उन्‍नत गणतन्त्रको अपेक्षा

उन्‍नत गणतन्त्रको अपेक्षा

गणतन्त्रजस्तो उच्चतम् र सर्वमान्य शासन शैलीसँग राजतन्त्रको तुलना गर्न मिल्दैन।

राजतन्त्र एउटा परम्परा र प्रवृत्ति हो। जसले समाजका हरेक अंगमा ग्रहण लगाउँछ। यसको विशेषता भनेकै विधिको मर्यादालाई अपहरण गर्ने, पौरखभन्दा पुर्खाका कारणले योग्य सावित हुने, प्रक्रिया र मान्यताभन्दा राजाज्ञा सर्वोपरी हुने गर्छ। राजतन्त्र संसारकै सामन्तवादी व्यवस्था हो। उत्पादन प्रणाली मात्र सामन्तवादी नभएर व्यवहार र सोचसमेत सामन्तवादी हुन्छ। त्यसैले त यो व्यवस्थामा राजाको पहिलो छोरा जे जस्तो भए पनि राजा नै मान्नु पर्ने संस्कार विकास गरियो। राजालाई भूपति र जनतालाई भूदास मानियो। नेपालमा यो व्यवस्था २००७ सालदेखि धेरैथोर २०६३ सम्मै रह्यो। राजतन्त्र रामराज्यकै झल्को दिने थियो त ? वास्तविकता बुझ्न केही तथ्यको अध्ययन गर्नैपर्छ।

बेलायती उपनिवेशवादविरुद्धको अमेरिकी स्वतन्त्रता संग्राम र समानता, स्वतन्त्रता र भ्रातृत्वको नारासहित सामन्तवादविरुद्ध चलेको फ्रान्सेली राज्यक्रान्तिले यसको जग बसालेको हो। सामन्ती राज्य व्यवस्थामा राज्यसत्ताको आधार उत्पादन प्रणाली हो। राज्यसत्ताको दर्शन, सिद्धान्त, सरकार, सेना, प्रहरी प्रशासन, संविधान, अदालत जेल, सदन, राजनैतिक दल, शिक्षा, भाषा, धर्म, संस्कृति, साहित्य, कला आदि सबै अंगहरू आधार अनुकूल नै हुन्छन्। नेपालमा पनि त्यस्तै थियो। समृद्ध विश्वको जग विश्व सामन्तवादको संरचना भत्काएर मात्र सुरु भएको हो। सुशासनले नै मुलुकलाई समृद्ध बनाउने हो। सुशासनको अवधारणा सन १८२० तिर मात्र विश्व बैंकले ल्याएको हो। सुशासन, समृद्धि र विज्ञान प्रविधिको विकास मानव जातिको संघर्षशील इतिहासको ऐतिहासिक पुँजी हो। तर शासन नै नभएको सामन्तवादी व्यवस्थामा सुशासन, समृद्धि थिएन।

राजतन्त्रको २ सय ४० वर्षे इतिहासमा २००७ साल पछाडिको मात्र कुरा गर्दा पनि यसले नेपाली समाजमा कुनै ठोस योगदान दिएको पाइँदैन। उल्टै नेपाली जनताको त्याग र बलिदानीबाट प्राप्त प्रजातन्त्रलाई १० वर्षमै नष्ट गर्‍यो। बाह्य राष्ट्रियताका सन्दर्भमा न त नेपालमाथि लादिएका कुनै पनि असमान सन्धि सम्झौतलाई खारेज गर्न प्रयास गर्‍यो न त सुस्ता र कालापानी माथिको भारतीय हस्तक्षेपका विरुद्ध उभिन सक्यो। उल्टै पञ्चायती निरंकुशतालाई टिकाउन नेपालको सिमाना लिम्पियाधुराबाट लिपुलेकमा खुम्च्याउने राष्ट्रघाती हर्कतको मौन स्वीकृति दियो। राजतन्त्रले एक भाषा एक भेषमा आधारित शिक्षा नीति लादेर मधेसी, जनजाति र गैरखस नेपाली भाषीलाई अयोग्य र असक्षम सावित गरी किनारीकृत गर्‍यो। सत्ता र शक्तिलाई सीमित व्यक्ति र वर्गको हातमा सुम्पिएर जनतालाई नागरिक र अनागरिक बनायो। 

कथित सुधारिएको पञ्चायती व्यवस्थाले अन्धाधुन्ध खर्च गरेर देशमा गम्भीर वित्तीय घाटा बढ्यो। नेपालले वि.सं २०३९ देखि ४१ सम्म लगातार शोधान्तर घाटा व्यहोर्नु पर्‍यो। देश जटिल मुद्रा संकटमा फसेको थियो। त्यो बेला नेपालसँग पेट्रोलियम पदार्थ किन्नेसमेत पैसा थिएन भनेर विज्ञहरूले बताउँछन्। त्यसैले आर्थिक सहयोग लिन नेपालले अन्तर्राष्ट्रिय मुद्रा कोषलाई गुहार्न पुग्यो। आईएमएफले भुक्तानी सन्तुलन कायम गराउन वित्तीय घाटा घटाउने, मुद्राको अवमूल्यन गर्नुपर्ने, निजीकरण गर्नुपर्ने, विदेशी बैंकलाई नेपाल ल्याउनुपर्ने सर्तहरू तेस्र्यायो। नेपालले कुनै प्रतिवाद नगरी स्वीकार गर्‍यो। राजतन्त्रात्मक कालखण्डमा आधुनिक भूमि सुधार गरेर जनतालाई जमिनसँग जोड्ने शुद्धि कुनै राजाको पनि आएन। बरु बाहिरी पुँजीपतिलाई सीधै ल्याएर उद्योग खोल्न नेपाली जमिन हजारौं बिघाको हिसाबले वितरण गरियो। राजतन्त्रले राष्ट्रिय पुँजी होइन दलाल पुँजी निर्माण गरी देशलाई तन्नम गरिबीतिर धकेलेको थियो। मुग्लान गएर जीविका धान्ने नेपालीको परम्परा आजको होइन। बेरोजगारीकै कारण नेपालीहरू कतार प्रहरीमा सन १९८० तिरै भर्ना हुन पुगेका थिए। जताबाट हेरे पनि राजतन्त्र न सच्चा देशभक्त, न आन्तरिक एकताको सुदृढकर्ता न विकासकर्ता केही पनि देखिँदैन। यस्ता सयौं नीतिगत र व्यावहारिक कहालीलाग्दा अत्याचारको सूचीले भन्छ– नेपालमा राजतन्त्र आन्तरिक र बाह्य दुवै दृष्टिले राष्ट्रियताको प्रवर्धक र शान्तिको प्रतीक होइन। त्यसैले त विगतदेखि आजसम्मकै ठूलो बलिदानी जनताले राजतन्त्रसँग लड्दा गर्नुपर्‍यो। 

विश्व गणतन्त्रको इतिहास संघर्ष, बलिदान र क्रान्तिको उपज हो। नेपालमा पनि गणतन्त्र आकस्मिक प्राप्त भएको होइन। वि.सं २००७ देखि नै राजतन्त्र विवादित विषय बनेको थियो। त्यतिबेलै राजन्त्रको पक्ष र विपक्षमा राजनीति हुँदै आयो। दुर्गानन्द झाको राजा महेन्द्रमाथि भौतिक आक्रमणको संकल्प वा रामराजाप्रसाद सिंहको अहर्निमको सिंहनादले गणतन्त्रलाई धावा बोल्दै थियो। वंशाणुगत तवरले प्राप्त गर्ने राज्यसत्ताको बागडोर र त्यसबाट प्राप्त शक्ति, सौर्य र उन्मादमा निश्चित वर्गका जनताहरू सधैं शासित हुनुपर्ने नियति बदल्न पनि गणतन्त्र चाहिएको थियो। आजको समाजको नेतृत्व योग्य, सक्षम र विज्ञले गर्ने हो। यसको प्रवर्धन राजनैतिक प्रतिस्पर्धाले नै गर्छ। तर जनता कुनै पनि कमजोर शासकबाट शासित हुन चाहँदैनन्। त्यसैले ढिलाचाँडो संसारबाटै राजतन्त्रको अन्त्य निश्चित छ।

राजतन्त्रको वकालत गर्नेहरूले कुनै बेला जनविरोधी क्रियाकलापका राजनैतिक र प्रशासनिक कमान्डर थिए। जसले राजतन्त्रको बुइँ चढेर कुत, अकुत सम्पत्ति जोडेका छन्। राजतन्त्रको अन्त्य हुँदा १० वर्षको बालक आज २५ वर्षको भइसकेको छ। राजतन्त्रात्मक व्यवस्थाले दिएको क्रूर यातना र सास्तीको अनुभूति नभएका पुस्ताको ठूलो हिस्ता तयार भइसकेको छ। ती युवाहरू राजतन्त्रको निरंकुशता, ज्यादती र मनोमानी न त अनुभव गरेका छन् त न अध्ययन नै। यो पुस्ता दैनन्दिन जीविकाको समस्याबीच तडपिरहेको छ। गणतान्त्रिक शासकले त्यो पीडित पुस्तालाई राजतन्त्र र गणतन्त्रको गुणात्मक भेदबारे कुनै प्रशिक्षित गरेको छैन। यो अवस्थामा राजावादीहरू नयाँ पुस्ताका अगाडि झुटा तर्कमार्फत भ्रम छरिरहेका छन्। 

नेपाली समाज लामो समयसम्म सामन्तवादी सत्ता, व्यवहार र सोचाइले थिचेको थियो। त्यसैले युगसापेक्ष नयाँ बानी व्यवहारमा आफूलाई समायोजन गर्न सकेको छैन। गणतन्त्रका माहुतेहरूले सुशासन र समृद्धिको मार्गमा देशलाई अग्रगामी छलाङमा लैजान नसक्दा जनता निराश छन्। जनताले अपेक्षा गरेको समानता, समृद्धि र सुशासनको बलमा अग्रगामी रूपान्तरण थियो। नेपालले छिमेकी मुलुकका राष्ट्रपति डा. राजेन्द्रप्रसाद, डा. अब्दुल कलामबाट सिकेर गणतन्त्रलाई मर्यादित बनाउन सक्नुपथ्र्यो। तर त्यसो सकेन। केही स्वार्थ समूहका नाइकेहरूका कारण पनि सर्वसाधारणले गणतन्त्रको आभास महसुस गर्न पाएका छैनन्। शासकको अकर्मण्यताले जन्माएको निराशाको छालमाथि राजतन्त्रले दाइँ गर्न खोज्दैछ। वितृष्णामा टेकेर गणतन्त्रजस्तो उच्चतम र सर्वमान्य शासनशैलीसँग राजतन्त्रको तुलना गर्न मिल्दैन। लोकतन्त्रमा देखिएका समस्यालाई लोकतान्त्रिक विधिमार्फत समाधान खोजिनुपर्छ।

संघीय गणतन्त्रलाई आत्मसात् गर्नुको विकल्प छैन। गणतन्त्रको विकल्प उन्नत गणतन्त्र नै हो। अब सच्चा गणतन्त्रवादी शक्तिहरू र नागरिक समाजले उन्नत गणतन्त्रका लागि सशक्त हस्तक्षेप गर्नैपर्छ। जब व्यवस्था सुदृढ हुँदै जान्छ तब अवस्था पनि सदृढ हुँदै जाने हो। २ सय ४० वर्ष पुरानो राजतन्त्रले गर्न नसकेका विकास पन्ध्रवर्षे गणतन्त्रले गर्न नसक्दा ओठ लेप्य्राउनु पर्दैन। राजावादीहरू हौसिनु अस्थिर मनस्थितिको उपज हो। तर गणतन्त्रले सामाजिक, आर्थिक र राजनैतिक रूपान्तरणको खाका चाहिँ दिनैपर्छ। किनकि हामी कहाँ छौं ? यो सवाल होइन। हामी कता जान खोज्दैछौं ? सबाल यो हो।

सडकबाट राजतन्त्र फर्काउने दिवास्वना देख्नेले हेक्का राख्नुपर्छ कि सडकबाट क्रान्ति हुन्छ, प्रतिक्रान्ति होइन। क्रान्तिकारी जनताहरू जब सडकमा आउँछन् प्रतिक्रान्तिकारीहरू सडक छोडेर भाग्छन्। गणतन्त्र युगीन चेतनाको प्रतीक हो। युवाहरू परिवर्तनका वाहक हुन्। युवाबाट देशले अपेक्षा गर्ने युग सुहाउँदो चेतना, अग्रगामी सोच र कर्मशीलता हो। राजतन्त्र फर्किने कल्पना परिपक्व मस्तिष्कले गर्न सक्तैन।


 
गणतन्त्र युगीन चेतनाको प्रतीक हो। राजतन्त्र फर्किने कल्पना परिपक्व मस्तिष्कले गर्न सक्तैन।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.