बृहत् दोलखा महोत्सव पुसमा
दोलखा : दोलखाको सदरमुकाम चरिकोटमा महोत्सव हुने भएको छ। आगामी पुस १३ देखि २२ गतेसम्म बृहत् दोलखा महोत्सव गर्न लागिएको हो।
'समृद्ध दोलखा,सुखी दोलखाली महोत्सव सफलताको अभियान चलाऔँ यसपाली सिङ्गो दोलखाको सान हो उत्सव हाम्रो महोत्सव राम्रो महोत्सव' भन्ने नाराका साथ उद्योग वाणिज्य संघ दोलखाले महोत्सव गर्न लागेको हो।
महोत्सवमा ८० हजारभन्दा बढी दर्शक आउने अनुमान गरिएको र करिब ७ करोडको कारोबार हुने संघ दोलखाका अध्यक्ष इन्द्रबहादुर श्रेष्ठले बताए।
जिल्लाको खस्किँदो कृषि, आर्थिक तथा पर्यटन क्षेत्रलाई उकास्ने साथै दोलखा जिल्लामा आन्तरिक तथा बाह्रय पर्यटक भित्र्याइ जिल्लालाई समृद्ध बनाउने उद्देश्य लिइएको छ। २०७७ सालमा महोत्सवको तयारी पूरा भएपनि कोभिडका कारण स्थगित भएको थियो।