बैतडीमा एक महिलाको बीभत्स हत्या
![बैतडीमा एक महिलाको बीभत्स हत्या](https://annapurnapost.prixacdn.net/media/albums/Bhibats_hatya_1_3iUU1nAR5N_DAZSBcy2Sx.jpg)
बैतडी : बैतडीको सुर्नया गाउँपालिका-३ मा एक महिलाको बीभत्स हत्या गरिएको छ। सुर्नया गाउँपालिका-३ को बिजुल भन्ने ठाउँका अन्दाजी २९ वर्षीय तेजबहादुर चन्दले सोही ठाउँकी ५६ वर्षीया हरिना बिष्टको बीभत्स हत्या गरेका हुन्।
मानसिक सन्तुलन ठीक नभएका चन्दले बिष्टको घरमै गएर मंगलबार दिउँसो धारिलो हतियार प्रयोग बीभत्स हत्या गरेका हुन्। घरमा महिला एक्लै भएको मौका छोपेका चन्दले ती महिलालाई लखेटेका थिए।
त्यसपछि ती महिला घरभित्र पसेकी थिइन्। चन्दले सब्बलको प्रयोग गरी ढोका फोडेर भित्रै गई सब्बल र हसिया प्रयोग गरी हत्या गरको स्थानीय भुवन भट्टले जानकारी दिए। चन्दले २ बाख्रा पनि काटीदिएको उनले बताए।
घटनास्थलमा प्रहरी पुगेको र अभियुक्त चन्द पनि नियन्त्रणमा आइसकेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी, प्रहरी निरीक्षक खेम विक्रम केसीले जानकारी दिए। 'महिलाको बीभत्स हत्या गरिएको छ। अभियुक्त भनिएका चन्द पक्राउ परिसके। अनुसन्धान हुँदैछ,' उनले भने।
घटनास्थलमा जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख डीएसपी दीपक गिरीको नेतृत्वमा प्रहरी टोली खटिएको छ। स्थानीयका अनुसार बिष्टको शव क्षतबिक्षत अवस्थामा घरको ढोकामा थियो। मृतक बिष्टका श्रीमान गोठाला थिए। थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)