लप्चीवासीले थाले सीमापारि किनबेच
![लप्चीवासीले थाले सीमापारि किनबेच](https://annapurnapost.prixacdn.net/media/albums/Lapchi-villege-dolakha-narayan-koju_20181124011014_d4JMxAXjsF_yd7JSPYiiP.jpg)
दोलखा : चीनको तिब्बतसँग सीमा जोडिएको दोलखाको लप्ची नाका हुँदै स्थानीयले दसैंका सामान किनबेच सुरु गरेका छन्। नाका औपचारिक रूपमा नखुले पनि अनौपचारिक रूपमा आउने जाने र किनबेच सुरु भएको हो।
तिब्बतसँगको नाका स्थानीय स्तरमा समझदारी कायम भएपछि असोज ११ गतेबाट अनौपचारिक रूपमा खुला भएको र लप्चीवासीले सीमापारि पुगेर सामान खरिद बिक्री सुरु गरेको स्थानीय कर्म शेर्पाले बताए। दसंैको पूर्वसन्ध्यामा नाका खुला भएपछि अहिले लप्चीवासीले निक्कै राहत महसुस गरेको र दसैंको लागि किनमेल गर्न र आफ्ना चौरी तथा घ्यु र छुर्पी बिक्री वितरण गर्न निक्कै सहज भएको स्थानीयको भनाइ छ।
दोलखाका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले आधिकारिक रूपमा चीन सरकारले दोलाखसँग सीमा जोडिएको दुई नाका खुला गर्ने निर्णय गरेको भए पनि त्यसमा लप्ची नाका नपरेको तर स्थानीय स्तरमा समझदारी भएपछि त्यहाँ आवागमन र किनबेच खुला गरिएको जानकारी आएको बताए। दोलखा प्रशासनले पनि लप्ची नाकालाई आधिकारिक रूपमा खुला गरिदिन गृह मन्त्रालयमार्फत चीन सरकारलाई आग्रह गरेको प्रमुख जिल्ला अधिकारी धमलाले बताए।
लप्चीवासीलाई नेपालतिर आफ्नो पालिकाको सबैभन्दा नजिकको बजार लामाबगर आउन झन्डै दुई दिन लाग्छ। तर, चीनको तिब्बतस्थित सिगात्से जिल्ला, ङ्यालम काउण्टीमा पर्ने टाँसीघाङ बजार पुग्न भने पाँच घण्टामात्र लाग्ने स्थानीयको भनाइ छ। अनौपचारिक रूपमा तिब्बतसँगको नाका खुला भएपछि लप्चीवासीले अहिलेसम्म करिब दुई सय चौंरी, केही घ्यु र छुर्पी बिक्री गरेको र यो क्रम दसैंसम्म जारी रहने स्थानीय कर्मा शेर्पाले बताए।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)