जीर्णोद्धार पर्खिरहेको सभाहल
हेमनाथ खतिवडा/रसुवा : जिल्लामा जुनसुकै सार्वजनिक समारोह, सभा तथा भेला हुने सभाहल पुनर्निर्माण हुन सकेन। तत्कालीन राजादेखि मन्त्रीसम्म आउने कार्यक्रमहरू हुने गरेको पुरातात्विक सभाहल पुनर्निर्माण नहुँदा जीर्ण अवस्थामा छ।
सभाहल ०७२ वैशाखको भूकम्पका कारण भत्केको थियो। सदरमुकाम धुन्चेमा रहेको पुरातात्विक सभाहल पुनर्निर्माण त के जीर्णोद्धारसमेत नभएर बिजोक छ। धेरै सार्वजनिक कार्यक्रमहरू हुने गरेको पञ्चायतकालमा निर्माण भएको सभाहल निर्माण हुन नसकेको स्थानीय लामासम्देन घलेले बताए।
नेतृत्वमा रहनेहरूले प्राथमिकता नदिएकाले जीर्णोद्धार हुन नसकेको लामाले भने। नेताहरू निर्वाचन जितेपछि तलको काममा ध्यान नदिएकोले यस्तो नियति भोग्नु परेको युवा समाजसेवी दीपक लामाले बताए। भने, ‘पुनर्निर्माणमा कसैले ध्यान दिएनन् जीर्ण अवस्थामा रहेको सभाहल वरिपरि हिँडडुल गर्न पनि डरलाग्दो छ। ढुंगा खसेर साँझ, बिहान हिँड्ने कोही घाइते हुनसक्छ।’
पुरातात्विक महत्वको धुन्चे सभाहलपनि भूकम्प पछाडि जीर्ण अवस्थामा छ। गाउँमा सामाजिक रीतिरिवाज, संस्कृति सभा समारोह चलाउने धुन्चेको सभाहल ध्वस्त भएको हो। तत्कालीन राजा आउँदा वा स्वागत सत्कार गर्ने गरिएको यो सभाहल अहिले जीर्णोद्धारको पर्खाइमा छ।
परम्परागत कलात्मक शैलीको यो भवन ०२५ सालमा निर्माण भएको हो। त्यहाँ रहेको गजुर र कलात्मक बुट्टाहरू पाटनबाट झिकाइएका मूर्तिकारहरूले निर्माण गरेका थिए। यस्तो सांस्कृतिक धरोहरको संरक्षण गर्न ढिलाइ गर्न नहुने रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले बताए। ‘यस्ता सांस्कृतिक महत्वका संरचना तथा गुम्बा, मन्दिर पुनर्निर्माण चाँडै हुनुपर्छ’, उनले भने।
चार सय जना अटाउने क्षमताको हलको अग्रभागमा १२ बेड क्षमताका पाहुना कोठाहरू छन्। तत्कालीन राजादेखि सरकारी पाहुनाहरू यहाँँँ बस्ने गरेको मानवअधिकार संरक्षण मञ्चका जिल्ला अध्यक्ष ज्ञानेन्द्रनाथ न्यौपानेले सुनाए।
भत्केको भग्नावशेष पन्छाउन नसक्दा त्यहाँ पुग्ने मानिस पुरिनसक्ने जोखिम छ, पुनर्निर्माणको चासो कसैले नदिएकाले सभा समारोह गर्ने परम्परागत नाचगान तथा सांस्कृतिक कार्यक्रम, सभा, सम्मेलन गर्ने ठाउँको अभाव झेल्नु परेको स्थानीय सुननुर्प तामाङले भने। त्यस्तै नेपालकै पहिलो तामाङ संग्रहालय पनि पुनर्निर्माण हुन सके यहाँको संस्कृतिको जगेर्ना हुने स्थानीय निर्मलजंग शेर्पा बताउँछन्।
जिल्ला सभाबाट पास गरेर प्रदेश तथा संघीय सरकारमा अनुरोध गरेकोले धुन्चेमा रहेको सभाहलको भग्नावशेष पन्छाउने र पुनर्निर्माण चाँडै हुनेमा आशावदी रहेको र समन्वय गरेर आफूले पहल गर्ने जिल्ला समन्वय समिति रसुवाका प्रमुख अशोककुमार घिमिरेले बताए।