प्रधानमन्त्री दाहाल बझाङ आउँदै
![प्रधानमन्त्री दाहाल बझाङ आउँदै](https://annapurnapost.prixacdn.net/media/albums/bajhang_pD7bYaEcML_YKvFqgQtRO.jpg)
बझाङ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज भूकम्प प्रभावित बझाङ जिल्ला आउँदैछन् । उनी दिउँसो १:४५ बजेपछि नेपाली सेनाको हेलिकोप्टरबाट बझाङको भोपुर ब्यारेकमा अवतरण गर्ने कार्यक्रम छ ।
उनले भूकम्पले बढी क्षति पुर्याएका स्थानको अवलोकन गर्ने र जिल्ला विपद व्यवस्थापन समितिसँग अन्तर्क्रिया गर्नेलगायत कार्यक्रम निर्धारण गरिएको छ । बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले प्रधानमन्त्री प्रचण्डलाई भूकम्पबाट प्रभावित प्रतिनिधिमुलक ठाउँहरु देखाउने तयारी गरिएको जानकारी दिए । बझाङको तलकोट र चैनपुर आसपास केन्द्रबिन्दु भएर यही असोज १६ गते गएको भूकम्प र त्यसपछिका परकम्पले जिल्लामा क्षति पुर्याएको छ ।
भूकम्पमा परी २० जना घाइते र एक जनाको मृत्यु भएको छ । घाइतेहरूमध्ये १३ जना उपचार गरेर घर फर्किसकेका छन् भने ५ जनालाई अन्यत्र रिफर गरिएको छ । जिल्ला अस्पतालमा दुईजना उपचाररत छन् । जिल्लामै उपचाररत घाइतेको अवस्था सामान्य छ ।
प्रधानमन्त्री दाहाल बझाङ आउने भएपछि सदरमुकाम चैनपुर र आसपासमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)