पितृले आशा गर्ने सोह्रश्राद्ध

पितृले आशा गर्ने सोह्रश्राद्ध

श्राद्ध भनेको के हो ? यो किन गरिन्छ ? श्राद्ध कहिले र कसरी गर्नुपर्छ ? यसबारे सामान्य जानकारी लिई व्यावहारिक रूपमा जीवनमा उतार्ने प्रयास गर्नु जरुरी हुन्छ।

प्रत्येक महिनामा सामान्यतया दुई पक्ष पर्छन्। यसमा कृष्णपक्ष र शुक्लपक्ष पर्छन्। तर प्रत्येक वर्ष हिन्दुहरूको महान् चाड दसैं आउनुअघि आश्विन कृष्ण पितृपक्ष आउँछ। यसलाई नै सोह्रश्राद्ध अर्थात् पार्वण श्राद्ध भनिन्छ। बढ्दो आधुनिकता कारण अचेल कतिपय व्यक्तिलाई यी कुरा थाहा नहुन सक्छ। हरेक व्यक्तिको जिम्मेवारी बढ्दै गएकाले आफ्ना संस्कार, मूल्य र मान्यतालाई बिर्सिंदै गइरहेको छ। जबकि समाजबाट सदाचार, संस्कार, नैतिक शिक्षा, असल समाज तथा राष्ट्र निर्माणका लागि नभई नहुने वस्तुको अभाव हुँदै गएको छ।

परापूर्वकालदेखि चलिआएका सबै संस्कार पूरा गर्न नसकिएला। तर केही मात्रामा भए पनि आफ्नो धर्म र संस्कृतिलाई जीवित राख्नु प्रत्येक हिन्दुको परमकर्तव्य पनि हो। हामीले आमाबाबुबाट जीवन पाई पालन भई हुर्कने तथा शिक्षा आदि पाउने भएकाले उनीप्रति ऋणी हुन्छौं, हुनुपर्छ। धर्मशास्त्रअनुसार प्रत्येक मान्छेले तीन किसिमका ऋण लागेको हुन्छ, पहिलो– देव ऋण, दोस्रो– ऋषि ऋण र तेस्रो– पितृ ऋण। ऋणबाट छुटकारा पाउन आमाबुवा बाचुञ्जेल उनीहरूका पालनपोषण गर्ने र मृत्युपश्चातसमेत उनीहरूको काजक्रिया गर्ने। त्यसपछि प्रत्येक वर्ष पितृपक्षमा उनीहरूको नाम श्राद्ध गर्नु हाम्रो परम कर्तव्य हो।

श्राद्ध भनेको के हो ? यो किन गरिन्छ ? श्राद्ध कहिले र कसरी गर्नुपर्छ ? यी कुरामा विस्तृत अध्ययन गर्न नसके पनि सामान्य जानकारी लिई व्यावहारिक रूपमा जीवनमा उतार्ने प्रयास गर्नु अति जरुरी हुन्छ। श्राद्ध भन्नाले सामान्य अर्थमा बुझ्दा गच्छेअनुसार श्रद्धासाथ गरिने कार्य भन्ने बुझिन्छ। यसमा यति नै गर्नुपर्छ भन्ने हुँदैन। ‘श्रद्धया क्रियतेयत्र त च्छाद्धं परिकीर्तितम्’ अर्थात् पितृका लागि जो कार्य गरिन्छ, त्यसलाई नै श्राद्ध भनिन्छ। देशकाल पात्रमा श्रद्धाले विधिपूर्वक पितृहरूको नामोच्चारण गरी ब्राह्मणहरूलाई जो दान दिइन्छ, त्यो दानलाई श्राद्ध भनिन्छ। यसबारे के प्रस्ट हुन्छ भने पितृहरूको उद्देश्यले गरिने कार्य श्राद्ध हो। श्रद्धापूर्वक गरिएको पितृ कार्यले पितृ तथा कर्ताको कल्याण हुन्छ। श्राद्ध कर्मको विशेषता भनेको शुद्ध मन्त्र उच्चारणसहित श्राद्ध गर्नु हो।

पितृहरूलाई शुद्ध मन्त्र र शुद्ध वाक्य चाहिन्छ भने देवताहरूलाई भाव भए पुग्छ श्राद्धकल्पका अनुसार पनि प्रेत र पितृलाई आफूलाई मन पर्ने वस्तु श्रद्धाले दिनु नै श्राद्ध हो। यस प्रकार पितृहरूको मृततिथिमा गरिने पितृ यज्ञलाई श्राद्ध भनिन्छ। यस प्रकार पितृहरूको मृत तिथिमा गरिने पितृ यज्ञलाई श्राद्ध भनिन्छ।

शास्त्रमा श्रद्धा धेरै किसिमका छन्। यसरी भविष्य पुराणमा श्राद्ध १२ वटा उल्लेख गरिएको छ। जुन यस प्रकार छ– दिनदिनै गरिने पहिलो नित्य श्राद्ध हो। दोस्रो, वार्षिक एकोदिष्टदी नैमित्तिक श्राद्ध हो। तेस्रो, इच्छा सिद्ध होस् भनी गरिने काम्य श्राद्ध हो। चौथो, विवाह आदि अभ्युदयमा गरिने वृद्धि श्राद्ध हो।

पाँचौं, सपिण्डि श्राद्ध हो। छैटौं, पार्वण श्राद्ध हो। सातौं, गोठमा गरिने गोष्ठी श्राद्ध हो। आठौं, पितृ तृप्ति विद्वान्हरूको सुख प्राप्ति र शुद्धिका निम्ति गरिने ब्राह्मण भोजन शुद्धि श्राद्ध हो। नवौंमा सिमान्तोनयन पुंसवन आदि संस्कारका निमित्त गरिने कमांग श्राद्ध हो। दसौं देवताहरूको उद्देश्यले गरिने दैविक श्राद्ध हो भने एघारौं, देशान्तरमा जाँदा घिउले गरिने यात्राश्राद्ध हो। र बाह्रौंमा शरीर स्वस्थ्य होस् भनी गरिने पुष्टिश्राद्ध हो।
 

यस्तैगरी, अर्को पाँच प्रकारको श्राद्ध छ। यो श्राद्ध भने आजकल धेरै आएको देखिन्छ। यसमा प्रथम नित्य हो भने दोस्रो नैमितिक, तेस्रो काम्य, चौथो वृद्धि र पाँचौं पार्वण श्रद्धा हो। आफ्ना पितृहरूलाई वार्षिक रूपमा मृत तिथिमा गरिने श्राद्धलाई एकोदिष्ट श्राद्ध भनिन्छ। यो पितृको मृत महिना पक्ष र तिथि याद गरी गरिन्छ। वर्षको एकपटक पार्वण श्राद्ध गरिन्छ, यसलाई सोह्र श्राद्ध भनिन्छ। प्रत्येक पक्षमा गरिने श्राद्ध हो यो। शास्त्रमा यसलाई पार्वण श्राद्धको नामबाट बुझिन्छ। यसरी पितृहरूको जुन तिथि हो त्यही तिथिमा श्राद्ध गर्नुपर्छ।

एक पार्वण श्राद्ध औंसी तिथिमा र आश्विन कृष्ण पक्षमा मृत्यु भएकाको तिथि श्राद्धलाई एक पार्वण श्राद्ध पनि भनिन्छ। यसको साथै श्राद्धका लागि स्थान हेर्ने हो भने पार्वण श्राद्ध घरमै बसेर वा पवित्र तीर्थस्थल, गंगाको तीरमा गएर पनि गर्ने चलन छ। तर घरमै भए पनि श्राद्ध गर्दा भूमिमै गर्नुपर्ने नियम छ। श्राद्धको समयको कुरा गर्ने हो भने पार्वण श्राद्ध अपराह्नमा गर्नुपर्ने शास्त्रमा उल्लेख छ। अतः हिन्दु समाजमा सोह्रश्राद्धको महत्त्व छुट्टै छ। श्राद्ध भनेकै पितृहरूको भक्तिभावपूर्ण उदार गर्ने कार्य हो।

नेपाली समाजको सबैभन्दा ठूलो पर्व दसैं र तिहार हो। यो पर्व मनाउनुभन्दा पहिले आआफ्ना पितृहरूलाई आदरसाथ श्रद्धापूर्वक सम्झना गर्नुपर्छ। यसमै सबैको कल्याण हुन्छ। यसकारण परापूर्वकालदेखि नै यो संस्कार चलिरहेको छ। यसरी पितृ पक्षमा बाबुको जुन तिथि हो, त्यही तिथिमा श्राद्ध गर्नुपर्छ। गच्छेअनुसार सकिन्छ भने सोह्र दिनसम्म गर्ने विधान छ। सकिँदैन भने कम्तीमा बुबाको तिथिका दिन अनिवार्य रूपमा श्राद्ध गर्नुपर्छ। श्राद्ध कसरी गर्ने ? श्राद्ध गर्ने अघिल्लो दिनमा कपाल खौरने, लुगा तथा घरको सरसफाइ गर्ने, एक चित्त र भक्त रही ब्रह्मचर्य आदिको नियमको पालना गर्ने।

यसै दिनलाई एकछाके अर्थात् हबिसे पनि भनिन्छ। एकछाके भनेको यस दिन अपराह्न पछिमात्र एक छाक खानु पर्छ। श्राद्धका दिन अर्थात् भोलिका लागि ब्राह्मणलाई निमन्त्रण दिने गर्नुपर्छ। दोस्रो दिन अर्थात् श्राद्धका दिनमा शौच स्नान नित्यकर्मादी गरी ब्राह्मणलाई बोलाएर नियमानुसार श्राद्ध आरम्भ गर्नुपर्छ। श्राद्धपछि ब्राह्मण, बन्धुबान्धब, भान्जाभान्जी र छोरीज्वाइँलाई खाना ख्याउने र दानदक्षिणा गर्नुपर्छ। यदि यी सबै कुरा सम्भव हुने स्थिति नरहेमा तर्पण र सिधा दानमात्र गरे पनि हुन्छ। तर तिथि बिर्सने र यो क्रम तोडिन चाहिँ कदापि दिनु हुँदैन। यसर्थ हाम्रो सनातन धर्म र संस्कृतिको जगेर्ना तथा संरक्षण गर्नु सबैको परम कर्तव्य हो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.