नारायणहिटीमा आफ्नै वंश नाश गर्नेहरूले लोकतन्त्रवादीहरूसँग संस्कारको कुरा गर्न थाले : प्रधानमन्त्री दाहाल

नारायणहिटीमा आफ्नै वंश नाश गर्नेहरूले लोकतन्त्रवादीहरूसँग संस्कारको कुरा गर्न थाले : प्रधानमन्त्री दाहाल

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नै वंश नाश गर्नेहरू अहिले संस्कारको कुरा गर्न थालेको आरोप लगाएका छन्। गणतन्त्र र संघीयतालाई विरोध गरेर एकथरी मान्छेहरूले सामन्ती राजाको स्तुतीगान गरिरहेको उनले आरोप लगाए।

तनहुँमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले राजाको स्तुतीगान गर्नेहरूले नै अहिले गणतन्त्रविरोध कार्य गरिरहेको बताए। 'एकथरी मान्छेहरू हिजै गणतन्त्रविरोधी थिए। संघीयताविरोधी थिए। तिनै मान्छेहरूले ऐन बनाउन पनि नदिने, संघीयता काम छैन पनि भनिरहेका छन्,' प्रधानमन्त्री दाहालले भने, 'सामन्ती राजाहरूले दरबारभित्रै रगतको खोलो बगाएका होइनन्। कोतपर्व, भण्डारखाल गराएका होइनन्? आजकल तिनीहरूले नै संस्कारको कुरा गर्छन्। नारायणहिटीमा आफ्नै वंश नाश गर्नेहरूले संस्कारको कुरा गर्ने लोकतन्त्रवादीहरूलाई?।' 

प्रधानमन्त्री दाहालले गणतन्त्रविरोधी गतिविधि भएपछि राजनीतिक दलका नेताहरूसँग छलफल गरेको प्रस्ट्याए। त्यस छलफलमा नेताहरूले गणतन्त्रविरोधी हर्कतहरूलाई समाप्त पार्न ज्यान दिएर लाग्ने आश्वासन पाएको उनको भनाइ छ। 'के हामी टुलुटुलु हेरिबस्ने हो भनेर मैले केही दिनअघि सबै नेताहरूलाई बोलाएको थिएँ। त्यहाँ सबैले कमिटमेन्ट गर्नुभएको छ। त्यसविरुद्ध सडकमा जान तयार छौं भनेका छन्। प्रतिपक्षी दलका नेताले त झन् ज्यान छोडेर लाग्ने कुरा गर्नुभएको छ,' उनले भने।

उनले ठूलो संघर्षबाट लोकतान्त्रिक गणतन्त्र स्थापना भएको भन्दै उक्त व्यवस्था उल्टिन नसक्ने बताए। व्यवस्था परिवर्तनका निम्ति एकै दिन दुई सय जनासम्म मरेका कुरा नेपाली जनताले बिर्सिन नसक्ने उनको भनाइ छ। 

उनले संविधानले नै तीन तह सरकारको कल्पना गरेको भन्दै प्रदेश सरकारलाई अझै व्यवस्थित बनाउँदै लैजाने बताए। उनले प्रदेश बलियो बनाउनका लागि प्रहरी, निजामती र शिक्षा ऐन आवश्यक रहेको बताउँदै संसदमा ती विधेयकहरू छलफलका लागि लगिएको बताए। प्रदेश सरकारजस्तो अनुभूति हुन्छ भनेर जनतालाई प्रत्याभूति गराउन नसकिए त्यो प्रदेशजस्तो नहुने उनको भनाइ छ। 

उनले सरकार भत्काउने खेल सुरू भए पनि आफूले त्यो हुन नदिने बताए। गठबन्धन पाँच वर्षसम्मै जाने र कसैले हल्लाएर गठबन्धन नहल्लिने उनको भनाइ छ। 'गठबन्धनभित्र युनिटी दरो छ,' उनले भने। उनले आफूले गर्न केही नरहेको भन्दै जति दिन प्रधानमन्त्री भए पनि देशका लागि, सुशासन र समृद्धिका लागि लागिपर्ने बताए। 

उनले राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसको नेपालमा भ्रमणपछि पर्यटकको ओइरो लागेको बताए। आफ्नो प्रस्तुतीबाट प्रभावित भएर नेपाल आएका गुटेरेसको भ्रमणले विश्वमा राम्रो सन्देश गएको भन्दै उनले सरकारको कामप्रति गर्व गर्न जनतालाई आग्रह गरे।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.