भोजपुरमा बालिका बलात्कार गरेर फरार भएका व्यक्ति ७ वर्षपछि पक्राउ

भोजपुरमा बालिका बलात्कार गरेर फरार भएका व्यक्ति ७ वर्षपछि पक्राउ

विराटनगर : भोजपुरमा बालिकालाई बलात्कार गरेर फरार भएका एकजना व्यक्ति ७ वर्षपछि पक्राउ परेका छन्। भोजपुरको रामप्रसाद राई गाउँपालिका-१ बैकुण्ठेका २६ वर्षीय सुन्दर राईलाई बुधबार पक्राउ गरिएको भोजपुर प्रहरी प्रमुख डीएसपी सुदीपराज पाठकले जानकारी दिए। 

उनका अनुसार राईलाई लुकिछिपी बसेको अवस्थामा रामप्रसाद राई-१ ओख्रेबाट पक्राउ गरिएको हो। राई २०७३ असोज १९ गते राति ८ वर्षीया बालिकालाई बलात्कार गरेर फरार भएका थिए। उनीविरुद्ध प्रहरीले जबरजस्ती करणी मुद्दा चलाएको थियो। घटनामा दोषी ठहर गर्दै २०७९ माघ १८ गते जिल्ला अदालत भोजपुरले उनलाई ५ वर्ष कैद सजायको फैसला गर्यो। तर,  अदालतले दोषी ठहर गरेपनि उनी सजाय भुक्तान नगरिकन लामो समयदेखि फरार भएका थिए। 

प्रहरीको खोजी सूचीमा रहेका राई अपराधमा संलग्न भएको ७ वर्षपछि पक्राउ परेका हुन्। पक्राउ परेका राईलाई अदालतमा बुझाउने तयारी प्रहरीको छ। प्रहरीले पेस गरेपछि अदालतले उनलाई सजाय भुक्तानका लागि कारागार चलान गर्ने छ।

यसअघि भोजपुर प्रहरीले कर्तव्य ज्यान मद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको थियो। हत्यामा संलग्न भएको ३४ वर्षपछि गत असोज ५ गते साल्पासिलिछो गाउँपालिका-५ (साविकको दोभाने गाविस-८)का ६७ वर्षीय चक्रबहादुर राई पक्राउ परेका हुन्। 

प्रहरीका अनुसार २०४६ साल कात्तिक १७ गते साविकको दोभाने-६ का २६ वर्षीय बद्रीकुमार राईको हत्या गरेर चक्रबहादुर फरार भएका थिए। दोभाने-७ का तत्कालीन वडाध्यक्ष रामनाथ राईको घरमा सुतिरहेका बेला खुकुरीले हानेर बद्रीकुमारको हत्या गरिएको थियो।

खुकुरीले उनको देब्रे हात छिनाउँदै उक्त हात नै लिएर चक्रबहादुर फरार भएका थिए। ३४ वर्षदेखि फरार रहेका उनलाई प्रहरीले सुनसरीको इटहरी उपमहानगरपालिका-२० तरहराबाट पक्राउ गरेको हो। 

अदालतले उनलाई २०६० साल जेठ २७ गते सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो। प्रहरीले पक्राउ गरेर बुझाएपछि अदालतले कैद सजाय भुक्तानका लागि कारागार चलान गरेको छ। 

डीएसपी पाठकले भोजपुरमा फरार प्रतिवादी पक्राउ अभियानलाई तीव्र पारेका छन्। उनी अढाई महिनाअघि प्रहरी प्रमुख भएर भोजपुर गएका हुन्। त्यसयता भोजपुरमा ४ जना फरार प्रतिवादी पक्राउ परिसकेका छन्। 

अदालतले दोषी ठहर गर्दै कैद र जरिवानाको फैसला गरेपनि अपराधमा संलग्नहरु सजाय  भुक्तान नगरिकन लामो समयदेखि भागिरहेका छन्। मुद्दाका पुराना फाइल खोलेर फरार प्रतिवादी पक्राउलाई प्राथमिकतामा राखिएको पाठकले बताए। 

उनका अनुसार अपराधमा संलग्नहरु सजाय भुक्तान नगरिकन खुलेआम हिँडडुल गर्दा अपराधबाट पीडित भएकाले न्यायको महसुस गर्न पाउँदैनन्। पीडितलाई न्याय दिन, कानुन कार्यान्वायन गर्न र अपराधीलाई कानुनको कठघरामा ल्याउन प्रहरी सक्रिय रहेको डीएसपी पाठकको भनाइ छ। 

पुराना अपराधमा संलग्नलाई कानुनको दायरामा ल्याउँदा समाजमा प्रहरीप्रतिको जनविश्वास बढ्ने र अपराध नियन्त्रण गरेर समाजमा शान्ति सुरक्षा कायम गर्न मद्दत पुग्ने उनले बताए। अपराधमा संलग्नलाई कारबाही गर्दा अपराधरहित समाज निर्माणमा सहयोग पुग्ने तथा प्रहरीको कामकारबाही पनि प्रभावकारी बन्ने पाठक बताउँछन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.