राजनीति

काम एकातिर, दलहरू ०८४ मिसनतिर

काम एकातिर, दलहरू ०८४ मिसनतिर

अप्ठ्यारोमा परेको मुलुकलाई कसरी समन्नुत र विकसित बनाउने भन्नेमा एक मिनेट सामूहिक चिन्तन र विचारविमर्श देखिँदैनन् दलहरू। आगामी निर्वाचन कसरी जित्ने ? जनतालाई आश्वासनका पोका कसरी बाँड्ने ? कार्यकर्तालाई कसरी पोस्ने भन्नेमा मात्रै केन्द्रित देखिन्छन्।

पाँच वर्षका लागि निर्वाचित प्रतिनिधिसभाले बल्ल एक वर्ष कार्यकाल पूरा गरेको छ। अर्थात्, ०७९ मंसिरमा निर्वाचित प्रतिनिधिसभाको कार्यालय अझै ४ वर्ष बाँकी छ। तर, दलहरू भने ०८४ को चुनाव केन्द्रित अभियानमा छन्। त्यसैकारण मिसन ०८४ भन्दै दलहरू ‘बेमौसमको डम्फु’ बजाइरहेका छन्।

जबकी ०७९ को निर्वाचनका बेला उनीहरूले जनतामा गरेका बाचा, प्रतिबद्धता र आश्वासन अर्थविहीन जस्तै छन्। अर्कोतिर, मुलुकलाई कसरी समृद्ध बनाउने ? सुशासन र विकासको अनुभूति जनतालाई कसरी दिने ? बढ्दो बेरोजगारी र युवा विदेश पलायन कसरी रोक्ने ? अर्थतन्त्रको जर्जर अवस्थालाई कसरी सम्बोधन गर्ने भन्नेमा उनीहरूको फिटिक्कै ध्यान छैन।

अप्ठ्यारोमा परेको मुलुकलाई कसरी समन्नुत र विकसित बनाउने भन्नेमा एक मिनेट सामूहिक चिन्तन र विचारविमर्श देखिँदैनन् दलहरू। आगामी निर्वाचन कसरी जित्ने ? जनतालाई आश्वासनका पोका कसरी बाँड्ने ? कार्यकर्तालाई कसरी पोस्ने भन्नेमा मात्रै केन्द्रित देखिन्छन्। मुलुकलाई यस्तै अवस्थामा राखेर आगामी निर्वाचन लक्षित दलीय गतिविधिको अर्थ नहुने राजनीतिक विश्लेषकहरू बताउँछन्। उनीहरू अहिले नै मिसन ०८४ भन्नु ‘काम कुरो एकातिर, कुम्लो बोकी ठिमीतिर’ को यात्रा जस्तै हुने बताउँछन्। 

०७९ को निर्वाचनले कुनै एक दललाई बहुमत दिएन। त्यतिबेला एक्लाएक्लै जनतामा जान ठूला दल पनि डराए। त्यसैकारण ‘पवित्र–अपवित्र’ गठबन्धन बनाएर गए। त्यति गर्दा पनि जनताले पत्याएनन्। मिश्रित परिणाम दिए। त्यसैकारण संसद्को तेस्रो दल माओवादी कहिले कांग्रेस त कहिले एमालेको बुई चढेर सत्तामा हालीमुहाली गरिरहेको छ।

सरकारबाट जनताले सुशासन, विकास र समृद्धिको कुनै अनुभूति गर्न पाएका छैनन्। सरकारलाई खबरदारी गर्ने जिम्मेवारीमा रहेको विपक्षी एमाले मिसन–०८४ भन्दै मध्यपहाडी राजमार्गमा अभियान सञ्चालन गरिरहेको छ।

कांग्रेस प्रदेशका भेला गरिरहेको छ। कांग्रेसका युवा नेताहरू मिसन ०८४ भन्दै भाषण गरिरहेका छन्। माओवादीले ‘जनतासँग माओवादी, रूपान्तरण अभियान’ सुरु गरेको छ। त्यस्तै, माओवादी, एकीकृत समाजवादी र जसपाले ‘समाजवादी मोर्चा’ बनाएर ठाउँ–ठाउँमा चुनाव लक्षित सभा सम्मेलन गरेका छन्।

null

नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी मिसन ०८४ भन्दै देशभर संगठन विस्तारमा जुटेको छ। अरू साना दल पनि कसरी ०८४ को निर्वाचनमा जनतालाई आफूतिर तान्ने भन्ने ध्याउन्नमा छन्। 

उपनिर्वाचनदेखि नै मिसन ०८४ 

०८० वैशाख १० गते उपनिर्वाचन भयो। त्यही निर्वाचनका बेला दलहरूले एकाएक उठाए–मिसन ०८४ को नारा। अर्थात्, उक्त उपनिर्वाचनले ०८४ को निर्वाचनलाई संकेत गर्ने भन्दै दलहरूले ‘बेमौसमी बाजा’ बजाए। त्यसपछि नेताका भाषणपिच्छे मिसन ०८४ को नारा लाग्यो। उनीहरूले मिसन ०८४ भन्दै अभियान पनि सुरु गरे।

विपक्षी एमालेले मंसिर १४ बाट झुलाघाट–चिवाभञ्ज्याङ पदयात्रा सुरु गर्‍यो। उसले समृद्ध नेपालः सुखी नेपालीको नारा दिइरहेको छ। जनतासँग प्रत्यक्ष जोडिने र संगठन चलायमान बनाउने उसको रणनीति छ। ०८४ को निर्वाचनमा एकल बहुमत ल्याउने दाउ रहेको एमाले नेताहरू बताउँछन्। null

सत्तासीन कांग्रेसको भदौ २ को केन्द्रीय समिति बैठकबाट समुदायमा कांग्रेस अभियान सञ्चालन गर्ने निर्णय भयो। हाल प्रदेश भेला गरिरहेको छ। ०८४ को निर्वाचनमा कांग्रेस एक्लै भिड्नुपर्ने युवा नेताहरूको भनाइ छ। महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले मिसन ०८४ भन्न छोडेर अहिलेको अवस्थाबाट देशलाई कसरी उभो लगाउने भनेर दलहरू सक्रिय बन्नुपर्ने धारणा राख्दै आएका छन्। 

सत्ताको नेतृत्व गरिरहेको माओवादी केन्द्रले जनतासँग पार्टी र नेतृत्व टाढिँदै गए भावी चुनाव जित्न गाह्रो हुने निष्कर्ष निकाल्यो। त्यसैकारण उसले भदौ १६ देखि ‘जनतासँग माओवादी, रूपान्तरण अभियान’ सुरु गर्‍यो।

nullपार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले चन्द्रागिरिको भट्टेडाँडाबाट अभियान सुरु गरे। माओवादीले २५ लाख मतदातासँग भेट्ने लक्ष्य राखेको छ। 

अर्कोतिर ४ साना वाम, प्रगतिशील पार्टी मिलेर समाजवादी मोर्चा गठन गरेका छन्। असार ५ गते माओवादी, एकीकृत समाजवादी, जसपा र नेकपा मिलेर समाजवादी मोर्चा गठन गरेका हुन्। सके चार पार्टी एकता गरेर ०८४ मा निर्वाचन लड्ने, सम्भव नभए मोर्चा बनाएर चुनावको सामना गर्ने उनीहरूको तयारी छ। 

नयाँ उदाएको रास्वपाले देश–विदेशमा पार्टी संगठनलाई विस्तार गरेको छ। उपनिर्वाचनको परिणामबाट थप हौसिएको राजस्वाले ०८४ मा एक्लै बहुमत ल्याउने घोषणा गरेको छ। हालै मधेसमा पार्टीको केन्द्रीय कमिटी बैठक सम्पन्न गरेपछि देश–विदेशमा पार्टी संगठन विस्तारलाई तीव्रता दिएको छ। राप्रपा, जनमतलगायतका साना पार्टीहरूले पनि पछिल्लो समय पार्टीका गतिविधि सक्रिय पारेका छन्। 

लुम्बिनीबाट कांग्रेसको अभियान 

सत्तासीन कांग्रेसले पनि ०८४ लक्षित गतिविधि बढाएको छ। लुम्बिनी प्रदेशको बुटवलबाट पहिलो सम्मेलन गरेको कांग्रेसले सातै प्रदेशमा सम्मेलन गर्दैछ। यी सम्मेलनमा पार्टीका शीर्षस्थ नेतृत्व सहभागी छन्। 

nullबुटवलमा आयोजित नेपाली कांग्रेस लुम्बिनी प्रदेश सम्मेलनमा पुगेका कांग्रेस सभापति शेरबहादुर देउवा। 

लुम्बिनीमा भएको सम्मेलनले कांग्रेसलाई एकढिक्का बनाउन मद्दत गरेको भन्दै अब जिल्लाका अभियान सुरु गरिने प्रदेश सभापति अमरसिंह पुनःले जानकारी दिए। नयाँ उदय भएको दल स्वतन्त्र पार्टीले समेत लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा सभा सम्मेलन गरिरहेको छ। घरदैलो अभियान चलाएको स्वतन्त्र पार्टीले अर्घाखाँची, पाल्पा, रोल्पासहितका जिल्लामा सभाहरू गरेको छ। स्थानीय कार्यकर्ताहरूले घरदैलो अभियान भन्दै टोलटोलबाट सुझावसमेत संकलन गरेका छन्।

माओवादीसहितका दलले समाजवादी मोर्चाबाट सभाहरू आयोजना गरेका छन्। रूपन्देहीको बुटवल, रोल्पामा यी पार्टीका सभा सकिएका छन्। पार्टीका स्थानीय कमिटीहरू पुनर्गठन, भ्रातृसंगठनहरूलाई सामाजिक क्रियाकलापमा जोड्ने काम दलहरूले गरेका छन्।

एमालेले मिसन ग्रास रूटबाट सुरु गरेको जनता भेट्ने कार्यक्रम पछि नेकपा माओवादी केन्द्रले पनि ‘जनतासँग माओवादी, रूपान्तरण अभियान’ सञ्चालन गरेको छ।

राजनीतिक दलहरूमा ०८४ को चुनावले भविष्य कोर्ने भन्दै त्यसलाई आफ्नो पक्षमा ल्याउन कार्यकर्तालाई विशेष परिचालन गरेका छन्। जनस्तरबाटै पार्टीका लागि समर्थन जुटाएर तीन तहकै संरचनामा बलियो हुने अपेक्षा गरेका छन्।

राजनीतिक विश्लेषक तथा लेखक विनबहादुर कुँवरले दलहरूले परम्परागत शैली त्यागेर जनताका ठोस एजेन्डासहित तल्लो तहमा आउनुपर्ने बताउँछन्। उनले भाषणबाजीबाट जनताहरू आजित भइसकेको भन्दै अब त्यसकै आधारमा दलले मत पाउन कठिन हुने उनले बताए। त्यो जोखिम पुराना दललाई अझै बढी रहेको उनको भनाइ छ।

०८४ मा हुने निर्वाचनलाई राजनीतिक दलहरूले मिसन बनाएपछि लुम्बिनीका पार्टीका स्थानीय कार्यकर्ताहरूसमेत चलायमान बनेका छन्। प्रमुख दलसहित नयाँ उदय भएका दलहरूले पनि लुम्बिनी प्रदेशका बिभिन्न जिल्लामा पार्टीका कार्यक्रमहरू गरिरहेका छन्। नेकपा एमालेले लुम्बिनी प्रदेशको रुकुमपूर्व र गुल्मीको वामीटक्सारमा विशाल सभा गरेको छ। पूर्व–पश्चिम अभियान चलाइरहेको एमालेले यी जिल्लामा सभा गर्दा १२ वटै जिल्लाका नेता कार्यकर्ताहरू अभियानमा जोडिएका छन्।

रूपन्देही जिल्लाका एमाले अध्यक्ष तेजेन्द्र केसीले बहुमत ल्याउने योजनासहित एमाले अभियानमा रहेको भन्दै यसले जनता र कार्यकर्तामा रहेका भावनाहरूलाई सम्बोधन गर्न सक्ने बताए।

चुनावसँगै विकास 

एमालेले कम्युनिस्ट नेताको नाममा सुरु भएको लोकमार्ग निर्माणमा तीव्रता, तराईलाई गाउँबस्तीसँग जोड्ने, बढ्दो बसाईसराइलाई कम गर्ने, विकासका गतिविधिलाई बढावा दिने र जनतासँग सम्बन्ध स्थापित गर्ने गरी अभियान सुरु गरेको एमाले कोसी प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडाले बताए।

अभियानलाई एमालेले सम्बन्ध स्थानीय सन्देश राष्ट्रिय ब्यानरमा नै उल्लेख गरेको छ। अध्यक्ष खतिवडाले भने, ‘यो अभियान स्थानीय जनतासँग लक्षित छ तर सरोकार र सन्देशका हिसावले राष्ट्रिय छ। ‘लोकमार्ग निर्माणले पहाडका बस्तीको विकास मात्र हैन् समृद्धि छाउने हाम्रो निष्र्कष हो, उनले भने, ‘मुलुक संघीयतामा छ, तर अझै पनि अधिकार र विकास गाउँमा नपुग्दा पहाडमा बढ्दो बसाईसराइ छ, त्यसलाई रोक्न पनि यो लोकमार्ग सुचारु हुन जरुरत छ।

बैतडीको झुलाघाटबाट सुरु भएको लोकमार्ग पाँचथरको चिवाभञ्ज्याङमा टुंगिनेछ। यो अभियान विभिन्न जिल्लामा जनतासँग भेटघाट, आमसभा गर्दै पुस २ गते १९औं दिनमा समापन हुँदैछ। 

मिसन ०८४ भन्दा विकास र समृद्धिको खोजी 

कांग्रेस कास्की सभापति किशोरदत्त बराल मिसन ८४ भन्दै हिँड्नुभन्दा पनि हरेक दिन जनताका समस्या बुझेर उत्पादनसँग जोड्ने गरी कृषिको वैज्ञानिकीकरण, औद्योगिकीकरणतर्फ दलहरू लाग्नुपर्ने सुझाव दिन्छन्। युवा बिदेसिनुपर्ने अवस्था प्रतिगम्भीर हुँदै उत्पादनसँग जोड्ने गरी वर्तमान शिक्षालाई सुधार गर्नुपर्ने सभापति बरालले बताए।

ओलीले संकल्पको यात्रामा आएको स्थानीय जनसमुदायको मागपत्रमार्फत आएको सबै कुरालाई बृहत् ढंगले छलफल गरी पूरा गर्नेतर्फ पार्टीपंक्ति लाग्ने बताएका छन्।

उत्पादनसँग जोड्ने गरी युवा जनशक्ति उत्पादन गर्न नसक्ने हो भने परनिर्भरता बढ्दै गएर थप जटिल समस्या आउने बरालले बताए। यसैले बेलैमा शिक्षामा सुधार गरेर लग्नुपर्ने उनले सुनाए। आगामी निर्वाचनमा जित्ने गरी सरकारमै रहेर प्रत्येक दिन कांग्रेसले जनताको मन जित्ने गरी काम गर्नु उनले बताए। सत्तामा रहेका पार्टीका लागि हरेक दिन देश विकास र समृद्धिको यात्रामा लग्ने मिसन रहनुपर्ने तर सरकार त्यो ढंगले भने नचलेको उनले बताए।

एमाले कास्कीका अध्यक्ष मनबहादुर गुरुङ पार्टीले मिसन ८४ भनेर मध्यपहाडी लोकमार्गको अनुगमन गर्दै स्थानीय र वरपरका जनतासँग अन्तरक्रिया, संवादमा जुटेको बताए। देश विकास र समृद्धिको यात्राका लागि खाका तयार गर्न मिसनको रूपमा जनताको घर–घरमा पुगेको पनि उनले बताए। सदन नचलेको अवस्थामा प्रमुख प्रतिपक्षका हिसाबले सरकाले गरेका बेथिति, भ्रष्टाचारका विषयमा पनि जनतालाई सुसुक्षित गर्दै सरकारलाई सही दिशामा हिँड्न दबाबा दिने अभियानको उद्देश्य रहेको बताए। सत्तासीन पार्टीहरू देश विकास, समृद्धिका लागि काम नगरेकाले जनतालाई सचेत बनाउनुपर्नेमा उनले जोड दिए। 

माओवादी केन्द्रका कास्की संयोजक केशवराज पौडेल जनतासँग माओवादी विशेष रूपान्तरण अभियान चलिरहेको बताउँछन्। सरकारले गरेको सुशासानका कामको जनता सामु पार्टीले प्रचार–प्रसार गर्ने काम तीन महिने अभियानका क्रममा गरिरहेको उनले सुनाए। जनतासँग माओवादी विशेष रूपान्तरण अभियानमा जनताको घर–घरमा जाने क्रममा जनताले पार्टीको माथिल्लो नेतृत्व रूपान्तरित हुनुपर्‍यो भन्ने सुझाव दिएको पनि उनले सुनाए। माथिल्लो नेतृत्व केही बिग्रेको छ सुध्रन पर्‍यो भन्ने पार्टी कार्यकताको भनाइ रहेको उनले बताए। जनताका गुनासो सुन्ने काम भइरहेको र जनताका चाहाना अनुसार पार्टी र पार्टी नेतृत्वलाई सुधार्दै लगिने पनि उनले सुनाए।

ओली भन्छन्– मिसन ०८४ 

विपक्षी एमाले अध्यक्ष केपी ओली मिसन ८४ मा देश बर्बाद हुन नदिन एमालेले महाअभियानको यात्रा तय गरेको बताएका छन्। उनले राष्ट्रिय हितका लागि नेकपा एमालले संकल्प यात्रा तय गरेको बताए। 

null

झुलाघाटदेखि चिवाभन्ज्याङसम्मको समृद्धिका लागि संकल्प यात्राका क्रममा काभ्रेको मण्डनदेउपुरको बृहत् जनसभालाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन्। ओलीले एमालेको सरकार गएपछि देश अस्थिरता र अराजकतातर्फ धकेलिएको भन्दै उनले युवाहरू स्वदेशमा बस्ने वातावरण नहुनुमा सरकारको गतिविधिको कारण भएको जिकिर गरे। देशमा युवाशक्तिलाई टिकाउन उद्यमशीलता उन्नत कृषि, व्यवसायीकीकरण, विकासमुखी र प्रविधिको उच्चत्तम प्रविधिको प्रयोगले मात्रै सम्भव रहेको पनि बताएका छन्। 

ओलीले संकल्पको यात्रामा आएको स्थानीय जनसमुदायको मागपत्रमार्फत आएको सबै कुरालाई बृहत् ढंगले छलफल गरी पूरा गर्नेतर्फ पार्टीपंक्ति लाग्ने बताएका छन्। उनले एमाले एक्लैसँग कुनै पनि दल एक्लै लड्ने आँटसमेत नरहेको बताउँदै मिसन ८४ ले देश बर्बादीको दिशाबाट फर्किने विश्वास राख्न सबैमाझ अपिल गरे।

यस अभियानले सिंगै पार्टी परिचालित भएको र यसबाट राजनीति प्रतिजनताको वितृष्णा र विश्वास कम भएको प्रतिलक्षित काम गर्ने अठोटसमेत व्यक्त गर्न अभियानले भूमिका खेलेको बताएका छन्। कार्यक्रममा एमाले केन्द्रीय सदस्य गोकुल बाँस्कोटाले केपी शर्मा ओलीले देशको भूभाग र राष्ट्रियता जोगाउन खेलेको भूमिका जनताले बिर्सन नसक्ने र राष्ट्रियता बचाउने हरेक सवालमा ओली नेतृत्व अडिग र प्रतिबद्ध रहेको बताए। 

एमाले तातेपछि अरू पनि सल्बलाए  

नयाँ दलहरूप्रतिको आकर्षण देखिएपछि पुराना दलहरू पनि जनतामा जान होडबाजी गर्न थालेका छन्। एमालेले मंसिरको १४ गते बैतडीको झुलाघाटबाट संकल्प यात्रा सुरु गरेपछि सुदूरपश्चिममा अरू दल पनि सल्बलाउन थालेका छन्। भारतको उत्तराखण्ड राज्यको पिथौरागढ जिल्लासँग जोडिएको बैतडीको झुलाघाटमा झन्डोत्तोलन गरेर एमाले अध्यक्ष ओलीले यात्राको शुभारम्भ गरेका थिए।

 null

राजनीतिक शास्त्रका उपप्राध्यापक देवराज अवस्थी भन्छन्, ‘पुराना दलहरूमा बल्ल जनतामाझ जानुपर्छ भन्ने भावना आएको छ। चुनावका बेलाबाहेक दलहरू गाउँमा जाने परम्परा थिएन। तर, एमालेले ‘मिसन ग्रास रुट र समृद्धिका लागि संकल्प यात्रा गरेर जनता भेट्ने काम गरेको छ। यो मिसन ८४ कै लागि हो।’ 

दलहरूमा अहिले जनताले जे पनि गर्न सक्छन्, उनीहरू अब भने कुनै एक दलको पेवा बनेर बस्दैनन् भन्ने भान हुन थालेको विश्लेषकहरू बताउँछन्। सुदूरपश्चिम विश्वविद्यालयका पूर्वरजिस्टार डाक्टर हेमराज पन्तको विचारमा पनि पुराना दलहरूमा नयाँ आइरहेका दलहरूले उछिन्ने डर पैदा भएको छ। डाक्टर पन्त भन्छन्, ‘२०७९ सालको स्थानीय निर्वाचनमा देखिएका केही स्वतन्त्र तथा युवा मेयरहरूको सक्रियता, आमचुनावमा आएको नयाँ शक्तिहरूको जनमत देखेर ठूला र पुराना दलहरूमा अर्को चुनावको चिन्ता लाग्न थालेको छ।’

एमालेले मिसन ग्रास रूटबाट सुरु गरेको जनता भेट्ने कार्यक्रम पछि नेकपा माओवादी केन्द्रले पनि ‘जनतासँग माओवादी, रूपान्तरण अभियान’ सञ्चालन गरेको छ। माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले मंसिर २२ गते कैलालीको धनगढी उपमहानगरपालिकालको वडा नम्बर १६ घसिटा भन्ने स्थानमा कार्यकर्ता भेलालाई सम्बोधन गरे।

 null

चुनाव जितेपछि सत्ताकै दाउमा लागि रहने र जनतामाझ नेताहरू नआउने जनताको व्यापक गुनासोपछि दलहरूले अहिले जनतामाझ जाने कार्यक्रमहरू सञ्चालन गरेको एमाले नेता लालबहादुर थापा बताउँछन्। थापा भन्छन्, ‘दलहरूलाई सानो ठूलो साइज बनाउने जनता नै हो, जनता माझ भोटका लागि मात्रै जाने होइन, जितेपछि पनि जनताका सुख–दुःख सुन्न जानुपर्छ।’ 

नयाँ शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि सुदूरपश्चिमको डडेलधुरा, बझाङलगायतका स्थानमा सभा, सम्मेलन गरिसकेको छ। संगठन विस्तार र जनतासँग जोडिन भन्दै रास्वपाले सुदूरपश्चिममा गतिविधि बढाएको छ राजनीतिक विश्लेषक शिवहरी मुडभरी भन्छन्, ‘यो दलहरूको मध्यावधि निर्वाचनको तयारी हो। अबको १ वर्षभित्रै सत्तापरिवर्तनको खेल सुरु भइहाल्छ। अहिले पो संविधानअनुसार सत्तापरिवर्तन गर्न पाइँदैन, २ वर्षको अवधि जान दिनुस्, देशमा सत्ता परिवर्तनका खेलहरू सुरु भइहाल्छन्।’ 

लक्ष्मण पोखरेल/बुटवल, कृष्णमणि बराल/पोखरा, शिवराज भट्ट /धनगढी, भरत खड्का/उदयपुर, रोजन तामाङ/काभ्रे 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.