धरोधर्म ! खाँदै खान्नँ

निबन्ध

धरोधर्म ! खाँदै खान्नँ

स-साना बालबालिकाले कखरा घोक्ने तरिका अझै पनि उस्तै सुन्छु– ‘क’ बाट कछुवा, ‘ख’ बाट खरायो, ‘ग’ बाट गमला, ‘घ’ बाट... यस्तै–यस्तै। कति लयात्मक तबरले पढ्छन् बालबालिका। मुन्टो हल्लाई हल्लाई। पानीका लहरहरू किनारसँग इत्रिए झैं साथीभाइसँग इत्रिँदै। तर आज म अलि फरक तबरमा सुन्दै छु – कखरा भट्याएको। घोर्ले स्वरमा।

‘छ’ बाट छोडें। ‘च’ बाट चुरोट। ‘र’ बाट रक्सी। छोडें माने छोडें। ‘छ’ बाट छोडें। वचनको पक्का। जमदारको नाति, सुब्दारको छोरा। म पनि पल्टनको लाहुरे भइनँ त के भो ? रगत–रगतमा छ इमान, जमान। बुझिस् ? आजबाट चटक्कै छोडें भनेपछि छोडें– ‘च’ बाट चुरोट। ‘र’ बाट रक्सी।
दोबाटोमा बसेर भट्याउँदै छ, ऊ। उसको नाउँ छ। सबैले जानेको नाउँ। यहाँ नलेखिकनै उसलाई ‘ऊ’ भन्दा सबैले चिन्छन्। एक बोतल खोयाबिर्के रक्सी र एक पाकेट फिल्टरबिनाको चुरोट नभई हुन्न उसलाई दिन र रात दुवै घचेट्न। ओखती मात्रै होइन, मन्द विषलाई पनि मानिस जिउने सहारा ठान्दछ ऊ।

दारु यस्तो रासायनिक अभिक्रियाबाट निर्मित तरल पदार्थ हो, जसको सेवनपछि मानिस साहसिक काम पनि गर्न सक्छ, जुन विरलै अरूले गरेका होलान्। बाटोमुनिको सिस्नुको झ्याङ्मा झ्वाम्म हाम फालिदिन्छ, काउसोको लहरामा तुर्लुङ्ग झुन्डिन्छ, कोसा झैं। अरूले सक्छ ? एउटा नयनले कुनै वस्तुलाई दुइटा देख्छ, दुइटा नयनले त्यही वस्तुलाई दसओटा देख्छ। गणितको नियम फेल। लेनक्रसको नियम यिनलाई पनि लागू हुने भए पाइलैपिच्छे चिट काट्थे ट्राफिक पुलिसले। सवारीसाधनलाई त मापसे लगाएकै छ, राम्रो। यिनलाई पनि खुलपसे लगाउला कि कुनै दिन ? खुलपसे याने कि खुट्टा लर्बराउने पदार्थ सेवन। लेक चढे पनि उस्तै, बेंसी झरे पनि उस्तै। दिनमा 
पनि उस्तै, रातमा पनि उस्तै। प्रकृतिले पनि विरक्त मान्दै भन्दो हो – यही एउटासँग सकिनँ।
भैगो उतै फर्कौं, उसैका कुरा गरौं।

ऊ ढुंगेधारा गयो र पवित्र हुनलाई लुगैसित धारोमा थापियो। अलिअलि रातिको ह्याङ्ओभर झर्‍योहोला। न राता आँखा पखालिए, न त मुखको हस्को पखालियो। पिलन्धरे ज्यान तङ्ग्रिने कुरै भएन। बरु जाडोले अलिअलि लुगलुगाउन थाल्यो। सडकको पेटीमा लमतन्न परेर विश्राम गर्दाको मैलो अलिअलि बग्यो, बाँकी स्थायी जागिरे झैं निर्धक्कले टाँसिइरह्यो। धारामा थापिँदैमा सारा मयल र कुकृत्यहरू पखालिएर पवित्र होइने भए ढुंगेधारामा मानिसको लर्को लाग्थ्यो। उसको वर्णन उतार्न धेरै मुस्किल छ। दोबाटोमा एउटा रित्तो बोतल ठड्यायो। दुईचार खिली चुरोटसहितको बट्टा पनि राख्यो। अक्षता र धुप टक्र्यायो। यताउता पूmल खोज्यो। भेटेन। पातीका मुन्टा चिमोट्यो। र ईश्वर सम्झेर त्यही बोतललाई चढायो।

‘लौ प्रभु, भरोसा गर। हे उग्रतारा, हे स्वर्गद्वारी, सुपा देउराली, हे मुक्तिनाथ, मनकामना माई, दक्षिणकाली, कालिञ्चोक भगवती, चुरिया माई, गढी माई, जानकी माते, हे पाथीभरा, पशुपतिनाथ, मच्छिन्द्रनाथ ! हे तेत्तीस कोटी देवताहरू, आजदेखि छोडें। यो रक्सी अनि यो चुरोट। छुँदै छुन्न। मबाट यो गल्ती फेरि हुँदै हुन्न। भगवान् भएपछि हामीजस्ता पाती चढाउनेलाई पनि भरोसा गर्नुपर्छ। कति भेटी र नैवेद्यमा मात्रै आँखा गाड्छौ हँ ?’ अलिअलि भगवान्लाई थर्कायो पनि। भगवान्को पनि त जागिर व्यापार केही छैन। फूलपाती मात्रै सिउरेर बस्ने ? भगवान्लाई समेत थर्काउन सक्ने हुनाले रक्सी खानु जरुरी ठान्थ्यो ऊ।

छेउमै उभिएकी सानी छोरीलाई टीका लगाइदियो। लछप्पै भिजेर आङमै टाँसिएका लुगाका गोजीमा जसोतसो हात छिरायो, भिजेको एउटा नोट छोरीलाई दक्षिणा दियो। बल्लतल्ल निहुरेर छोरीका पाउमा ढोग्यो अनि अँगालोमा बाँधेर रुँदै बाचा गर्‍यो, ‘खान्नँ छोरी, अब तिम्रो बाबाले रक्सी पनि खान्नँ, चुरोट पनि खान्न। छोरीलाई धेरै माया गर्छु। अब त आमालाई पनि माया गर्छु। तिमीले पत्याइनौ ? यी हेर... !’ भन्दै जाइलाग्यो चुरोटको पाकेटमाथि।
 

लात्तैलात्ताले कुल्चिँदै र थुक्दै भन्न थाल्यो, ‘लौ खा पाजी ! तेरा दिन गए अब। मरिगए खाउँला तलाईं ? तेरो सत्यानाश होस्। उठीबास लागोस्।’ भएभरिको रिस घोप्टाउन थाल्यो।

वास्तवमा उसले आफैंलाई कुल्चिँदै थियो, धुलोपीठो पार्दै थियो। सबै नशालु पदार्थहरू कनक जस्तै हुन्। खायो अनि अभयशंकर भएर मस्त लड्यो।
तमासेहरूको भीडलाई छिचोल्दै अर्को अभयशंकर हरिबोधनीको लिंगो झैं मस्त हल्लिँदै छेउमै पुग्यो। ‘अहो मित्र ! छोडेको ? छोड, छोड। छोड्नै पर्छ। हेर कति सजिलो छ, छोड्न ? मैले त धेरैचोटि छोडिसकें। अब एकचोटि फेरि छोड्ने हो। रक्सी खायो ‘लिभर’ स्वाहा ! चुरोट खायो फोक्सो स्वाहा ! अनि त्यो पित्तमात्रै लिएर कसरी बाँच्नु हौ ? लौ मित्र, छोडेकोमा तिमीलाई बधाई छ।’

रक्सीले मातेका मान्छेहरू भावनामा बग्न सक्ने, सिर्जनशील, आत्माभिमानी, राष्ट्रभक्त, परोपकारी हुन्छन् केहीबेरका लागि– नउत्रिउन्जेल– दौलतको नशाले मातेकाभन्दा ठीकविपरीत। पिउनेहरू अत्यन्त सिद्धान्तनिष्ठ हुन्छन्– आदर्शवादी। नगदमा कहिल्यै कारोबार गर्दैनन्। सधैं उधारो। नशा चढेका बेला उधारो फिर्ता माग्यो भने च्यापु फुस्काउन बेर लगाउँदैनन्। ‘नाथे तेरो एक गिलास रक्सी उधारो खाएर भाग्छु भन्ठानिस् ? घरको नक्सा देखाइदिऊँ कि खेतको लालपुर्जा ?’ बुरुक्क उफ्रिन्छ ऊ। रक्सीको झोल र चुरोटको धुवाँले अनन्तको लोकमा लगेर थोरैबेर सुरम्य बनाइदिन्छ जीवन। फर्किने बेलामा विनाश–पथबाहेक अगाडि केही हुन्न।

वास्तविक भुइँमान्छे भनेको दारुवाला नै हो। उसको जीवन कति सादगीपूर्ण हुन्छ। जाडोको लुगा गर्मीमा – नो मतलव। गर्मीको लुगा जाडोमा– नो मतलब। अलिकति उध्रिएको, कतै च्यातिएको, थोरैथोरै मैलिएको, दुई–तीनओटा टाँक चुँडिएको, जिपर बिग्रिएको– नो मतलब। लुगाको रीत यस्तै हो। स्कच्, जनी वाकर, रेड लेबल, ब्ल्याक लेबल, ब्लु लेबल, यो लेबल, त्यो लेबल... यस्ता विदेशी आडम्बर केही छैन। स्टिलको गिलासमा टोलछिमेकमै बनेको एकपाने, दुईपाने, तीनपाने... जुन भेटायो त्यही खाने। शुद्धताको ग्यारेन्टी छ। आगो बालेर देखाइदिन्छन्। भित्र पुगेर ज्वालामुखी नै किन नदन्कियोस्।

सितनको पनि टन्टो छैन... टिटबिट्स। जोहो गरेरै आएका हुन्छन्। एउटा खल्तीमा प्याजको डल्लो, अर्को खल्तीमा एउटा ढेंडी खुर्सानी। एउटा टोकेर हा... गर्दा नाकबाट धुवाँ निस्किन्छ, अर्को टोकेर हा... गर्दा कानबाट धुवाँ निस्किन्छ। यिनले आनन्द लिएको देखेर ईष्र्या गर्नु व्यर्थ छ। धेरै कष्टपूर्ण छ, त्यो आनन्दसम्मको यात्रा।
हाम्रो गाउँको कान्छादाइ मातेपछि अंग्रेजी गीत गाउँदै हिँड्थ्यो, जुन गीत उसले कहिल्यै सुनेको थिएन। सबैलाई अंग्रेजीमै गाली गथ्र्याे, जसको अर्थ उसले बाँचुन्जेल बुझेन।

यता फेरि। अब कसरी अडिएला आफ्नो वचनमा ऊ ?
खान्नँ भनेर वाचा गरेकालाई पनि खानै पर्ने धेरै बाध्यात्मक अवस्था आइलाग्छन्, बिचरा। नयाँ वर्षमा एकदिन त हो, वर्षमा एकचोटि, साथीभाइको मन राख्न खान्छन्। अंग्रेजी नयाँ वर्षलाई पनि पराई कसरी भन्ने ? वसुधैव कुटुम्बकम्। मानिदिनै पर्‍यो। खान्छन्। विभिन्न जातजातिका चाडपर्व छन्। राष्ट्रकै सांस्कृतिक पहिचान झल्किने पर्व छन्। जातीय र सांस्कृतिक एकता बलियो पार्नुपर्छ।

पर्व घरिघरि कहाँ आउँछ र ? खान्छन्। व्रतबन्धको भोज, इंगेजमेन्टको भोज, बिहेको  भोज। अचेल त बर्थडे र एनिभर्सरीको जमाना, त्यसकै भोज। बोलाउँछन् जानै पर्‍यो। गएपछि थोरै त यसो खानै पर्‍यो। हाम्रो खुसीको पलमा रमाउन चाहेन भन्लान्। मन राख्न पनि खानै पर्‍यो। खुसी हुँदा खुसी उम्किएला भनेर खान्छन्, दुःखी हुँदा दुःख धेरै बिझाउला कि भनेर खान्छन्। विजयमा खाइदिनै पर्‍यो, पराजय सहन पनि खान पर्‍यो। टेन्सन हुँदा खानै पर्‍यो। अरू बेला त पटक्कै नखाने वाचा गरेका छन्।
यस्तै एउटा जमघटमा मेरा नातेदारले भन्नुभयो, ‘म त हजुर हवाईजहाजमा मात्रै खान्छु। किनकि, नखाने वाचा भुइँमा गरेको हो, आकाशमा होइन नि ? भुइँमा झरेपछि त पटक्कै खाँदै खान्न।’

रक्सी चुरोट खानेहरूले परिवार र शुभचिन्तकहरूलाई आश्वस्त पार्ने तरिका लगभग सबैका मिल्दाजुल्दा हुन्छन्। ‘अब हप्तामा दुई दिन मात्रै खान्छु। स्मल पेग बनाएर बरु पञ्चामृत झैं सुरुप्प पार्छु। भोजहरूमा मात्रै खान्छु। चुरोट पनि दिनको दुई खिलीमा झार्छु, भाँचेर आधीआधी खान्छु। दुई पफ मात्रै लिन्छु। अनि छोड्छु।’

अब छोड्ने वाचा पनि झन् गजबका। साहुको ऋण तिर्न भाका मागेजस्तै। ‘वैशाख त टर्नै लाग्यो, साउन महिनाबाट शिवजीका नाउँमा छोड्छु। भाइटीकाका दिन बहिनीलाई साक्षी राखेर छोड्छु। तिहारमै त के छोड्नु ? माघेसंक्रान्तिमा पक्का छोड्छु। ढुक्क भए हुन्छ, नयाँ वर्षदेखि छोड्छु। भइहाल्यो, बर्थ डे रिजोलुसन बनाएर छोडुँला। काशी जाँदा गंगामा हात चोबेर छोडुँला।’ राम राम राम ! भाका सरेको सर्‍यै।
उसले भने तेत्तीस कोटी देवतालाई सम्झेर ‘द’ बाट दारु, ‘र’ बाट रक्सी, ‘च’ बाट चुरोट, ‘स’ बाट सिगरेट, ‘ख’ बाट खैनी, ‘स’ बाट सुर्तीसमेत सबै त छोड्यो। च्याट्टै छोड्यो एकैपल्टमा। भरोसा दिलायो सबैलाई सुब्दारको छोराले।

एक दिन, साँझपख, घरघरमा बत्ती बलिसकेका बेला, मन्दिरमा घण्टी बजिसकेपछि ... ऊ अचानक भेटियो बाटोमा। औंलामा चुरोट च्यापेर, लर्खरिएका गोडाले बाटोका दुई छेउको दूरी नाप्दै सामुन्ने उभिन खोज्यो ऊ ठुस्स गनाउँदै। बिन्ती भावमा बोल्न थाल्यो, ‘माफ पाऊँ ! आज अलिकति खाएँ। खानैपर्ने परिस्थिति आइलाग्यो। म बिचरो ! गौप्राणी। जिन्दगीभर भट्टीपसलबाहेक कतै गइनँ।

भट्टीका मित्रहरू सबै छुटे। एक्लै–एक्लै भएँ म। यस्तो एक्लै जिउन त कुटीमा गएर बसे भइहाल्यो नि। आज मित्रताको छिनेको धागो जोड्न अलिकति खाएँ। बरु आफ्नो पित्त फाटोस्, मित्रहरूको चित्त नफाटोस्। धरोधर्म ! भोलिदेखि कहिल्यै खान्नँ। ‘र’ बाट रक्सी, ‘च’ बाट चुरोट, ‘छ’ बाट छोडें। छोडें भनेपछि छोडें। सुब्दारको छोराले कहिल्यै ढाँट्दैन। यो मेरो वाचा भयो।’
इति !

अहो मित्र ! छोडेको ? छोड, छोड। छोड्नै पर्छ। हेर कति सजिलो छ, छोड्न ? मैले त धेरैचोटि छोडिसकें। अब एकचोटि फेरि छोड्ने हो।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.