आस्थाको प्रस्तुतिमा अबेरसम्म झुम्यो जेभाले

फिदिम : सांगीतिक प्रस्तुतिका लागि गायिका आस्था राउत पाँचथर आउने भएपछि संगीत प्रेमीहरूको ध्यान जेभालेमा आयोजित ‘दशमी मेला २०८०’तर्फ सोझिएको थियो।
उनै चर्चित गायिका आस्थालाई जेभालेको सांगीतिक मञ्चमा देखिने भएपछि हजारौंको संख्यामा उनका फ्यानहरू जम्मा भएका थिए। दर्जनौं स्थानीय कलाकारको प्रस्तुतिपछि सांगीतिक मञ्चमा आस्थालाई देख्ना साथ फ्यानहरूले हुटिङ र तालीको पर्राले साथ दिए। आस्थाको प्रस्तुतिमा राति अबेरसम्म झुमे उनका फ्यानहरू।
रात निकै छिप्पिएपछि स्टेजमा उक्लिएकी उनलाई देख्ने वित्तिकै फ्यानहरूको हुटिङले बस्ती हल्लियो। आस्थाको गीतमा रम्न मैदानमा हजारौं युवायुवतीहररुूको जमघट थियो। स्टेजमा आस्थाले गाउँदा मैदानमा फ्यानहरू कम्मर मर्काई मर्काई नाचे। ‘को छ यहाँ घटी बढी’बोलको सहिष्णुतायुक्त भावले भरिएको गीतबाट आस्थाले जेभालेको चिसो मौसमलाई तताउन सुरु गरिन्।
उनले करिब एक घण्टा गीत गाँउदा रातको १० बजिसेको थियो। चिसोको प्रवाह नगरी आस्थालाई फ्यानहरूले साथ दिइरहे। उनले दर्जन बढी गीत गाएर जेभालेको डाँडोलाई संगीतमय बनाइन्। जित्यो भने जितिन्छ हारे सिकिन्छ, दसैं आयो तिहार आयो, खोइ त मलाई झुम्के बुलाकीलगायतका दर्जनौं गीत गाएर आस्थाले दर्शकलाई नचाइन्।
प्रतिक्रिया दिनुहोस !
