फिदिम : नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ‘समृद्धिका लागि संकल्प यात्रा’ आज पाँचथर सदरमुकाम फिदिम आइपुग्ने भएको छ। मंसिर १४ गते बैतडीको झुलाघाटदेखि सुरु भएको यात्रा पुष १ गते पाँचथरको चिवाभञ्ज्याङ पुगेर टुंगिनेछ।
आज हुने फिदिमको बृहत सभामा १२ हजार मानिस उतार्ने एमालेको तयारी छ। उक्त सभालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नेछन्। ओलीले एमाले पाँचथरको पार्टी कार्यालयसमेत उद्घाटन गर्ने तयारी छ। त्यसपछि जिल्लाका व्यवसायीहरुसँग अन्तरक्रिया गर्ने कार्यतालिका छ।
पुष १ गते ओलीले याङवरक गाँउपालिकाको प्रशासकीय भवन उद्घाटन गर्ने जनाइएको छ। त्यसपछि च्याङथापुको कोण सभालाई सम्बोधन गर्ने र मध्यपहाडी लोकमार्गको उद्गम बिन्दु चिवाभज्याङमा झण्डोत्तलनसहित पुष्पलालको शालिक अनावरण गरेर यात्रा समापन गर्ने जनाइएको छ।
फिदिममा आयोजित सभामा पाँचथरसहित ताप्लेजुङ, इलाम, र झापाका नेता कार्यकर्ता सहभागी हुने एमाले पाँचथरका कार्यबाहक अध्यक्ष बिमल सापकोटाले जानकारी दिए।
संकल्प यात्रामा एमालेका दुई सय केन्द्रीय नेता सहभागी छन्। ‘अध्यक्षसहित दुई सय केन्द्रीय नेताहरु झुलाघाटदेखि नै यात्रामा सहभागी हुनुहुन्छ,’ सापकोटाले भने, ‘विभिन्न जिल्लामा प्रदेश र जिल्लास्तरीय नेता कार्यकर्ता यात्रामा जोडिंदै आउनुभएको छ।’