केपी ओली कप टीट्वेन्टी क्रिकेट : आर्मीको विजयी सुरुवात

पोखरा : पोखरामा जारी केपी ओली कप टीट्वेन्टी क्रिकेट प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गरेको छ। सोमबार भएको खेलमा आर्मीले आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमीलाई एक सय १० रनले पराजित गरेको हो।
आर्मीले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ९५ रन बनाएको थियो। आर्मीका सन्तोष कार्कीले ४१, विनोद भण्डारीले ३८, कुशल मल्लले २५, बसिर अहमदले २३ र रोहित पौडेलले १२ रन बताए। आयोजकका मेहुल श्रेष्ठले दुई तथा शुभम खनालले एक विकेट लिए।
जवाफी ब्याटिङ गरेको आयोजक १५.४ ओभरमा ८५ रनमा समेटिएको थियो। आयोजकका निर्भिक पाठकले २८, रणवीर यादवले १६ र र रोनिम तिवारीले १५ रन बनाए। आर्मीका कुशल मल्लले तीन विकेट लिए। यस्तै जितेन्द्र मुखिया र साहब आलमले दुई/दुई तथा रोहित पौडेल र विवेक यादवले एक/एक विकेट हात पारे।
सोमबार नै भएको अर्को खेलमा मधेस प्रदेशले सुदूरपश्चिम प्रदेशलाई आठ विकेटले हरायो। पोखरा रंगशालामा सुदूरपश्चिमले दिएको ५८ रनको लक्ष्य मधेसले ४.४ ओभरमा दुई विकेट गुमाएर पूरा गरेको थियो। मधेसका अनिल साहले २५ तथा इमरान शेख र पवन सर्राफले समान १७ रन बनाए। सुदूरपश्चिमका गजेन्द्र बोहराले दुई विकेट लिए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम १५.५ ओभरमा ५८ रनमा समेटिएको थियो। सुदूरपश्चिमलाई सस्तोमै समेट्न हरिशंकर साहले चार तथा रुपेश सिंहले तीन विकेट लिएका थिए। सुदूरपश्चिमका नरेन साउदले १८ रन बनानु बाहेक अन्य खेलाडीले दाहोरो अंकमा रन बनाउन सकेनन्।
प्रतिक्रिया दिनुहोस !
