परासीमा औद्योगिक व्यापार मेला हुने
परासी : नवलपरासीको सदरमुकाम परासीमा औद्योगिक व्यापार मेला हुने भएको छ। उद्योग वाणिज्य संघ नवलपरासीको आयोजनामा यही मंसिर ५ देखि १७ गतेसम्म छैठौं औद्योगिक व्यापार मेला हुन लागेको हो। रामग्राम–१२ कसियाको सिसौंघारीमा मेला स्थल रहने छ।
मेलाबारे सोमबार परासीमा आयोजना गरेको पत्रकार सम्मेलनमा संघका अध्यक्ष ओम प्रकाश अग्रहरीले साना तथा ठूला लगानीकर्ताहरूलाई जिल्लामा उद्योग स्थापनाका लागि अभिप्रेरित गर्न मेलाको आयोजना गरिएको बताए। जिल्लामा साना ठूला गरी ७ सय बढी उद्योग छन्।
राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारसम्म औद्योगिक, लघु उद्यम तथा कृषि उत्पादनको विस्तार गर्न र उपभोक्ताहरूलाई मुलुकभित्रै किनमेल गर्ने बानीको विकास गर्ने मेला आयोजना गरिएको अध्यक्ष अग्रहरीले जानकारी दिए। मेलामा जिल्लामा उत्पादित कृषि, लघु उद्यम, हस्तकला सामग्रीको प्रदर्शन तथा बाहिरी जिल्लाका उत्पादित वस्तुहरूको प्रदर्शनी रहने छ।
२ सय स्टल रहने मेलामा ५ करोड १० लाख बराबरको आर्थिक कारोबार हुने अपेक्षा लिइएको छ। मेलालाई आकर्षण गराउन झरही खोलाबाट ढुंगा चढेर मेला स्थल पुग्ने व्यवस्था गरिने छ भने खोला छेउमा विभिन्न प्रकृतिका रेष्टुरेन्टहरू रहने छन्।
मेलालाई व्यवस्थित गराउन २५ सदस्यीय मूल आयोजक समिति र २५ सदस्यीय विभिन्न विषयगत उपसमिति गठन गरेर कामलाई अघि बढाइएको संघले महासचिव तारा आचार्यले जानकारी दिइन्।