अवसर पनि हो ‘छठ’

अवसर पनि हो ‘छठ’
फाइल तस्बिर।
सुन्नुहोस्

छठ पर्व नेपाल र भारतका उत्तरीय क्षेत्रमा हिन्दु धर्मावलम्बीले मनाउने एक महŒवपूर्ण पर्व हो। नेपालको विशेष रूपले तराई (मधेस) क्षेत्रमा श्रद्धा एवं भक्तिपूर्वक यो पर्व मनाइने भनिए पनि अहिले छठ नमनाइने सहर कमै होला। तिहार अर्थात् लक्ष्मीपूजाको छैटौं दिन छठ भनिए तापनि यो तिहारसँगै सुरु हुन्छ। भाइटीकाको भोलिपल्ट कार्तिक शुक्ल तृतीयाका दिन व्रतालुहरूले ‘अरबा–अरबाइन’ अर्थात् शुद्ध शाकाहारी खाने गर्छन्। कार्तिक शुक्लचौथीका दिन ‘नहाय–खाय’ विधिबाट पर्व सुरु गर्ने र पञ्चमी तिथिका दिन राति एक छाकमात्र अलिनो, विशेष प्रसाद खाएर ‘खरना’ गर्ने हुन्छ।

दिनभरि निराहार व्रत बस्ने महिला तथा पुरुषले निष्ठापूर्वक पवित्र जलाशयमा स्नान गरी बेलुका दूध, चामल र सक्खरको खीर पकाई प्रसादको रूपमा आफूले खाने र व्रत नबस्ने परिवारका सदस्यलाई पनि ख्वाउने चलन छ। जसलाई ‘खरना’ भनिन्छ। खरनाको साझमा खाएको प्रसाद पछि व्रतालुले भोलिपल्ट दिनभरि निराहार बसेर अस्ताउदो सूर्यलाई अर्घ दिने र पर्सिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर मात्र खान मिल्ने हुन्छ। त्यसैले पञ्चमीको दिनदेखि सप्तमीसम्म तीन दिन कठोर व्रत हुन्छ। यो पर्वमा सूर्यसँगैे षष्ठी तिथि पारेर माताको आराधना गरिने भएकाले यस पर्वको नाम नै ‘छठ’ भनिएको हो।

खासमा ‘षष्ठी’ तिथिकै स्मरण मैथिल जनजिब्रोले ‘छठी’ गर्न थालेकाले सूर्यकी पत्नी मानिने षष्ठीको आराधना सूर्यसँगै गरिएको मैथिल विद्वान्को भनाइ छ। नदीकिनार, पोखरी वा अन्य जलाशयमा षष्ठीमा अस्ताउँदो अनि सप्तमीमा उदाउँदो सूर्यलाई अर्घ दिएर मात्र व्रत सकिन्छ। व्रत सकिएपछि प्रसाद वितरण गरेर जलाशयबाट घर फर्किने हुन्छ। हरेक पर्वको आफ्नै मान्यता र कथाहरू हुन्छन्। पर्वमा अपनाइने विधि र पालना गर्ने नियमहरूले केही सिकाइरहेको हुन्छ। हाम्रा धर्म र संस्कृति धेरै वैज्ञानिक रहेका प्रमाणित हँुदै आएका छन्। छठले सिकाएका तथ्यहरूलाई आधुनिक विज्ञानले प्रमाणित गर्दै आएका देखिन्छन्। मानव स्वास्थ्यमा जनस्वास्थ्य तथा महामारीका अध्ययन गर्नेहरूका लागि ‘डा. जोन स्नो’ नयाँ नाम होइन। उनलाई आधुनिक महामारीका पिता (फादर अफ मोडर्न इपिडिमियोलोजी) का रूपमा लिइन्छ।

१९औं शताब्दीमा हैजा महामारीका कारणहरूबारे अनुसन्धान गरेका थिए। उनले अशुद्ध पानीका कारण हैजा फैलिएको कारण पत्ता लगाए र पानीलाई क्लोरिन हालेर सफा गरेर हैजा नियन्त्रण गर्न सहज बनाएका कारण नै आधुनिक महामारी विज्ञानका पिता बन्न सफल भए। उनले परिभाषित गरेको तथ्य अर्थात् ‘पानी फोहोर गरिनु हुन्न’ भन्ने पक्ष छठमा प्रयोग हँुदै आएका छन्। हाम्रो जलाशय सफा हुनुपर्छ, यहाँ मलमूत्र हुनु हुँदैन। यो पवित्र हुनुपर्छ, यसलाई सफा राख्न सिकाउँदै जलाशयबाट मात्र अर्घ लिने पवित्र पर्व हो छठ। यसले हामीलाई जनस्वास्थ्य बुझ्न र जलाशय अर्थात् पानीका मुहानहरू सफा राख्न प्रेरित गरेको छ। सूर्य अस्ताउने बेलामा खुल्ला ठाउँ अर्थात् जलाशयको किनारमा पुग्नु अनि सूर्य उदय अगाडि पनि खुल्ला ठाउँमा हुनुले स्वास्थ्यमा अनेक फाइदा पुग्छ भन्ने पनि अहिले धेरैले बुझेका छन्।

छठको अर्को पक्ष पनि छ। न धनी, न गरिब, न तल्लो जात, न त अछूत सबैको एउटै पूजा स्थल। असमानता र सामाजिक भेदभावरहित एउटै विधि र एकै स्थानमा मनाइने सम्भवतः एकमात्र चाड होला छठ। छठको प्रमुख पूजा भनेको षष्ठी तिथिमा निराहार व्रत बसेर साँझपख पवित्र जलाशयमा गई अस्ताउँदो सूर्यलाई अर्घ अर्थात् ‘सझुका अरख’ वा ‘सझिँया–घाट’ र सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अर्घ ‘भोरका अरख’ दिएर समापन गरिने हो। यो पर्वको मुख्य विधि अर्घ दिनु हो र यो अर्घ दिने काम घरमा नभई खोलानाला, ताल, तलाउ, पोखरी अर्थात् जलाशयमा घाट बनाएर दिने हो। गाउँमा रहेको जलाशय सबैको साझा हो। जसलाई सबै मिलेर सजाइन्छ जुन यसको विशेषता हो।

राजनीतिक दल, जात, वर्गमा विभाजित समाजमा ‘सबै मिलेर काम गर्नु’ आजको चुनौती हो। कोही ठूलो र कोही सानो नभई छठघाटमा सबै बराबरी र समान देखिन्छन्। वर्षभरि आआफ्नो घर र आफन्तहरूको माझमा चाडवाड मनाएका सबैलाई छठले समाज र टोलका सबै साथी घाटमा भेट्ने अनि भलाकुसारी गर्ने अवसर पनि दिएको हुन्छ। समाजमा मेलमिलाप र समानताको यसभन्दा ठूलो उदाहरण के हुन सक्छ ? त्यसैले छठलाई समाजशास्त्रको स्रोतभन्दा फरक नपर्ला। जनस्वास्थ्य र समाजशास्त्र जस्तै सफल जीवनका लागि अर्थ व्यवस्थापन महŒवपूर्ण छ। छठले यो बुझ्न पनि प्रेरित गरेको पाइन्छ। हुन त नेपालमा पटकाहरू प्रतिबन्धित छन्। तर पनि केटाकेटी तिहारदेखि नै पटका, चिरचिरी, चक्र, रकेट बमजस्ता प्रज्वनशील पदार्थहरू पाउँछन् र पट्काउँछन्।

आफूले तिहारमा पाएका ती पटका जोगाएर छठघाटमा पट्काउने गर्छन्। समान्य कुरा लागे पनि सानैमा ‘स्रोत व्यवस्थापन’ सिक्नु अर्थशास्त्रको महŒवपूर्ण सिकाइ हो। यतिमात्र होइन, छठमा चढाइने वा अर्घ दिइने प्रसादहरू बजारका रंगीचंगी मिठाई हँुदैनन्। घरमै घरका सदस्यले पकाएका ठेकुवा, भुसुवाजस्ता खानेकुरा हुन्छन्। बारीमा फलेका फलफूल केरा, नरिबल, भोगटे, मौसम, उखु अन्य जे छन् चढाइन्छ। बारीका साग, तरकारी चढाइने एकमात्र पर्व होला छठ। भान्टा, अदुवा, कागती, बेसार, काँक्रा आदि अर्घ दिने गरिन्छ। झट्ट हेर्दा यो सनमान्य लागे पनि ‘घरेलु उत्पादन’लाई महŒव दिनुपर्छ भन्ने सिद्धान्तको प्रतिपादन छठले गरेको छ।

हुन त आधुनिकताको प्रभाव छठमा नपरेको होइन। सबै मिलेर बनाउने घाट अहिले टेन्ट हाउसले सजाउन थालेका छन्। तर घाटमा हुने एकरूपता र समानता हराएको छैन। बारीमा फलफूल तथा तरकारी उत्पादन नभएर बजारको भर पर्नु परेको छ। तर घरका उत्पादनले पनि स्थान पाएका छन्। दसैंतिहार पनि नभेटिएका दौतरीसँग छठघाटमा भेट्ने अवसर जुरेको छ। घर अनि अफिसको बन्द कोठामा रुमलिएका व्यस्त व्यक्तित्वहरू घाटको खुल्ला हावामा रमाएका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.