नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित
![नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित](https://annapurnapost.prixacdn.net/media/albums/Nepal111_W6UunJnqdJ_MXzCAThaei.jpg)
काठमाडौं : यु-१९ एसिया कपमा नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित भएको छ। दुबईको आइसीसी एकेडेमीमा शुक्रबार भएको पहिलो खेलमा नेपाल पराजित भएको हो।
नेपालले दिएको १५३ रनको लक्ष्य पाकिस्तानले २६.२ मा ३ विकेटको क्षतिमा पूरा गर्यो। पाकिस्तानका लागि अजान आविसले अविजित ५६ रन बनाए। त्यस्तै कप्तान साद बाग ५० रन बनाएर पेभेलियन फर्किएका थिए।
त्यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले ४७.२ ओभरमा अलआउट हुँदै १५२ रनमात्र बनाएको थियो।
नेपालका लागि उत्तम मगरले सर्वाधिक ५१ रन बनाए। ७६ बल खेलेका उनले ३ चौका र एक छक्कासहित अर्धशतक प्रहार गरेका हुन्। त्यस्तै दीपेश कँडेलले ३१ र अर्जुन कुमालले २१ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन्।
युवा टोलीका कप्तान देव खनाल शून्य रनमै आउट भए भने राष्ट्रिय टोलीको समेत प्रतिनिधित्व गर्दै आएका गुल्शन झा १ रनमै पेभेलियन फर्किएका थिए। नेपाललाई सस्तैमा आउट गर्न पाकिस्तानका मोहम्मद जिसानले सर्वाधिक ६ विकेट लिए। ९.२ ओभर बलिङ गरेका उनले १९ रनमात्र खर्चेका थिए।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)