सिमरा विमानस्थलबाट पनि जहाजको इन्धन रिफ्युलिङ

सिमरा विमानस्थलबाट पनि जहाजको इन्धन रिफ्युलिङ
सुन्नुहोस्

सिमरा : काठमाडौंबाट छोटो दूरीमा रहेको सिमरा विमानस्थलमा आइतबारदेखि हवाई इन्धन रिफ्युल स्टेशन सञ्चालनमा आएको छ। 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले एक कार्यक्रमकाबीच स्टेशनको शुभारम्भ गरेका हुन्। सेवा प्रारम्भ भएसँगै अब सिमरा विमानस्थलमा अवतरण गर्ने विमानले आवश्यकता अनुसार इन्धन भर्न सक्नेछन्। 

देशकै पुरानो विमानस्थल भएपनि यसअघि इन्धन रिफ्युल सुविधा नहुँदा आपतकालीन अवतरण गर्नुपर्ने विमानलाई अन्यत्र पठाइने गरिएको थियो। काठमाडौंबाट छोटो दूरीमा रहे पनि इन्धन रिफ्युल गर्ने सुविधा नहुँदा मौसम र एयर ट्राफिकका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न नसकेका जहाज भैरहवा र विराटनगर डाइभर्ट गर्ने गरिएको थियो। 

अब भने काठमाडौंमा अवतरण गर्न नसकेका जहाजलाई १५ मिनेटको दूरीमा रहेको सिमरा पठाउन सहज भएको छ। इन्धन स्टेशन सुरु भएपछि हवाई यात्राको कनेक्टिभिटी र पहुँचलाई सुदृढ गर्नुका साथै उड्यन उद्योग र यात्रुलाई फाइदा पुग्ने निगमको भनाइ छ। 

जहाजमा इन्धन भर्न यतिबेला सिमरा विमानस्थलमा तीनवटा ट्यांकर राखिएको छ। जनकपुरबाट इन्धन भरेर आउने ट्यांकरले सिमरा विमानस्थलमा अवतरण भएका जहाजलाई इन्धन उपलब्ध गराउनेछ। ट्यांकर खाली भएमा पुनः जनकपुर पुगेर इन्धन भर्नेछ। १४ किलोमिटरको दूरीमा निगमको अमलेखगञ्ज डिपो भए पनि इन्धन भर्न ट्यांकर जनकपुर पुग्नेछन्। 

इन्धन रिफ्युल स्टेशन उद्घाटका क्रममा मन्त्री रिजालसहित मन्त्रालयका सचिव एवम् नेपाल आयल निगम सञ्चालक समिति अध्यक्ष नारायणप्रसाद शर्मा दुवाडी, जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेल लगायतको उपस्थिति रहेको थियो। 

यसअघि नेपाल आयल निगमको सिनामंगलस्थित हवाई इन्धन कार्यालयका प्रमुख प्रदीपकुमार यादव र सिमरा विमानस्थल कार्यालयका प्रमुख सूर्यबहादुर खत्रीले कात्तिक २२ गते इन्धन डिपो राख्न सम्झौता गरिसकेका छन्। 

सम्झौताअनुसार डिपो स्थापना गर्नका लागि नागरिक उड्डयन प्राधिकरण सिमराले पाँच कठ्ठा जमिन उपलब्ध गराउनेछ। सोही जमिनमा हवाई डिपो स्थापना गरिनेछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.