महासचिव गुटेरेस लुम्बिनीमा
![महासचिव गुटेरेस लुम्बिनीमा](https://annapurnapost.prixacdn.net/media/albums/guture_e_aO2tdQJnH3_zBxwNMEMe0.jpg)
रुपन्देही : संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस बुद्ध जन्मस्थल लुम्बिनी पुगेका छन्। उनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती, लुम्बिनीका मुख्यमन्त्री डिल्ली चौधरी लगायतका विशिष्ट व्यक्तिले स्वागत गरेका छन्।
गुटेरेसको स्वागत गर्न प्रधानमन्त्री आज बिहानै लुम्बिनी गएका थिए। मन्त्री सुदन किराती, मुख्यमन्त्री डिल्ली चौधरी लगायतका विशिष्ट व्यक्तित्वहरु हिजो नै लुम्बिनीमा पुगेका थिए।
गुटेरेस आज बिहान अन्नपूर्ण बेसक्याम्प गएका थिए। गुटरेस त्यहाँबाट भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आइ हेलिकप्टरमा लुम्बिनी पुगेका हुन्।
लुम्बिनीमा सुरक्षा व्यवस्थालाई ध्यान दिँदै आज बिहानबाट यहाँस्थित मायादेवी मन्दिरमा सर्वसाधारणको प्रवेश निषेध गरिएको छ भने तीन तहको सुरक्षा घेरा बनाइएको छ
गुटेरेसलाई लुम्बिनीमा रहेका विहार, बौद्धधर्मका गुरु, भिक्षुभिक्षुणीसहित लुम्बिनी सांस्कृतिक नगरपालिकाका आमा समूह, थारूलगायत विभिन्न जातीय समूह र होटल व्यवसायीले समेत शान्तिदीपदेखि मायादेवी मन्दिरको दुवैतर्फ बसेर स्वागत गर्नेछन् । गुटेरेसले मायादेवी मन्दिर, बुद्धजन्म स्मारक, पुष्पकरणी पोखरी, अशोकस्तम्भको भ्रमण गर्ने कार्यसूची छ ।
उनलाई मायादेवी मन्दिरको दक्षिणतर्फ रहेको पुष्पकरणी पोखरीको छेउमा रहेको पीपलको रूखमुनि स्वागत गर्ने कार्यक्रम छ । लुम्बिनीमा करिब डेढ घण्टा बिताएपछि गुटेरेस काठमाडौँ फर्कने छन् ।
गुटेरेस लुम्बिनी भ्रमणमा आउने संयुक्त राष्ट्रसंघका छैटौँ महासचिव हुन्।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)