‘शान्ति प्रक्रियामा नेपाल एक्लै छैन’

‘नेपालको प्रगति शान्ति प्रक्रियाले रोकिनु हुन्न’

‘शान्ति प्रक्रियामा नेपाल एक्लै छैन’
मंगलबार संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरेस । तस्बिर : अभिशेक महर्जन
सुन्नुहोस्

नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरेसले उच्चस्तरीय भेटघाटमा शान्ति प्रक्रिया टुंग्याउने विषयमा चासो मात्रै राखेनन्, हिमाली क्षेत्रमा नै पुगेर जलवायु परिवर्तनको असर पनि हेरे। अनि, मंगलबार संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै भने, ‘शान्त नेपालका जनताले जलवायु परिवर्तन र युद्धको असर अब भोग्नु हुँदैन।’

काठमाडौं : संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले दुई ठूला शक्ति राष्ट्रका बीचमा रहेर सार्वभौमसत्ता र स्वाधीनताको रक्षाका लागि आफ्नो मार्ग नेपाल आफैं बनाएको भन्दै प्रशंसा गरेका छन्। नेपाल भ्रमणको क्रममा प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त सदनलाई मंगलबार सम्बोधन गर्दै उनले अब नेपालले शान्ति स्थापनाको मौलिक अभ्यासलाई पूर्णता दिन मात्रै बाँकी रहेको बताए। भने, ‘शान्ति प्रक्रियाको अन्तिम चरणमा नेपाल छ। 

संक्रमणकालीन न्यायका बाँकी काम पूरा गर्ने प्रयासमा नेपाल एक्लै छैन। यसमा हाम्रो (संयुक्त राष्ट्रसंघ) सद्भाव रहनेछ।’ उनले थपे, ‘संक्रमणकालीन न्यायमा पीडित केन्द्रित प्रक्रिया अवलम्बन गर्न, अन्तर्राष्ट्रिय मापदण्ड पछ्याउन र तपाईंहरूको यहाँको कानुनी व्यवस्थालाई ध्यान दिने मेरो विश्वास छ।’ नेपालले शान्ति प्रक्रियाअन्तर्गत संक्रमणकालीन न्यायलाई अन्तिम निष्कर्षमा पुर्‍याउन लागेकामा महासचिव गुटेरेसले पीडित पक्षको अधिकारको रक्षा गर्दै उक्त प्रक्रियालाई टुंगोमा पुर्‍याउन पनि आग्रह गरे। उनले विश्व आर्थिक मन्दीको चुनौतीकाबीच नेपालले लैंगिक समताका क्षेत्रमा गरेको प्रगति र परिणामको प्रशंसा गरे। ‘नेपालको शान्ति प्रक्रियामा सहयोग गर्न पाउँदा राष्ट्रसंघ गौरव व्यक्त गर्छ। यस क्षणमा म नेपालका शान्ति प्रक्रियामा संलग्न नेताहरूप्रति राष्ट्रसंघका तर्फबाट सम्मान व्यक्त गर्छु,’ सम्बोधनका क्रममा महासचिव गुटेरेसले भने।

उनले विगत २० वर्षको नेपालको यात्रा हेर्नलायक र अदभुत रहेको बताए। ‘नयाँ संविधानसहितको नयाँ गणतन्त्रको केन्द्रमा संयुक्त राष्ट्रसंघको बडापत्र छ। तपाईंहरूले दिगो विकास लक्ष्यहरू शीघ्र अँगाल्नुभयो र तीमध्ये धेरैमा प्रगति गर्दै हुनुहुन्छ। तपाईंहरूको मुलुकले द्वन्द्वलाई सफलतापूर्वक साम्य पारेको छ र युद्धबाट शान्तितर्फ उन्मुख भएको छ। यो यस्तो प्रक्रिया हो, जसलाई संयुक्त राष्ट्रसंघले समर्थन गर्न पाउँदा गर्व लागेको छ,’ उनले भने।

यसैबीच उनले पश्चिम एसियामा भइरहेको द्वन्द्वलाई आफूले नजिकैबाट हेरिरहेको भन्दै हमासको क्रुर आक्रमणका क्रममा इजरायलमा ज्यान गुमाउने नेपालीहरूप्रति श्रद्धाञ्जली तथा परिवारमा समवेदना प्रकट गरे। ज्यान गुमाउनेहरूको सम्झनामा एक मिनेट मौनधारण उनले आह्वान गरेका थिए। गुटेरेसको आह्वानमा दुवै सदनका सांसदहरूले शान्ति सैनिक तथा मिसनका ज्यान गुमाउनेहरूप्रति मौनधारण गरेका थिए। उनले त्यस क्रममा बेपत्ता पारिएका नेपाली विद्यार्थी विपिन जोशीबारे चासो राख्दै उनको सुरक्षित रिहाइको कामना गरे।

उनले नेपालका नागरिकको मुस्कान, सांस्कृतिक विविधताको प्रशंसा गरे। नेपाली नेतृत्वले अगाडिका दिनहरूमा नेपाली समाजलाई अझै राम्रो बाटो देखाउँदै जाने, त्यसमा विश्वले नै साथ दिने उनले बताए। ‘नेपाल विश्वको साथी हो’, उनले भने, ‘विश्वका सबै देशहरूले नेपाललाई आफ्नो साथी मानेर अघि बढ्ने छन्।’ 

गुटेरेसले नेपालको शान्ति प्रक्रियामा सहयोग गर्न पाउँदा राष्ट्रसंघले गौरव व्यक्त गरेको बताएका छन्। उनले भने, ‘अल्पविकसित देशको स्थितिबाट तपाईंहरू अगाडि बढ्दै हुनुहुन्छ। संयुक्त राष्ट्रसंघ एक सहज सङ्क्रमणलाई समर्थन गर्न प्रतिबद्ध छ। तपाईंहरू आफ्ना शान्ति प्रक्रियाको अन्तिम चरणको तयारी गर्दै हुनुहुन्छ र सङ्क्रमणकालीन न्यायको माध्यमबाट युद्धको घाउ निको पार्दै हुनुहुन्छ। प्रश्नहरू र अन्यायद्वारा त्रसित पीडित व्यक्ति, परिवार र समुदायलाई शान्ति दिने र विगतलाई पूर्णविराम दिन मद्दत गर्ने प्रक्रिया हुनुपर्छ।’ सङ्क्रमणकालीन न्यायले दिगो शान्ति कायम गर्न महत्वपूर्ण भूमिका खेल्न सक्ने महासचिव गुटेरेसको भनाइ थियो।

महासचिव गुटेरेसले ४५ वर्षअघिको नेपाल भ्रमण सम्झिँदै आफू दोस्रोपटक नेपाल आएको भन्दै यो देशको संस्कृति, सभ्यता र आतिथ्यले आफूलाई सधैं मोहित पारेको बताएका छन्। गुटेरेसले आफू यसअघि सन् १९७८ मा पहिलोपटक नेपालमा आएको क्षणको स्मरणसमेत गरे। उनले नेपाल आफ्नो लागि सधैं उत्कृष्ट गन्तव्य रहेको बताउँदै लुम्बिनीबाट यसले शान्तिको सन्देश दिएको बताए। तर, शान्तिको देशले आफू सहभागी नभएको युद्धमा निर्दोष नागरिक गुमाएको भन्दै उनले पछिल्लो इजरायल घटनाको निन्दासमेत गरे।

उनले नेपाल अल्पविकसित देशको स्थितिबाट अगाडि बढ्दै गएको बताएका उनले संयुक्त राष्ट्रसंघ एक सहज सङ्क्रमणलाई समर्थन गर्न प्रतिबद्ध रहेको बताए। भने, ‘तपाईंहरू आफ्ना शान्ति प्रक्रियाका अन्तिम चरणको तयारी गर्दै हुनुहुन्छ र सङ्क्रमणकालीन न्यायको माध्यमबाट युद्धको घाउ निको पार्दै हुनुहुन्छ। अब पालो विकासमा दौडने हो।’

उनले नेपाल सानो देश भए पनि अन्तर्राष्ट्रिय शान्तिमा ठूलो योगदान गर्ने दाबी उनको थियो। भने, ‘विश्वका सबै राष्ट्रहरूमध्ये नेपाल संयुक्त राष्ट्र संघको मिसनमा सेना पठाउने दोस्रो ठूलो राष्ट्र हो। नेपाली जनताको समर्पण, अदम्य साहस र सेवाका लागि म हृदयदेखि कृतज्ञ छु। हाम्रो नीलो झन्डामुनि रही सेवा गर्दै आफ्नो जीवन गुमाएकाहरूलाई म सम्मान गर्न चाहन्छु।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.