भूकम्पले भत्किए ३२ विद्यालय, छैन पढ्ने ठाउँ

भूकम्पले भत्किए ३२ विद्यालय, छैन पढ्ने ठाउँ
बझाङमा गत मंगलबारको भूकम्पले भत्किएका विद्यालय भवन।

बझाङ : बझाङमा गत मंगलबारको भूकम्पपछि परकम्प गइरहेका छन्। ६.३ म्याग्निच्युडसम्मको भूकम्पले जनधनको मात्रै क्षति गरेन, विद्यालयका भवन पनि भत्कायो। जिल्लाका १२ वटै स्थानीय तहमा क्षतिको विवरण केलाउँदा अन्यभन्दा विद्यालयको तुलनात्मक रूपमा बढी छ।

विद्यालयमा भएको क्षतिले राज्यलाई भार मात्रै परेन विद्यार्थीको भविष्य पनि अन्योलमा पर्ने देखिएको छ। प्राप्त विवरणअनुसार तल्कोट गाउँपालिकामा ४, जयपृथ्वी नगरपालिकामा ६, थलारामा ४, छबिसपाथिभेरामा २, थलारा गाउँपालिकामा ४, खप्तडछान्ना गाउँपालिकामा ४, बित्थडचिर गाउँपालिकामा २, मष्टा गाउँपालिकामा ४ र केदारस्युँ गाउँपालिकाका २ विद्यालयका भवनमा पूर्णरूपमा क्षति भएको प्रारम्भिक रिपोर्ट छ। 

जिल्लाभरका दुई सयभन्दा बढी विद्यालय भवनहरू चर्किएका छन्। केही ठाउँको रिपोर्ट नै प्राप्त नभएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। जिल्ला प्रशासन कार्यालय बझाङका अनुसार भूकम्पबाट एकको मृत्यु भएको र २० जना घाइते छन्। पाँच जना गम्भीर घाइतेलाई धनगढी रेफर गरिएको छ। 

भूकम्पका कारण ३ सय १५ वटा निजी आवास, २१ वटा सरकारी भवन र ३२ वटा विद्यालय गरी जम्मा ३ सय ६८ वटा संरचनाहरू आंशिक तथा पूर्णरूपमा क्षति भएको छ। घाइते हुनेमा प्रायजसो विद्यालयमा अध्ययन गरिरहेका विद्यार्थी छन्। केही विद्यार्थीको अवस्था निकै दयनीय रहेको छ। जयपृथ्वी नगरपालिका—११ भोपुरमा रहेको सत्यवादी मावि भोपुरमा अध्ययनरत १४ वर्षीया प्रमिला जोशी टाउको र हातमा ढुंगा लागी गम्भीर घाइते भएकी छन्। उनको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि जिल्ला बाहिर रेफर गरिएको छ।  यस्तै जयपृथ्वी—११ कै रुइनाबगरकी विद्यार्थी ७ वर्षीया सलिना जोशीको बायाँ खुट्टा भाँचिएकोले उपचार भइरहेको छ। यी उदाहरण मात्रै हुन्, विद्यार्थीहरू भागदौड र पढिरहेकै बेला भवन भत्किँदा घाइते धेरै छन्। 

पटकपटक आइरहेका भूकम्प तथा पराकम्पले विद्यालयका कच्ची भवन धराप बनाइसकेको सत्यवादी माध्यमिक विद्यालय जयपृथ्वी नगरपालिका—११ भोपुरका शिक्षक हितराज जोशी बताउँछन्। 

उनी भन्छन्, ‘अब त यस्तो लाग्छ। हाम्रा विद्यालय भवन अब विद्यार्थी मार्ने एम्बुस भइसके। पढ्ने र पढाउनेको ज्यान जोखिममा छ। भूकम्प बाजा बजाएर आउँदैन। केही पुराना भवनमा कसरी अध्यापन गराउन जाने हामी डराएका छौं, साना बालबालिकाको मनमा कस्तो डर होला ?’ मष्टा गाउँपालिका—४ भातेखोलामा रहेको कुलमष्टजन माविको एक भवन पनि भत्किएको छ। कुलमष्टजन मावि भातेखोला प्रधानाध्यापक मोहन थापा भन्छन्, ‘हाम्रो एक पाँचकोठे भवन त कामै नलाग्ने भयो। त्यहाँ हामीले बालकक्षा, लेखा फाँट सञ्चालन गरिराखेका थियौं। अर्को आठकोठे भवन पनि बेस्सरी चर्किएको छ। बेलाबेलामा पराकम्पन गइरहेका छन्। आइतबारसम्म त बिदा छ। त्यसपछिका दिनहरू कसरी बिताउने चिन्ता लागिरहेको छ।’

खप्तडछान्ना गाउँपालिका—५ कालुखेतीमा रहेको खप्तड माध्यमिक विद्यालयको हालत झन् खराब छ। भूकम्पले भवनसँगै र आँगन भत्किएपछि विद्यार्थी र शिक्षकहरू भागेर ज्यान जोगाउन सफल भएका थिए। खप्तड माध्यमिक विद्यालय कालुखेतीका प्रधानाध्यापक धनबहादुर गिरी भन्छन्, ‘हामी त दोहोरो मारमा परेका छौं। पहिले बाढीले विद्यालयलाई जोखिम बनायो अहिले भूकम्पले। धन्न भागेर ज्यान जोगाउन सफल भयौं। केही विद्यार्थी सामान्य घाइतेसमेत भए। भूकम्पले एक भवन र विद्यालय प्राङ्गण भत्कायो। अब हिउँदेयाम सुरु भइसक्यो कसरी पठनपाठन गर्ने ? चिसो र पानी परे त साना बालबालिकालाई समस्या हुने भो।’

थलारा गाउँपालिका अध्यक्ष प्रकाश रोकाया विद्यालय भवनहरू भूकम्पले चर्काएर एम्बुसजस्तै भएको बताउँछन्। उनले पालिकामा चार विद्यालयमा क्षति भएको विवरण सुनाउँदै भने, ‘थलारा गाउँपालिका—९ मा बढी क्षति भएको थियो। त्यहाँ अवलोकनका लागि गएको थिएँ। चक्रेश्वर मावि मालुमेला, पूर्ण चन्द्रोदय मावि कुलाकाट्नेलगायतका विद्यालयहरूका केही भवन भत्किएका छन्, केही उच्च जोखिममा भएकाले बालबालिका विद्यालय पठाउने वातावरण बनिसकेको छैन। हामीले आकस्मिक कार्यपालिका बैठक पनि बसाल्यौं। क्षतिपूर्ति दिन एक्लै पालिका नसक्ने सम्भावना देखिएपछि देशविदेशबाट सहयोग मागेका छौं।’

जयपृथ्वी नगरपालिका—३ पुगरमा रहेको मुड्तिनदेव आधारभूत विद्यालयलाई पनि भूकम्पले थिलथिलो बनाएको छ। विद्यालयमा रहेका चार कोठा चर्किएर बस्नै नमिल्ने अवस्था सिर्जना भएको त्यहाँका शिक्षक दिनराज जोशीले बताए। छबिसपाथिभेरा गाउँपालिका—१ मा रहेको अवस्था त झन् यति दर्दनाक छ कि भत्किन बाँकी रहेका भवन पनि पठनपाठन गर्न योग्य छैनन्। विद्यालयको पुराना सबै भवन भत्किँदा विद्यालयका टेबल कुर्ची र शैक्षिक सामग्री नष्ट भएका छबिसपाथिभेरा गाउँपालिका—१ का वडाध्यक्ष करनजंगबहादुर सिंहले बताए।

जिल्लाका प्रायःजसो विद्यालयमा पठनपाठन गर्ने वातावरण नभएको त्यहाँका शिक्षक र जनप्रतिनिधिहरूको भनाइ छ। विद्यालय भवनहरू पुराना र भूकम्पीय मापदण्ड नअपनाएर बनाएका हुनाले यो अवस्था सिर्जना भएको इन्जिनियर कमल विकले बताउँछन्। उनी भन्छन्, ‘विद्यालय भवनहरू केही पुरानै छन्। केही नयाँ पनि भूकम्पीय प्रविधि नअपनाएर बनेका छन्। सानो रकमले धेरै नतिजा खोज्नु र ठेकेदारको लापरबाहीले यस्तो अवस्था आएको हो। यसले विद्यार्थीको भविष्यमाथि कालो 
बादल मडारियो।’ 

प्रधानमन्त्रीद्वारा भूकम्प प्रभावित क्षेत्रको अवलोकन 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार नेपाली सेनाको हेलिकप्टरमार्फत बझाङको भूकम्प प्रभावित बस्तीको अवलोकन गरेका छन्। उनी भोपुरस्थित आर्मी ब्यारेकमा प्रधानमन्त्री प्रचण्ड शुक्रबार दिउँसो २ बजे अवतरण गरेका थिए। प्रचण्डले सुरुमा जयपृथ्वी बहुमुखी क्याम्पस अवलोकन गरेका थिए। क्याम्पसको भवन चर्किएको र बस्न योग्य नभएको भन्दै प्रधानमन्त्री प्रचण्डलाई नयाँ भवनका लागि ज्ञापनपत्र बुझाइएको थियो। 

भोपुरको छोटो अवलोकनपछि प्रधानमन्त्री प्रचण्ड सदरमुकाम चैनपुरस्थित शान्ति टोलका भूकम्पपीडित दलित बस्तीमा पुगेका थिए। शान्ति टोलका भूकम्प प्रभावितसँग केहीबेर कुरा गरेका प्रचण्डले समय अभाव देखाउँदै जिल्ला प्रशासन कार्यालय बझाङमा पुगी जिल्ला विपद् व्यवस्थापन समितिसँग अन्तरक्रिया गरेका थिए। 

null

अन्तरक्रियापछि प्रधानमन्त्री प्रचण्डले राहत, पुनस्र्थापना तथा पुनर्निर्माणका लागि विभिन्न घोषणा गरे। उनले भूकम्पपीडितलाई तत्काल राहतस्वरूप ५० हजार रुपैयाँ राहत दिने पनि बताए।

यस्तै सरकारले भूकम्पबाट प्रभावित अन्य परिवारलाई राहतस्वरूप परिवार संख्याको आधारमा मापदण्ड बमोजिम १५ देखि २० हजार तत्काल राहत खर्च दिने भएको छ। राहत सामग्रीहरू जस्तै पाल, कम्बल, औषधि, खाद्यान्न, लत्ताकपडा, अपांगता भएका व्यक्तिलाई आवश्यक पर्ने सामग्रीहरूको व्यवस्थापन गरिने पनि उनले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.