गणित, विज्ञानका शिक्षक पाउनै मुस्किल
![गणित, विज्ञानका शिक्षक पाउनै मुस्किल](https://annapurnapost.prixacdn.net/media/albums/teacher_mRBgq7FOqZ_2ux5IVFKmG.jpg)
बैतडी : बैतडीमा १३३ वटा माध्यामिक तहका विद्यालयमध्ये ७२ विद्यालयमा मात्रै राहात र दरबन्दीका गणित र विज्ञान विषयका शिक्षक छन्। अन्यमा कोटा खाली छ। जसले गर्दा पठनपाठनमा समस्या हुनुका साथै शैक्षिक गुणस्तरमा पनि प्रभाव पर्ने गरेको छ।
बैतडीको सुर्नया गाउँपालिका–७ स्थित भुवनेश्वर माविमा शिक्षण सिकाइ अनुदानमा मावि तहका लागि गणित विज्ञानको शिक्षक राख्न भन्दै अनुमती दिएको छ। तर विद्यालयले नियुक्त गर्न सकेको छैन। पटक-पटक विज्ञापन आह्वान गर्दा पनि दर्खास्त नै नपरेपछि शिक्षक नियुक्त गर्न नसकिएको भुवनेश्वर माविका प्रधानाध्यापक नन्दराम अवस्थीले सुनाए।
‘एक जना शिक्षक नियुक्त गरेका थियौँ, उनले १ महिना काम नगर्दै अर्को ठाउँ गए, धेरै पटक विज्ञापन आह्वान गर्यौं, शिक्षक नियुक्त गर्न सकिरहेका छैनौं,’ उनले भने। मावि तहमा राहात तथा स्थायी शिक्षक सरह नै सेवा सुविधा रहेको अनुदान कोटामा समेत गणित विज्ञानका शिक्षक नपाएको प्रधानाध्यापक अवस्थीले बताए।
सुर्नया गाउँपालिकाका शिक्षा साखा प्रमुख टंकप्रशाद अवस्थीका अनुसार गाउँपालिकाका ३ वटा विद्यालयमा संघीय अनुदान कोटामा शिक्षक नियुक्त गर्न सकिएको छैन। वडा नं ४ को उदयदेव मावि पालिगडा, वडा नं ३ को भुवनेश्वर मावि गोयली र वडा नं ७ को भुवनेश्वर मावि पत्थरकोटमा पनि शिक्षण सिकाई अनुदानको लागि कोटा आएको भए पनि नियुक्त गर्न सकिएको छैन। ‘३ वर्षभन्दा बढी समय भैसक्यो, यी विद्यालयमा शिक्षक नियुक्त गरिएको छैन, पटक पटक विज्ञापन आह्वान गर्दा पनि शिक्षक नमिलेकै कारण नियुक्त गर्न सकिएन’, शिक्षा शाखा प्रमुख अवस्थीले भने।
पाटन नगरपालिका–७ को उदयदेव मावि किम्तोलीमा पनि ३ पटक विज्ञापन आह्वान गर्न समेत शिक्षक पाइएन। मावि तहको स्वीकृत दरबन्दीमा विज्ञान विषयको शिक्षक नियुक्त गर्नका लागि ३ पटक विज्ञापन आह्वान गर्दा पनि शिक्षक नपएर नियुक्त गर्न नसकिएको पाटन नगरपालिकाका निमित्त शिक्षा साखा प्रमुख बिर्खराज भट्टले बताए।
दोगडाकेदार गाउँपालिका–१ स्थित बेताल मावि गोरङमा मावि तहमा गणित विज्ञानका शिक्षक छैनन्। गाउँपालिकाबाट करारमा शिक्षक राख्न भनेपछि ३ पटक विज्ञापन आह्वान गर्दा पनि कसैको आवेदन परेन। अहिले निमावि स्तरमा अध्यापन गराइरहेका आइ.एस.सी. शिक्षकबाटै माथिल्लो कक्षामा अध्यापन गराउनु परिरहेको विद्यालयका प्रद्यानाध्यापक हिक्मतबहादुर बिष्टले बताए। ‘तीन पटक विज्ञापन आह्वान गर्यौं, केही कसैको आवेदन परेनन्,’ प्रअ विष्टले भने।
दोगडाकेदार गाउँपालिकाका ३ वटा माध्यामिक विद्यालयमा गणित विज्ञानका शिक्षक दरबन्दी नील छन्। यी प्रतिनिधिमुल उदाहरण मात्रै हुन्। बैतडीका अधिकांश जसो विद्यालयमा गणित विज्ञान विषयका शिक्षक छैनन्।
बैतडीमा १३३ वटा माध्यामिक तहका विद्यालय छन्। शिक्षा विकास तथा समन्वय इकाई बैतडीका अनुसार मावि तहमा ७२ जना मात्रै राहात र दरबन्दीका गणित विज्ञानका शिक्षक छन्। अन्यमा कोटा खाली छ। पालिकास्तरमा शिक्षण सिकाई अनुदानका लागि नियुक्त गर्न भन्दै छुट्टै कोटा दिए पनि त्यसबाट पनि पदपुर्ती हुन नसकेको सम्बन्धित पालिकाका शिक्षा साखाले जनाएको छ।
शिक्षक नियुक्तिको लागि अध्यापन अनुमतीपत्र अनिवार्य गरेको छ। तर विगतमा गणित विज्ञान बढेर प्रविणता पत्र वा स्नातक गरेकाहरुले अध्यापन अनुमति पत्रको परीक्षामा सामेल हुन पाउने व्यवस्था थिएन। यस वर्षदेखि भने गणित विज्ञान पढेकाले पनि अध्यापन अनुमतिपत्रको परीक्षामा सामेल हुन पाउने व्यवस्था गरिएको छ। शिक्षक अभाव हुनुमा गणित विज्ञान बढेकाहरुको संख्या कम हुनु र पढेकाहरु पनि लोकसेवाको तयारीमा रहने गरेका कारणले पालिकास्तरमा पनि शिक्षक नियुक्त गर्न समस्या हुने गरेको शिक्षा विकास तथा समन्वय इकाई बैतडीका सूचना अधिकारी पुष्करराज शर्माले जानकारी दिए। अध्यापन अनुमति पत्र आवश्यक रहेकाले पनि शिक्षकहरु नियुक्त गर्न नसकिएको उनको भनाइ छ।
गणित विज्ञानका शिक्षक अभाव हुँदा पढाइको गुणस्तर घट्ने गरेको छ। बैतडीमा गत वर्षको एसईई परीक्षामा जिल्लाभरीमा बी प्लससमेत कुनै पनि विद्यार्थीले ल्याउन सकेका थिएनन्। इकाइका अनुसार १८ सयबढीले गणित विषयको ग्रेडबृद्धिको परीक्षा दिएका थिए।
शिक्षक अभाव, गुणस्तर अभिवृद्धिमा चुनौती !
विद्यार्थीहरु गणित, विज्ञान र अंग्रेजी विषयमा कमजोर छन् भन्ने कुरा परीक्षाको नतिजाले देखाउने गरेको छ। यी विषयमा वर्षेनी ननग्रेड ल्याउने विद्यार्थीको संख्या बढ्दो रहेको पाइन्छ।
शिक्षक अभाव, पेशागत दक्षतामा अभिवृद्धि नहुनु लगायत विविध कारणले शैक्षिक गुणस्तरमा प्रभाव परेको देखिन्छ। सामुदायिक विद्यालयहरु गणितका शिक्षकहरुको उपलब्धता नहुनु, योज्ञता नपुगेका शिक्षकहरुबाट काम चलाउको रुपमा माथिल्लो कक्षामा अध्यापन गराउनु, प्रभावकारी शिक्षण सिकाई नहुनुका कारणले गणित, विज्ञानको स्तर खस्केको पाइन्छ।
पछिल्लो समयमा स्थानीय तहहरुले करारमा शिक्षक नियुक्त गरिरहेको छ। करारमा नियुक्त गरिने शिक्षकहरु बढीजसो गणित, विज्ञान र अंग्रेजीका छन्। तर न्युन पारीश्रमिकको कारण यी विषयका शिक्षक पाउन मुस्किल हुने गरेको छ।
‘मावि तहका शिक्षकहरुले ४२ हजार पारीश्रमिक पाइरहेका हुन्छन्, यहाँका पालिकाले करारमा नियुक्त गर्ने शिक्षकको पारीश्रमिक १५ हजार तोकेको छ, शिक्षक कसरी पढाउँछन् ?’ विद्यालय व्यवस्थापन समिति महासंघका केन्द्रीय उपाध्यक्ष प्रेम सिंह भाटले भने, ‘शिक्षकहरुको पारीश्रमिक सुनिश्चितता र पेशागत दक्षतामा अभिवृद्धिमा कार्यक्रम ल्याउनुपर्छ,’ केही ठाउँमा राम्रो अंक ल्याएर उत्तीर्ण भएका शिक्षकहरु पेशागत र गुणस्तरमा कामजोर देखिने गरेकाले पेशागत अभिवृद्धिमा ध्यान दिनुपर्ने भाटले बताए।
गणित विज्ञानको शिक्षण सिकाई अविभृद्धिका लागि अतिरिक्त कक्षा र समय छुट्याउनु पर्ने बैतडी शिक्षा क्याम्पसका क्याम्पस प्रमुख हर्कबहादुर चन्दले बताए। ‘गणित विषय अफ्ठ्यारो छ, विद्यार्थीको जग पनि बलियो छैन, पढाउने समय पनि अन्य विषय सरह नैछ', चन्दले भने, 'अन्य विषयभन्दा अफ्ठ्यारो विषय रहेकाले पढाउने समय पनि थपिनु पर्यो, केही अतिरिक्त गतिविधि पनि अपनाउनुपर्यो।’
गणित, विज्ञान विषयको सिकाइ उपलब्धी अभिवृद्धिका राज्यदेखि, विद्यालय परिवार, शिक्षक, विद्यार्थी र अभिभावकको सक्रिय भूमिका आवश्यक रहेको उनको भनाइ छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)