नेपालको विकासमा सघाउन भारत तयार छ : राजदूत श्रीवास्तव
काठमाडौं : भारत नेपाल सरकारसँग विकास सहकार्य गर्न तयार रहेको नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले बताएका छन्। शुक्रबार भएको भारतीय राजदूतावास र नेपाल सरकारको अर्थ मन्त्रालयको परियोजना पोर्टफोलियो कार्यसम्पादन समीक्षा बैठकमा राजदूत श्रीवास्तवले उक्त कुरा बताएका हुन्।
बैठकमा राजदूत श्रीवास्तवले भारतको नेपालसँगको बलियो विकास सहकार्यबारे जानकारी गराउनुका साथै भविष्यमा नेपाल सरकारले तोकेको प्राथमिकता अनुसार विकास सहकार्यमा नेपाललाई सघाउन र नेपाल सरकारसँग काम गर्न भारत सरकार प्रतिबद्ध रहेको बताए।
बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले भारत सरकारको विकास सहयोगको प्रशंसा गरेका छन्। नेपालको विकास प्रयासलाई अघि बढाउन भारत सरकारले खेलेको महत्वपूर्ण भूमिकाबारे उनले उल्लेख गरेका छन्। अर्थमन्त्री डा.महतलेले अन्य सम्भावित क्षेत्रमा पनि यो सहयोगलाई थप अभिवृद्धि गर्न नेपाल सरकार प्रतिबद्ध रहेको बताए।
बैठकमा विविध सहुलियतपूर्ण ऋण (लाइन अफ क्रेडिट) का साथै अनुदान सहयोगमा भारत–नेपाल विकास सहकार्य ढाँचा अन्तर्गत विभिन्न क्षेत्रमा सञ्चालन भइरहेका परियोजनाबारे दुई पक्षबीच छलफल भएको थियो । बैठकमा भारत र नेपालबीच भविष्यमा हुनसक्ने सहकार्यका सम्भावित क्षेत्रहरुबारे पनि छलफल भएको थियो जनाइएको छ।
परियोजना कार्यान्वयनमा संलग्न नेपाल सरकारका सम्बन्धित मन्त्रालय, विभाग एवम् निकायका प्रतिनिधिका साथै भारतीय राजदूतावासका सम्बन्धित अधिकारी तथा कर्मचारीको बैठकमा सहभागिता थियो ।