निर्वाण कलेजले फुटबल खेलाडीलाई शैक्षिक छात्रवृत्ति प्रदान गर्ने
काठमाडौं : ललितपुरको निर्वाण कलेज र नेपाल फुटबल खेलाडी संघबीच विभिन्न ८ बुँदे सहमति भएका छन्। सहमती अन्तरगत कलेजले फुटबल खेल्ने विद्यार्थीहरुको लागि शैक्षिक छात्रवृत्ति प्रदान गर्ने जनाएको छ।
राष्ट्रिय र अन्तर्राष्ट्रिय ख्यातिप्राप्त शिक्षाविदहरूबाट शिक्षण र ब्यवस्थापन गरिएको निर्वाण स्कूल तथा कलेज एकै संस्थानभित्र प्ले ग्रुप देखि स्नातकोत्तर तहसम्म पठन पाठन गराइन्छ। अन्तर्राष्ट्रिय स्तरकै गुणस्तरको शिक्षा प्रदान गर्ने, अनुसन्धान केन्द्रित र नवप्रवर्तन उन्मुख यस शैक्षिक संस्थालाई दक्षीण एशियाकै शैक्षिक गन्तब्यको रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ ।
त्यसको लागि निर्माण स्कूल तथा कलेजले शैक्षिक पूर्वाधारमा व्यापक शुधार गर्नुका साथै, क्रिया कलापमा आधारित पठनपाठन, नविनतम प्रविधिको प्रयोग, अनुसन्धानको विस्तार र बिद्यार्थीको सेवामा विस्तार जस्ता क्रियाकलापलाई ध्यान दिइएको छ ।
राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका शैक्षिक संस्थान र विश्वविद्यालयसंग सम्बन्ध बिस्तार गर्नुका साथै अष्ट्रेलियाका केही विश्वविद्यालयसंग क्रेडिट ट्रान्सफरको सम्झौता भइ थप कामहरू अघि बढाइएको छ ।
निर्वाण कलेज र खेलाडी संघबीच भएको सहमति यस्ता छन्ः–
१. कलेजले शैक्षिक र खेल करियर एकैसाथ पछ्याउने क्षमता भएका फुटबल खेलाडीलाई शैक्षिक छात्रवृत्ति प्रदान गर्न कलेज र संघ सहकार्य गर्ने र फुटबल खेललाई समुदायभित्र प्रवर्द्धन र विकास गर्न सहकार्य गर्ने,
२. फुटबल प्रतियोगिता र कार्यक्रमहरु मिलेर आयोजना गर्ने,
३. एकअर्काको योगदानलाई उचित श्रेय दिँदै फुटबल गतिविधिहरुको बजारीकरण र प्रवर्द्ध नगर्ने । संघले कलेज गतिविधि प्रवर्द्धन गर्न डिजिटल प्लेट फर्ममार्फत सहयोग प्रदान गर्ने,
४. कलेजले विद्यार्थी खेलाडीको विकासको लागि कोचिङ, प्रशिक्षण सुविधाहरुमा पहुँच, शैक्षिक सहयोग र अन्य आवश्यक स्रोतहरू प्रदान गर्ने,
५. कलेजले उपलब्धता र पूर्वस्वीकृतिको अधिनमा रहेर संघलाई प्रशिक्षण सत्रहरू, खेलहरू र कार्यक्रमहरू सञ्चालन गर्नका लागि फुटबल मैदान, चेन्जिङ रूम, शटल सुविधा र अन्य आवश्यक पूर्वाधारहरूलगायतका खेलकुद सुविधाहरुमा पहुँच प्रदान गर्ने,
६. संघले स्कुल र कलेजका विद्यार्थीका लागि फुटबल कार्यक्रम, कोचिङ र प्रशिक्षणको विकासमा विशेषज्ञता, स्रोत र सहयोग उपलब्ध गराउने,
७. कलेजले चयन गरिएका खेलाडीको शिक्षाको लागि छात्रवृत्ति प्रदान गर्ने, जसमा ट्युसन, पुस्तकहरु, अन्य शैक्षिक खर्चहरु पारस्परिक सहमतिअनुसार समावेश हुन सक्छन् । कलेजले छात्रवृत्ति पाउनेलाई शैक्षिक मार्गदर्शन र अन्य सेवाहरु प्रदान गर्नेछ,
८. स्कुलले खेलाडीका छोराछोरीलाई विद्यालय शिक्षामा ५० प्रतिशत छात्रवृत्ति दिने ।