अब जलवायु अनुकूलनको योजना बनाऔं
विश्वकै तेस्रो अग्लो हिमाल कञ्चनजंघा भएको जिल्ला हो ताप्लेजुङ। अनि, अन्य दर्जन पुग–नपुग हिमाल यसै जिल्लामा छन्। तमोर नदी त हिमाल पग्लिएर नै उत्पति भएको हो। यसै नदीको किनारमा धेरै बस्ती र बजारहरू छन्। यो सबै कुरालाई हेर्दा हिमाल, नदी र मानव एक आपसमा जोडिएर रहेको देखिन्छ र हो पनि। तर, पछिल्लो समय जलवायु परिवर्तनको असरका कारण हिमाल नांगिँदै गए। हिउँ पग्लिएर नदी बढिरहेका छन्। अनि, त्यहीँ नदीले नागरिकलाई विस्थापित गरिरहेको छ। हिमताल फुट्ने अवस्थामा पुगेका छन् । पछिल्लो समय ताप्लेजुङका स्थानीय जलवायु परिवर्तनको चपेटामा परेका छन्।
हाम्रो फक्ताङलुङ गाउँपालिका हिमालसँग जोडिएको गाउँपालिका हो। यहाँका नागरिक पछिल्लो समय हिमपातको फरक अवस्थाबाट आजित बनेका छन्। पर्नुपर्ने समयमा हिउँ पर्दैन र नसोचेको समयमा भारी हिमपात हुन्छ। यसले स्थानीयको दैनिकीमा नै असर गरेको छ। पशुधनमा क्षति पुर्याएको छ। समयमा पानी नपर्दा र परे मुसलधारे वर्षा हुँदा पहिरो र बाढीको जोखिममा पनि यहाँका नागरिक छन्। यो क्रम पछिल्लो समय तीव्र रूपमा बढेको छ।
केही समयअघि मात्रै अस्वाभाविक वर्षाका कारण ताप्लेजुङको केही गाउँपालिकामा बाढी पहिरोले ठूलो क्षति पुर्यायो । केही वर्षअघि नसोचेको समयमा हिमपात हुँदा चौंरी र याक पुरिए, कति त मरे पनि यसरी नजानिँदो रूपमा जलवायु परिवर्तनको असर जिल्लाले भोगिरहेको छ ।
जलवायु परिवर्तन गराउनमा हामी जस्ता हिमाली क्षेत्रका नागरिकले होइन, ठूला मुलुकहरूले मुख्य भूमिका खेलका छन्। तर, यसको असर निमुख हिमाली क्षेत्रका जनता ले भोगेका छन्। यो गम्भीर विषय हो। अहिले कोप–२८ चलिरहेको छ। यो विषय यहाँ उठ्नुपर्छ र, क्षति बेहोरेका नागरिकले क्षतिपूर्ति पाउनुपर्छ। हामी स्थानीय जनप्रतिनिधि जलवायु परिवर्तनको विषयमा सचेतना फैलाइरहेका छौं। सरकारले पनि अबको असर हेरेर नागरिकलाई सुरक्षित गर्नुपर्छ। अनि, जलवायु अनुकूलनको योजना ल्याउनुपर्छ। नत्र क्षति बढ्दै जान्छ। जलवायु परिवर्तनका विषयमा सबै सचेत बनौं।