पाल्पामा पहिलो पटक गैरआवासीय नेपालीलाई नागरिकता
तानसेन : पाल्पामा पहिलो पटक गैरआवासीय नेपालीलाई नागरिकता प्रदान गरिएको छ। जिल्ला प्रशासन कार्यालय पाल्पाले मंगलबार तानसेन नगरपालिका-४ सिल्खानटोलका १९ वर्षीय फेलिक्स बज्राचार्यलाई गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरेको हो।
प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले बज्राचार्यलाई नागरिकता प्रदान गरे। बज्राचार्य विगत १८ वर्षदेखि आमा फ्रेडीरिके बुर्केट र बुवा सुमेध रत्न बज्राचार्यसँग जर्मनको कोनिगस्विन्टरामा बस्दै आएका छन्।
नेपाल नागरिकता तेस्रो संशोधन नियमावली, २०८० को अनुसूची ८ को 'ग' अन्तर्गत नागरिकता ऐन, २०६३ को दफा ७ क बमोजिम शर्त तथा अवस्था पूरा गरेकाले बज्राचार्यलाई नागरिकता प्रदान गरिएको हो।
बज्राचार्यले राजनीतिकबाहेक आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउने प्रजिअ बास्तोलाले बताए। गैरआवासीय नेपालीलाई नेपालमा कारोबार गर्न आर्थिक गतिविधि बढाउन, सहज होस भनी दुवै देशको नागरिकता, राहदानी मान्य हुने अधिकार स्वरूप गैरआवासीय नामको नागरिकता प्रदान गरेको हो।