अमेरिकी राजनीतिमा नेपाली

राजनीति

अमेरिकी राजनीतिमा नेपाली

अमेरिकामा नेपालीहरू राजनीतिका माध्यमबाट जनताको सेवा गर्ने इच्छा गर्छन्। फाट्टफुट्ट गर्दागर्दै यो क्रम बढ्दो छ।

अमेरिकामा नेपालीहरू राजनीतिका माध्यमबाट जनताको सेवा गर्ने इच्छा गर्छन्। यसका उदाहरण फाट्टफुट्ट गर्दागर्दै बढ्दो देखिन्छ। यसको पछिल्लो एउटा खुड्किलो थियो, गत नोभेम्बर ७ मा अमेरिकामा भएको विभिन्न राज्यमा विभिन्न पद वा अन्य प्रयोजनको निर्वाचन। बिजोर वर्षमा हुने ‘अफ एअर इलेक्सन’ निर्वाचनमा स्थानीय सरकारमा नेपाली मूलका नयाँ अनुहार थपिए।

एउटै नगरमा दुई वडासदस्य। त्यो पनि अमेरिकाको तेस्रो सानो राज्य कनेटिकटमा। भयो के भने कनेटिकट राज्यको ब्य्रानफोर्ड नगरमा नेपाली मूलका दुई व्यक्तिले उम्मेदवारी दिए। दुवैले जिते। डेमोक्रेटिक पार्टीका तर्फबाट रामचन्द्र श्रेष्ठ र रिपब्लिकनका तर्फबाट चिरन न्यौपाने। कनेटिकट, अमेरिकाको एउटा उत्तरपूर्वी राज्य हो भने ब्यार्नफोर्ड, न्युयोर्कबाट करिब ७४ माइल उत्तरपूर्वमा छ। २८ हजार जनसंख्या भएको ब्यार्नफोर्डमा २ सयभन्दा बढी नेपाली परिवारको बसोबास छ। उक्त राज्य अमेरिकाको न्यु इंग्ल्यान्डका ६ राज्यमध्ये एक हो, जसमा रोड आइल्यान्ड, कनेटिकट, म्यासच्युसेटस्, न्यु ह्याम्सर, भर्मन्ट र मेन पर्छन्।

टेक्सस राज्यलाई छाड्ने हो भने न्यु इंग्ल्यान्डका ६ राज्यलगायत अमेरिकाको यो पूर्वी पाटोमा नेपालीको बसोबास उल्लेख्य छ। क्षेत्रफलका कुरा गर्ने हो भने टेक्सस, न्यु इंग्ल्यान्डका ६ राज्यको कुल क्षेत्रफलभन्दा १ लाख ९६ हजार ६ सय वर्गमाइल बढी (आकारमा ३.७३ गुणा) छ। पूरै अमेरिकाको जनगणना वितरणले पनि पूर्वमा घना आवादी देखाउँछ। अमेरिकालाई उत्तर—दक्षिण पारेर बीचमा आधा पार्नु हो भने यो मुलुकको ८० प्रतिशत जनसंख्या पूर्व (काल्पनिक) मा पर्ने आधा भागमा छ। अमेरिकाको जनसंख्या करिब ३३ करोडभन्दा बढी छ।

ब्यार्नफोर्डको शब्दावलीमा वडासदस्यलाई आरटीएम भनिन्छ, जसको पूरा अर्थ रिप्रजेन्टेटिभ टाउन मिटिङ हो। यस नगरमा ३० आरटीएम छन्। आरटीएम दुई वर्षका लागि चुनिन्छन्। यहाँ हुन्छ के भने कुनै आरटीएम कार्यकालको बीचमा पदबाट बाहिरियो भने निर्वाचन हुँदैन। उसकै दललाई एउटा प्रतिनिधि छानेर उक्त पदमा पठाउन भनिन्छ। सन् २०२१ मा आरटीएम पदमा निर्वाचित हुनुअघि रामचन्द्र श्रेष्ठलाई डेमोक्रेटिक पार्टीले छानेर रिक्त स्थानका लागि पठायो। त्यस वर्ष नोभेम्बर २ मा भएको श्रेष्ठ भए, अनि सन् २०२३ नोभेम्बर ७ मा पनि।

रिपब्लिकनका चिरन न्यौपाने पनि श्रेष्ठ झैं कार्यकालको बीचमा खाली भएको आरटीएम पद पूरा गर्न उक्त दलबाट छानिएर गए। अनि नोभेम्बर ७ मा निर्वाचित। दुवै आरटीएमसँग मैले छोटो अन्तर्वार्ता गर्ने अवसर पाएको थिएँ। अर्काे के पनि भइदियो भने चिरन मात्र यस्ता जनप्रतिनिधि भए, जो रिपब्लिकनका हुन्। यसअघि निर्वाचित नेपाली मूलका विभिन्न प्रतिनिधि सबै डेमोक्रेटिकका छन्।

कनेटिकटको ब्यार्नफोर्डबाट उत्तरपश्चिम करिब ८४ माइल पार गर्दा न्युयोर्क राज्यको १०३औं डिस्ट्रिक्ट पुगिन्छ, जहाँ सराह्रना श्रेष्ठ जनप्रतिनिधि छन्। उनी सन् २०२२ नोभेम्बरको मध्यावधिमा उक्त डिस्ट्रिक्टको एसेम्बलीमा निर्वाचित भएकी हुन्। उनी पनि डेमोक्रेटिकबाट विजयी भइन्। अमेरिकामा नेपाली मूलका जनप्रतिनिधिका कुरा गर्दा सराह्रना मात्र निर्वाचित महिला जनप्रतिनिधि हुन्। उनको डिस्ट्रिक्टमा करिब १ लाख ३४ हजार मानिस बस्छन्। न्युयोर्क आकारमा अमेरिकाको ठूलोबाट ३०औं राज्यमा पर्छ, जहाँ करिब १ करोड ९९ लाख मानिस बस्छन्।

डेमोक्रेटिकका अर्को विजयी हुन्, सन् २०१८ मा मेरिल्यान्ड राज्यको डिस्ट्रिक्ट ८ बाट निर्वाचित ह्यारी (एचबी) भण्डारी। भण्डारी सामाजिक सञ्जाललगायत अरू सञ्चार सहज भएपछि विजयी एक्लो जस्तो भए। त्यसैले उनको चर्चा बढी भयो। अमेरिकामा नेपालीभाषीको राजनीतिका कुरा गर्दा झट्ट उनकै नाम सम्झिन्छ। उनी सन् २०२२ नोभेम्बर ८ मा पुनः निर्वाचित भए। ह्यारीको डिस्ट्रिक्ट ८ मा १ लाख २८ हजार मानिस बस्छन्। करिब ६१ लाख ६७ हजार जनसंख्या भएको मेरिल्यान्ड राज्य नवौं सानो राज्य हो।

मेरिल्यान्ड राज्यकै इन्डियन हेड नगरका उपप्रमुख किरण (रोन) सिटौला। डेमोक्रेटिकका उनी सन् २०१५ मा उक्त नगरका उपप्रमुख निर्वाचित भए। सिटौला गत मे महिना तेस्रो कार्यकालका लागि निर्वाचित भए। चारवर्षे कार्यकाल गर्दागर्दै यतिका वर्ष पुर्‍याएका सिटौला उक्त पदमा नरहने इच्छा गरेका छन्। उनलाई अमेरिकामा सार्वजनिक पदमा निर्वाचित पहिलो नेपालीका रूपमा चिनिन्छ भने इन्डियन हेड नगरका लागि भने उनी अमेरिका नजन्मेको पहिलो निर्वाचित व्यक्ति पनि हुन्।

अमेरिका भर्जिनियाको हर्नडन नगर परिषद्को निर्वाचनमा प्रदीप ढकाल भएका थिए, सन् २०१८ नोभेम्बरमा। उक्त मध्यावधि निर्वाचनमा ६ जना काउन्सिल सदस्यको लागि चुनाव भएको थियो। ढकालले पाँचौं स्थान हासिल गर्दै विजय भएका थिए। स्वतन्त्र उम्मेद्ववार ढकाल पछिल्लो पटक सन् २०२२ नोभेम्बर ८ मा पुनः निर्वाचित भएका छन्। हर्नडन नगरमा अहिले २४ हजारको बसोबास छ। अमेरिकाको भर्जिनिया १४औं सानो राज्य हो, जहाँ करिब ८६ लाख ८४ हजार मानिस बस्छन्।

टेक्सस राज्यको युलेस सिटी काउन्सिल मेम्बरमा टीका पौडेल विजयी भएका थिए। उनी सन् २०२१ जुन महिनामा भएको निर्वाचनमा दुई वर्षका लागि सिटीको मेम्बर निर्वाचित भएका हुन्। टेक्सस राज्य, अमेरिकाको दोस्रो ठूलो राज्य हो, जहाँ करिब २ करोड ९३ लाख मानिस बस्छन्। पछिल्लो समयमा नेपालीले टेक्ससलाई मुख्य गन्तव्य बनाएका छन्। युलेस सिटीमा करिब ६१ हजार मानिस बस्छन्।

पौडेलको कार्यकाल सन् २०२४ मेसम्म छ। सन् २०२० को जनगणनाले नेपाली २ लाख १९ हजार ५ सय भने पनि नेपालबाट आएका आप्रवासीको अनौपचारिक संख्या ४ देखि ५ लाख भएको बताइन्छ।

नेपालीभाषी भनेर दोस्रो ठूलो समूहका रूपमा अमेरिकामा पुनस्र्थापित भुटानी शरणार्थीलाई चिनिन्छ। अमेरिकी सरकारले ९६ हजार २ सय १३ नेपालीभाषी भुटानीलाई सन् २००८ पछि बसोबास गराएको छ। यहाँका ४० भन्दा बढी राज्यमा बसाइए पनि उनीहरू पछिल्ला वर्षहरूमा पेन्सलभेनिया, ओहायो र केन्टकीमा बढी केन्द्रित छन्। दोस्रो बसाइँका रूपमा यी राज्य रोजेसँगै सन् २०१९ नोभेम्बरमा ओहायोमा बस्दै आएका भुवन प्याकुरेल त्यहाँको रेनोल्ड्सबर्ग सहरको वडा ३ को नगरपरिषद् सदस्यमा निर्वाचित भए।

ओहायो, अमेरिकाको १६औं सानो राज्य हो, जहाँ करिब १ करोड १९ लाख मानिस बस्छन्। रेनोल्ड्सबर्ग सहरको जनसंख्या करिब ४१ हजार छ। डेमोक्रेटिक पार्टीबाट विजयी प्याकुरेललाई अमेरिकामा सार्वजनिक पदमा निर्वाचित पहिलो भुटानीका रूपमा चिनिन्छ। यसरी अपत्यारिलो र धिमी गतिमा नेपाली मूलका आप्रवासी अमेरिकी राजनीतिमा उदाउँदै छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.