गेटामा १०० शैय्याको अस्पताल

गेटामा १०० शैय्याको अस्पताल
सुन्नुहोस्

कैलालीको गेटामा २०६६ सालदेखि मेडिकल कलेजका पूर्वाधारहरू निर्माण हुन थालेका हुन्।

धनगढी : लामो समयको रस्साकस्सीपछि कैलालीको गेटामा एक सय शैय्याको अस्पताल सुरु भएको छ। गेटामा ६ सय शैय्याको अस्पताल भवन, कलेज भवन र आवासहरू गरी झन्डैै साढे ६ अर्बका संरचना निर्माण भइसकेका छन्। कम्तीमा पनि तीन सय शैय्याको अस्पताल सञ्चालन गरी एमबीबीएसको पढाइ हुनुपर्नेमा आशा गरिएका बेला सय शैय्यामात्र सुरु भएपछि मेडिकल कलेज हुने वा नहुनेमा अन्योलता भने कायमै छ। 

सुरुवातको पहिलो दिन १८ जना बिरामीले विभिन्न प्रकारका ओपीडी सेवा लिएका थिए। सुरुवात गर्दा अहिले ओपीडी सेवाहरूमात्रै सुचारु भएका हुन्। अहिले जनरल ओपीडी, हाडजोर्नी तथा नसारोग, स्त्रीरोग, जर्नल सर्जरीको ओपीडी, अल्ट्रा साउन्ड सेवा, एक्सरे सेवा, प्रयोगशाला सेवा र फार्मेसी सञ्चालनमा आएका हुन्। ‘सबै सेवाहरू अहिले नै सञ्चालन गर्न नसकिए पनि ‘ब्रेक थ्रु’ गर्नै पथ्र्यो, हामीले वर्षभरिको योजना बनाएर सेवाहरू सुचारु गरेका छौं’, अस्पतालका निर्देशक डा. प्रमोद जोशीले भने। डा. जोशी वीर अस्पतालमा रहेको ट्रमा सेन्टर पनि सञ्चालन गरेर गेटामा आएका अनुभवी डाक्टर हुन्। 

‘हामीले ओपीडी सुरु गरिसक्यौं। कात्तिकभित्र एमसीएच क्लिनिक सुरु गर्ने योजना छ। मंसिर महिनाभित्र खोप सेवा र अन्तरंग सेवा, पुसभित्र इमरजेन्सी र प्रसूति सेवा, चैत महिनाभित्र शल्यक्रिया सेवा र वैशाखभित्र आईसीयू र एनआईसीयू सेवा सञ्चालन गर्ने योजना बनाएका छौं’, डा.जोशीले भने। कैलालीको गेटामा २०६६ सालदेखि मेडिकल कलेजका पूर्वाधारहरू निर्माण हुन थालेका हुन्। २०७८ सालदेखि नै मेडिकल शिक्षाको पढाइ हुने लक्ष्य राखिएको भए पनि मेडिकल कलेज, प्रतिष्ठान वा मेडिकल विश्वविद्यालय के बनाउने ? भन्ने कुरामा विवाद हुँदा अहिलेसम्म सञ्चालन हुन सकेको थिएन। 

यसपालि नेपाल सरकार मन्त्रिपरिषद्ले त्यसलाई मेडिकल विश्वविद्यालय बनाउने निर्णय गरिसकेको छ । त्यसको विधेयकको स्वीकृति पनि दिइसकेको छ। यसपालिको बजेटमा अस्पताल सञ्चालनका लागि ८० करोड र चालूतर्फको खर्चका लागि साढे ३ करोड रकम विनियोजन गरिएको छ। अस्पतालका निर्देशक डा. जोशीले डल्लो रूपमा आएको बजेटलाई शीर्षक बनाएर उपकरण खरिदमा जाने बताए। ‘८० करोड रकम डल्लो रूपमा आएको छ। स्वास्थ्य मन्त्रालयसँग छलफल गरेर आवश्यकता अनुसार उपकरणहरू खरिद गरिने छन्। शीर्षक बनाएर खर्च गरिनेछ’, डा.जोशीले भने।

९५ प्रतिशत पूर्वाधार बनिसकेको गेटामा ६ सय शैय्याको अस्पताल सञ्चालन हुनुपर्ने माग स्थानीयको छ।

अस्पताल सञ्चालनका लागि मन्त्रिपरिषद्ले १ सय ४१ जना कर्मचारी र स्वास्थ्यकर्मीको दरबन्दी स्वीकृत गरेको छ। प्रदेशभरिका बिरामीको रिफरल अस्पतालको रूपमा रहेको सेती प्रादेशिक अस्पताल पनि ५० शैय्याको मात्रै हो। त्यहाँ व्यवस्थापन समितिले थप ७५ शैय्या सञ्चालन गरेको छ। गेटामा मेडिकल कलेज नै सुरु हुने आशा गरिएका बेला, एक सय शैय्याकै भए पनि अस्पताल सञ्चालन भएपछि स्वास्थ्य सेवा पाउने भन्दै स्थानीय बासिन्दा खुसी भएका छन्। 

‘अहिले सुरुवातमात्रै गरिएको छ। पहिलो दिन ओपीडीमात्रै सुरु गरिएको छ। मलाई पत्थरीको समस्या थियो। त्यसको चेकजाँचका लागि आएको हो’, पहिलो दिन पुगेका बिरामी केशव उपाध्यायले भने, ‘यो अस्पताल छिट्टै पूर्ण सेवासहित सञ्चालनमा आउनुपर्छ। कम्तीमा पनि तीन सय शैय्या बनाएर २०८१ देखि एमबीबीएसको पढाइ सुरु गरिनुपर्छ।’

गेटामा कलेज भवन, ६ सय शैय्याका लागि अस्पताल भवन, चिकित्सक र नर्सिङ आवासहरू,  प्रशासनिक भवनहरू निर्माण भइसकेका छन्। विद्युत्को सबस्टेसन नै बनिसकेको छ। त्यहाँ फोहोरमैला, व्यवस्थापन र खानेपानीको सिस्टम निर्माणाधीन छन्। ९५ प्रतिशत पूर्वाधार बनिसकेको गेटामा अब ६ सय शैय्याको अस्पताल सञ्चालन हुनुपर्ने माग स्थानीयको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.