गुम्यो, आमाबुवाको एक्लो सहारा

गुम्यो, आमाबुवाको एक्लो सहारा
सुन्नुहोस्

डोटी : डोटीको शिखर नगरपालिका–५ चुँडी घर भएका २३ वर्षीय राजन फुलारा बुवा घनस्याम फुलारा र आमा लक्ष्मी फुलाराका एक्ला छोरा हुन्। उनी सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत टीकापुर क्याम्पसमा बिएस्सी एजी अध्ययनरत थिए।

‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत इन्टर्नसिपमा अध्ययन गर्न इजरायल पुगेका राजन त्यहाँ प्यालेस्टाइन बिद्रोही समूह हमासले गरेको आक्रमणमा परी शनिबार दिउँसो सदाका लागि अस्ताएका छन्। ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत इन्टर्नसिपमा अध्ययन गर्न भदौ १७ गते घरबाट निस्केका उनी काठमाडौंबाट भदौ २६ गते इजरायल उडेका थिए।

‘पढ्ने विदेशमा हो, काम त नेपालमै आएर गर्ने हो भन्थ्यो’, भतिजले यसो भन्ने गरेका काका केशव फुलाराले बताए, ‘नेपालमा आएर लोकसेवाको तयारी गरेर सरकारी काम गर्ने बताइरहन्थ्यो।’ पछिल्लो समय असोज १८ गते राजनले काकासँग कुराकानी गरेका थिए। ‘अहिले उनी बिनाको घर शून्य जस्तै भएको छ। आमाबुवा उनको मृत्युको खबरले अचेत अवस्थामा छन्’, केशवले भने, ‘बुवा आमाको एक्लो सहारा थियो, दाइ, भाउजू कतिबेला होस् त कतिबेला बेहोस् भइरहेका छन्।’

विद्यार्थीको सुरक्षाको ख्यालै नगरी सुदूरपश्चिम विश्वविद्यालयले स्कलरसिपको नाममा बेइमान गरेको अर्का काका टीकाराम फुलाराले बताए। आगामी दिनमा यस्ता घटना नदोहोरिउन सरकारले पहल गर्नुपर्ने उनले बताए। ‘यहाँ त केही सिक्ने हो अंकल, गर्ने त आफ्नै देशमा हो भन्थ्यो’, काकाका टीकारामले भने। राजन इजरायलको भूगोल परिवारका सदस्यहरूलाई देखाइरहन्थे। ‘पानी नभएको देश, थोपा सिँचाइले बनेको देशको कृषि भनेर त्यहाँको सीनहरू देखाइरहन्थ्यो, तर दैबले चुडेर लग्यो’, काका टीकारामले भने। 

भिडियोकलमा गाजा क्षेत्रसमेत देखाइरहने गरेको उनले बताए। ‘ऊ त्यही हो अंकल गाजा क्षेत्र, यहाँ जतिवेला पनि आक्रमण हुनसक्छ, हामीलाई हमला हुनेबित्तिकै बंकरमा बस्न पनि सिकाइएको छ भन्थ्यो’, काका टीकारामले भने, ‘अब उसको भिडियो कल कहिल्यै आउनेछैन।’ राजनको मृत्युपछि परिवार सोकमा डुबेको छ भने गाउँका मानिस घरमा आउने जाने गरेका छन्। डोटीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालसहितको सुरक्षाअधिकारीहरूको टोली पनि पीडित परिवारलाई समवेदना दिन गएको थियो। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.