आगलागीमा मृत्यु हुनेको संख्या ३ पुग्यो

आगलागीमा मृत्यु हुनेको संख्या ३ पुग्यो
सुन्नुहोस्

विराटनगर : मोरङको उर्लाबारी नगरपालिका–७ बरगाछीमा भएको आगलागीमा परेर मृत्यु हुनेको संख्या ३ पुगेको छ।

कात्तिक २६ गते लक्ष्मी पूजाको राति आगलागी हुँदा घाइते भएकामध्ये उर्लाबारी–७ का ४९ वर्षीय हेमकुमार दाहाल र ४२ वर्षीय कुमार तामाङको मृत्यु भएको छ। दाहालको बुधबार राति १०:३५ बजेतिर र तामाङको बिहीबार बिहान ६:२५ बजेतिर मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए। 

उनका अनुसार अनुहार, घाँटी, छात्ती, दुवै हात र खुट्टा जलेर गम्भीर घाइते भएका दुवै जनाको उपचारका क्रममा काठमाडौंस्थित कीर्तिपुर वर्न अस्पतालमा मृत्यु भएको हो। दाहाल र तामाङसगै उर्लाबारीको आगलागीमा परेर मृत्यु हुनेको संख्या ३ पुगेको छ। 

घाइतेमध्ये उर्लाबारी–७ का ४३ वर्षीय तपन पण्डितको गत मंगलबार बिहान कीर्तिपुर वर्न अस्पतालमै मृत्यु भएको थियो। प्रहरीका अनुसार दीपक कार्कीले घरमै सञ्चालन गरेको स्नेहा सुनचाँदी पसलबाट लक्ष्मी पूजाको राति १०:३० बजेतिर अचानक आगलागी सुरु भएको थियो। 

आगो निभाउन गएका ४ प्रहरी र २४ स्थानीय गरेर २८ जना घाइते भएका थिए। हाल २५ जना उपचाररत छन्। गम्भीर अवस्थाका ६ जनाको हाल कीर्तिपुर वर्न अस्पतालको आईसीयूमा उपचार भइरहेको प्रहरीले जनाएको छ। 

कार्कीको घरमा सुनचाँदी पसलसहित भायनेटको कार्यालय र नजिकै फर्निचर पसल पनि थियो। सुनचाँदी पसल तथा भायनेटको कार्यालयमा पूर्ण रूपमा र फर्निचरमा आंशिक क्षति भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार आगलागीबाट ३ करोड ४१ लाखको क्षति भएको थियो। 

आगलागीपछि घरभित्र पार्किङ गरेर राखेको बा ०१–०२५ च ६८४६ नम्बरको कार र ग्यास शिलिन्डर विष्फोट भएको थियो। आगलागी नियन्त्रणमा लिने क्रममा अचानक विष्फोट हुँदा आगो निभाउन खटिएकाहरु घाइते भएका थिए। आगलागीको कारण अझैसम्म खुल्न सकेको छैन। इलाका प्रहरी कार्यालय उर्लाबारीका इन्सपेक्टर देवेन्द्र दास नेतृत्वको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ। 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.