भिजन ऊर्जाको बाँडफाँट आज, पर्ने सम्भावना कति ?
काठमाडौं :भिजन लुम्बिनी ऊर्जा कम्पनीको आईपीओ बाँडफाँड आज हुने भएको छ। कात्तिक १६ देखि २० गतेसम्म आवेदन खुलेको आईपीओ बाँडफाँड मंगलबार बिहान ९ बजे नारायणचौर, नक्सालमा हुने भएको हो।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलका अनुसार आईपीओमा मागभन्दा साढे ६ गुणा बढी आवेदन परेको छ। आईपीओमा १ अर्ब ३५ करोड ७६ लाख १६ हजार रुपैयाँबराबरको १ करोड ३५ लाख ७६ हजार १ सय ६० कित्ताका लागि आवेदन परेको हो।
कम्पनीले २० लाख ७५ हजार २ सय ८५ कित्ताका लागि आवेदन खुलाएको थियो। कम्पनीले स्थानीय बासिन्दाले आवेदन नदिएको ४ लाख ८७ हजार ९ सय १० कित्ता सेयरसमेत थप गरेर सर्वसाधारणलाई आईपीओ जारी गरेको थियो।
सो आईपीओ २ लाख ७ हजार ५ सय २८ जनालाई कम्तीमा १० कित्ता पर्नेछ। तर, कुल ११ लाख ९४ हजार ८ सय २० जनाले आवेदन दिएका छन्। अर्थात् यो आईपीओ हरेक ५.७५ व्यक्तिमध्ये एक जनालाई पर्नेछ।
आईपीओलाई रेटिङ एजेन्सी इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले ‘आईआरएन डबल बी माइनस इस्युआर’ रेटिङ प्रदान गरेको छ। जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्छ।