वकै गीतमा रमाइन्। पूर्वी पहाडमै जन्मेकाले पनि हुनसक्छ, भीर–पाखा, कन्दराको मिठास उनको स्वरमा अनुभूति गर्न सकिन्छ। त्यसमाथि शब्द त मन छुने हुने भई नै हाले। प्रेक्षा भन्छिन्, ‘श्रोताहरूले कस्तो प्रतिक्रिया दिनुहुन्छ, त्यसमै लागिरहेको छु। अब संगीत दिने कुरामा पनि धेरै सोच्नेछु।’ काम सचेततापूर्वक गरिएको छ भने प्रतिफल पनि नमिठो पाइँदैन भन्ने कुरा उनको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)