केपी ओली कप टी-ट्वेन्टी क्रिकेट : आर्मी र मधेस प्रदेश सेमिफाइनलमा
समूह ‘ए’ मा चार अंक बनाउँदै बागमती प्रदेश, समूह ‘बी’ मा दुई अंकका साथ एपीएफ क्लब र समूह ‘सी’मा दुई अंकका साथ मधेस प्रदेश र समूह ‘डी’मा चार अंक बटुल्दै त्रिभुवन आर्मीले अन्तिम चारको यात्रा तय गरेका गरेका हुन्।
पोखरा : विभागीय टोली त्रिभुवन आर्मी क्लब केपी ओली कप टीट्वेन्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। मंगलबार भएको खेलमा कोशी प्रदेशलाई ३९ रनले हराउँदै आर्मीले सेमिफाइनलमा स्थान बनाएको हो।
पोखरा रंगशालाको क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको आर्मीले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ८६ रन बनाएको थियो। जवाफी ब्याटिङ गरेको कोशीले १८.२ ओभरमा एक सय ४७ रन मात्रै बनाउन सक्यो। कोशीका सोनु अन्सारीले सर्वाधिक ४४ रन बनाए। समीर कार्कीले ३४, सुजन थपलियाले २१ र मिनाश थापाले १६ रन बनाए। आर्मीका सोमपाल कामी र विवेश यादवले दुई/दुई विकेट लिए। जितेन्द्र मुखिया, बसिर अहमद, साहब आलम र रोहित पौडेलले एक/एक विकेट हात पारे।
यसअघि पहिले ब्याटिङमा उत्रिएको आर्मीका लागि भीम सार्कीले ५६ रनको अर्धशतकीय पालि खेले। यस्तै सन्तोष कार्कीले पनि ५० रनको अर्धशतक बनाउँदा रोहित पौडेलले २३ र विनोद भण्डारीले १७ रनको योगदान दिए। कोशीका श्रवण यादवले तीन तथा कमल खत्रीले दुई विकेट लिए।
मंगलबार नै भएको अर्को खेलमा सुदूरपश्चिमले विभागीय टोली नेपाल पुलिस क्लबलाई चार विकेटले पराजित गर्यो। पुलिसले दिएको एक सय ५९ रनको लक्ष्य सुदूरपश्चिमले १८.४ ओभरमा ६ विकेटको क्षतिमा पूरा गरेको हो।
पुलिस हारेपछि मधेस प्रदेश सेमिफाइनलमा प्रवेश गरेको छ। मधेसले सुदूरपश्चिमाञ्चललाई आठ विकेटले पराजित गरेको थियो। पुलिसले मधेसलाई ५७ रनले हराएको थियो। रन रेटका आधारमा मधेसले सेमिफाइनलमा स्थान बनाएको हो।
छैटौं र सातौं नम्बरमा ब्याटिङमा उत्रिएका किरण ठगुन्ना र नरेन साउदले ९३ रनको साझेदारी गरेपछि सुदूरपश्चिमले जित सुनिश्चित गरेको हो। नरेनले ३९, ठगुन्नाले अविजित ५१ र नारायण जोशीले १७ रनको योगदान दिए। टस जितेर ब्याटिङ रोजेको पुलिसले कुशल भुर्तेलको अर्धशतकीय पालिमा एक सय ५८ रनको योगफल तयार पारेको थियो। भुर्तेलले ६७ रनको योगदान दिए। यस्तै सुनिल धमलाले ४२ र अर्जुन साउदले २० रन बनाए। सुदूरपश्चिमका विकास अग्रीले दुई विकेट लिए।
योसँगै समूह ‘ए’ मा चार अंक बनाउँदै बागमती प्रदेश, समूह ‘बी’ मा दुई अंकका साथ एपीएफ क्लब र समूह ‘सी’मा दुई अंकका साथ मधेस प्रदेश र समूह ‘डी’मा चार अंक बटुल्दै त्रिभुवन आर्मीले अन्तिम चारको यात्रा तय गरेका गरेका हुन्।