पानीमा विपद् : तयार छन् सशस्त्रका ९२ गोताखोर
विराटनगर : पानीभित्र गहिराइमा पुगेर खोज तथा उद्धार गर्ने उपकरणसहितको विशिष्ट तालिमप्राप्त जनशक्ति गोताखोर उत्पादनमा सशस्त्र प्रहरीले फड्को मार्दै गएको छ । हाल सशस्त्र प्रहरीको गोताखोर संख्या ९२ पुगेको छ ।
सशस्त्रसँग यसअघि ७४ जना गोताखोर थिए । सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनी पकली सुनसरीले गरेको पछिल्लो तालिमबाट १८ जना थप भएका छन् । विपद्,खोज तथा उद्धार कार्यका लागि विशिष्टकृत मानिने तालिम दिएर नयाँ जनशक्ति उत्पादन भएसँगै सशस्त्र प्रहरीको गोताखोर संख्या ९२ पुगेको हो ।
कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयसँगको समन्वय एवं सहकार्यमा भदौदेखि सञ्चालित पछिल्लो तालिममा सशस्त्र प्रहरीका १८ जना र नेपाल प्रहरीका २ जना गरेर २० जना प्रशिक्षार्थीहरु सहभागी भएका थिए । नेपाल प्रहरीमा यसअघि १ जना गोताखोर थिए । २ जना थप भएसँगै अब भने ३ जना पुगेका छन् ।
सशस्त्र प्रहरी बल कोशी प्रदेशका प्रमुख डीआईजी अन्जनीकुमार पोखरेलका अनुसार विपद्का बेला उद्धारलाई प्रभावकारी बनाउन मद्धत पुग्ने महत्वपूर्ण तालिमबाट नयाँ जनशक्ति उत्पादन भएसँगै नेपालमा गोताखोरको संख्या बढेको छ । विपद् प्रतिकार्य क्षमता अभिवृद्धिका लागि दक्ष जनशक्ति निर्माणमा प्रदेश सरकारसँग समन्वय र सहकार्य जारी रहने उनको भनाइ छ ।
सप्तकोसी नदी र फेवा तालमा अभ्यास गर्दै खोज तथा उद्धार सम्बन्धी शैद्धान्तिक तथा व्यवहारिक विषयमा प्रशिक्षण दिएर ३६ दिनसम्म तालिम सञ्चालन गरी थप जनशक्ति तयार गरिएको डीआईजी पोखरेलले बताए । उदयपुरको बेलका नगरपालिका–८ स्थित सप्तकोसी नदीमा विपद्, खोज तथा उद्धार अभ्यास (डेमो) प्रदर्शनसहित शुक्रबार गोताखोर तालिमको समापन गरिएको थियो ।
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको प्रमुख आतिथ्यमा तालिमको समापनहुँदा प्रदेशका मन्त्री, स्थानीय सरकारका प्रमुखहरु, सुनसरी, मोरङ, उदयपुर र सप्तरीका प्रमुख जिल्ला अधिकारी, प्रदेश तथा जिल्लास्थित सुरक्षा प्रमुखहरु तथा सरोकारवाला उपस्थित थिए ।
मुख्यमन्त्री कार्कीले बाढी,पहिरोलगायतबाट ज्यान जान नदिनका लागि विपद्को बेला जनताको सारथि भएर प्रदेश सरकार उभिने प्रतिबद्धता जनाए । सशस्त्र प्रहरीले देशको आन्तरिक सुरक्षा, चोरी–तस्करी नियन्त्रण र सीमा सुरक्षा सँगसँगै विपद् व्यवस्थापनमा प्रभावकारी ढंगबाट काम गरिरहेको उनको भनाइ छ । प्रदेश सरकारबाट सशस्त्रलाई पूर्ण सहयोग रहने कार्कीले बताए ।
उक्त अवसरमा विपद्,खोज तथा उद्धारका क्रममा गोताखोरले प्रयोग गर्ने विभिन्न आधुनिक उपकरण प्रदर्शनी गरिएको थियो । विपद्का बेला विभिन्न विधिद्वारा गरिने खोज तथा उद्धारलाई अभ्यासमार्फत् प्रस्तुत गरिएको थियो । उद्धारमा प्रयोग गरिने अत्याधुनिक उपकरणसहितका गोताखोर सशस्त्र प्रहरीसँग छन् ।
विभिन्न नदीनाला, तालतलैया, पोखरीजस्ता स्थानमा डुबेका तथा बेपत्ता भएकाहरुलाई गोताखोरको सहायताले बाहिर निकाल्ने गरिन्छ । विपद्मा पानीभित्र जीवित तथा मृतकहरुको खोज एवं उद्धारका लागि मुलुकका विभिन्न स्थानमा सशस्त्रको गोताखोर परिचालन गरिँदै आएको छ ।
तालिमप्राप्त गोताखोरले अक्सिजनयुक्त विशिष्ट उपकरणसहित नदीको ७० फिट गहिराइ तथा स्थिर र निश्चित बहावयुक्त पानीभित्र स्थानअनुसार १६० फिट गहिराइसम्म लगातार १ घण्टासम्म खोज तथा उद्धार गर्नसक्ने सशस्त्रका डीआईजी पोखरेलले बताए । ‘देशभर हुनसक्ने विपद्का घटनामा प्रभावकारी परिचालन गर्ने उदेश्यले गोताखोर जनशक्ति उत्पादनलाई प्राथमिकतामा राखिएको छ,’ उनले भने,‘नेपालका ठूला नदीहरु सप्तकोसी, कर्णाली नारायणी, त्रिशूली, गण्डकीलगायत सेती नदीको गहिरो खोंचदेखि समुन्द्री सतहबाट करिब ४ हजार ७ सय मिटर उचाइमा रहेको गोक्यो ताल, तालतलैया एवं पोखरीहरुमा गोताखोरले खोज तथा उद्धार गर्दै आएको छ ।’
पोखरेलका अनुसार हालसम्म मुलुकभरका २ सय ५८ घटनामा सशस्त्रका गोताखोरहरु खोज तथा उद्धारमा सहभागी भइसकेका छन् । गोताखोरले विभिन्न घटनामा परेकामध्ये ३२ जनाको जीवितै उद्धार गरेको र २ सय ५८ जनाको शव नदी, तालतलैया तथा पोखरीबाट बाहिर निकालेको उनले बताए ।
विक्रम संवत २०६९ सालमा पहिलोपटक बंगलादेशमा आयोजित गोताखोर तालिममा नेपालबाट २५ जना सशस्त्र प्रहरी सहभागी भएका थिए । तालिम लिएर फर्किएपछि उनीहरु नेपालका विभिन्न भागमा उद्धारमा सहभागी भइरहेका छन् । नेपालमा भने २०७६ सालदेखि सशस्त्रलाई गोताखोर तालिम दिन थालिएको हो । सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनी पकली सुनसरीले पहिलोपटक गोताखोर तालिममा २० जना सशस्त्रलाई सहभागी गराएको थियो ।
त्यसपछि गण्डकी प्रदेश सरकारको सहयोगमा २०७९ साल र गत वैशाखमा गरेर सशस्त्रको विपद् व्यवस्थापन तालिम केन्द्र कुरिनटारले दुईपटक तालिमको आयोजना गरेर गोताखोर तयार गरेको थियो । कुरिनटारमा दुवैपटक तालिम आयोजना हुँदा हालका डीआईजी (तत्कालीन एसएसपी) पोखरेल विपद् व्यवस्थापन तालिम केन्द्रको प्रमुख थिए । केन्द्रको प्रमुख एसएसपी हुन्छन् ।