राजधानीमै सामूहिक हत्या कसरी भयो ?

काठ उद्योगभित्र एकै परिवारका ३ सहित ४ को हत्या

राजधानीमै सामूहिक हत्या कसरी भयो ?
चार जनाको हत्या भएको गैरीगाउँस्थित दिव्य सःमिल । तस्बिर : अशोक दुलाल
सुन्नुहोस्

काठमाडौं : दोलखा कालिञ्चोक–८ की ७६ वर्षीया सुभद्रा भुजेल कुसेऔंसीमा गोकर्णमा पितृतर्पण गर्न भदौ २६ गते काठमाडौं आइन्। बालुवाटारमा पसल गरी बसेका छोरा गणेश भुजेलको डेरामा बसिन्। २८ गते पितृतर्पण कार्य सम्पन्न गरिन्। शनिबार घर फर्किने उनको योजना थियो। त्यसैकारण शुक्रबार गैरीगाउँ तीनकुनेमा बस्दै आएका जेठा छोरा कुमारको डेरामा पुगिन्। किनभने, गैरीगाउँबाट दोलखाका लागि बस चढ्न पनि सहज हुन्थ्यो। 

जेठा छोरा कुमार र बुहारी गैरीगाउँस्थित दिव्य सःमिल अर्थात् काठ उद्योगमा काम गर्थे। त्यहीँ डेरा थियो। आमा सुभद्राले राति जेठो छोरा/बुहारीको डेरामा बास बसेर बिहानै गाउँ फर्किने सोच बनाएकी थिइन्। तर, त्यही राति सुभद्रासहित छोरा र बुहारीको सामूहिक हत्या भयो। ‘उहाँ (सुभद्रा) को शनिबार घर फकिर्ने तयारी थियो,’ सःमिल सञ्चालक बालकृष्ण सिवाकोटीले भने, ‘तर राति नै जेठो छोराबुहारीसहित उहाँको पनि हत्या भएछ।’ काठमिलभित्र अर्का एकजनाको पनि हत्या भएको अवस्थामा शव फेला परेको छ। 

दिव्य सःमिल एन्ड काठ उद्योग दोलखा कालिञ्चोकका व्यवसायी बालकृष्ण सिवाकोटीको हो। उनले काठ मिलमा सुरक्षागार्डको रूपमा काम गर्न आफ्नै गाउँका कुमार भुजेललाई राखेका थिए। कुमारले काम गरेको २२ वर्ष भएको सिवाकोटीले बताए । पछि उनकी श्रीमतीले पनि त्यहाँ काम गर्न थालिन्। 

ooo

दिव्य सःमिल एन्ड काठ उद्योगमा शनिबार दिउँसै ताला लाग्यो। उद्योगभित्र र बाहिर प्रहरी टोली तैनाथ थिए। जहाँ शुक्रबार मध्य रातमा एकै परिवारका तीनसहित चार जनाको सामूहिक हत्या भएको थियो। टाउको, घाँटी, शरीरमा धारिलो हतियार प्रहार गरेर निर्मम हत्या गरिएको थियो।

परिवार गुमाएका आफन्त मात्रै होइन्, उद्योगमा रहेका कुकुर पनि अस्वाभाविक व्यवहार देखाइरहेका थिए। शनिबार दिउँसो पुग्दा उद्योगको गेट बाहिर कुकुरले आफ्ना मालिक र मालिक्नी खोजिरहेका थिए। घरी सडकमा त घरी उद्योगभित्र कुकुर दौडिरहेका थिए। मारिएका चारै जनाको शव पोस्टमार्टमका लागि शनिबार प्रहरीले त्रिवि शिक्षण अस्पताल, महाराजगन्ज लगेको छ।

हत्या आरोपमा एक पक्राउ

प्रहरीले हत्या गरेको आशंकामा काठमाडौं महानगरपालिका–३२ तीनकुने बस्ने २८ वर्षीय दीपेन्द्र राईलाई नियन्त्रणमा लिएको छ। दीपेन्द्रका बुबा पनि यसअघि त्यही काठ मिलमा काम गर्थे। प्रहरीका अनुसार घटनापश्चात् दीपेन्द्र मध्यरातमा ट्याक्सी चढेर तीनकुने प्रहरी वृत्तमा पुगेका थिए।

उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी वरिष्ठ उपरीक्षक एवं प्रवक्ता दिनेशराज मैनालीअनुसार मिलमा सुरक्षा गार्डको रूपमा काम गर्ने ५६ वर्षीय कुमार भुजेल, ५२ वर्षीया उनकी श्रीमती अम्बिका भुजेल, ७६ वर्षीया आमा सुभद्रा भुजेल र मोरङ बेलवारीका २० वर्षीय नवीन राईको हत्या भएको हो। प्रवक्ता दिनेशराज मैनाली भन्छन्, ‘मृतको टाउको र शरीरको विभिन्न भागमा धारिलो हतियारको चोट छ।’

सामूहिक हत्या प्रकरणको अनुसन्धान गर्न तालिमप्राप्त कुकुर पनि परिचालन गरिएका छन्। काठमाडौं उपत्यका प्रहरी कार्यालय, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले घटनाको अनुसन्धान सुरु गरेको छ। ‘उक्त घटनाको अनुसन्धानका लागि एक जनालाई पक्राउ गरिएको छ,’ मैनाली भन्छन्, ‘तर घटना के कारणले भयो खुल्न सकेको छैन।’ अन्य केहीलाई पनि अनुसन्धानका लागि नियन्त्रणमा लिएको बताइए पनि त्यस विषयमा प्रहरीले केही खुलाएको छैन। 

हतियार बरामत

प्रहरीले हत्यामा प्रयोग भएको हतियार बरामद गरेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, टेकुको टोलीले घटना भएको स्थानमा हत्यामा प्रयोग भएको खुकुरी र अर्को एक धारिलो हतियार बरामद गरेको प्रहरी स्रोतले बतायो। हतियारमा खुकुरी र चुलेसी जस्तो घरमा प्रयोग भएको घरेलु हतियार छन्। शुक्रबार राति ११ः५५ बजे तीनकुनेस्थित दिव्य सःमिलमा चार जनाको हत्या भएको सूचना प्रहरीले पाएको थियो। 

परिवारसँग समन्वय नगरी शव उठाइएको आरोप 

सामूहिक हत्या घटनामा प्रहरीले समन्वय नगरेको आफन्तले गुनासो गरेका छन्। हत्या भएको जानकारी पाएपछि प्रहरी घटनास्थलमा शुक्रबार बिहानै आए पनि आफन्तसँग समन्वय नगरी शव उठाएको उनीहरूको भनाइ छ।

मृतकका एक आफन्तले भने, ‘घटना भएको जानकारी पाउनेबित्तिकै हामी घटनास्थल पुग्यौं। प्रहरीले तीनकुनेमा गएर उजुरी दिनुभन्यो। कागज सिफारिस लिएर आउनु अनि मात्र हेर्न मिल्छ भन्यो। कागज पनि केही पाइएन, यता हामीसँग समन्वय नै नगरी हतारहतार शव उठाएर अस्पताल पठाइयो।’

अनुसन्धानका लागि समिति गठन
सामूहिक हत्याकाण्डको छानबिनका लागि प्रहरी अधिकृत सम्मिलित अनुसन्धान समिति गठन गरिएको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्र सिंह राठौरको संयोजकत्वमा ५ सदस्यीय अनुसन्धान समिति गठन गरिएको हो। 

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाका अनुसार अनुसन्धान समितिका सदस्यमा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी नायव उपरीक्षक हरि खतिवडा, काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरी प्रहरी नायव उपरीक्षक सुवास खड्का, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनका प्रहरी नायव उपरीक्षक सुरक्षा केसी र प्रहरी वृत्त, नयाँ बानेश्वरका प्रहरी निरीक्षक वीरेन्द्र केसी छन्। 

घटनाबारे गहन अनुसन्धान गरेर यथाशीघ्र प्रतिवेदन बुझाउन समितिलाई निर्देशन दिइएको छ। ‘अपराध अनुसन्धानका विविध विधिकोे अधिकतम प्रयोग गरी सूक्ष्म तवरले अनुसन्धान गरी यथाशीघ्र प्रतिवेदन पेस गर्न हुन अनुरोध गरिएको छ,’ प्रहरी अतिरिक्त महानिरीक्षक थापाले भने। 

राजधानीमै सामूहिक हत्या कसरी भयो ?

राजधानीको अति व्यस्त ठाउँमा चार जनाको हत्या हुँदा पनि प्रहरीले सुइको नपाउनु गम्भीर भएको गैरीगाउँवासी बताउँछन्। गैरीगाउँकी ६० वर्षीया पवित्रा खड्काले ‘मर्निङ वाक’ गरेर फर्केपछि सामूहिक हत्या घटना थाहा पाएकी थिइन्। ‘मैले बिहानै ८ बजेतिर चार जना मान्छे मारेको थाहा पाए। हतारिएर सःमिल आएपछि मानिसहरूको ठूलो भीड लागेको थियो,’ उनले भनिन्, ‘मान्छे मारेको हल्ला एकाबिहानै एक अर्काबाट गाउँभरि फैलिएको थियो।’ मान्छेहरू घटना स्थलतर्फ दौडिएका थिए।

उनका अनुसार चारै जनाको हत्या हुँदा पनि प्रहरीले थाहा पाएन। मध्यरातमा हत्या भएकाले स्थानीयले पनि थाहा पाउन नसकेको उनले बताइन्। राजधानीमा मध्यरातमै अपराधका घटनाहरू हुने गरेको पवित्रा बताउँछिन्। ‘मालसामान चोर्न र व्यक्ति हत्या गर्न अपराधीहरूले रातिको १२ देखि १ बजेको समयलाई रोज्छन्। यो बेला मान्छे मस्त निदाएका हुन्छन्,’ उनी भन्छिन्, ‘तर, यो बेला प्रहरी चनाखो बन्नुपर्ने हो। प्रहरीले नै ध्यान दिन नसकेको देखियो।’ घटना स्थलमा भेटिएकी पवित्रा भन्छिन्, ‘दर्दनाक घटना हेरेर दुःख लाग्यो। मन रोयो। यहाँ हामी सुरक्षित छैनौं। असुरक्षा बढ्दै गएको यो ज्वलन्त उदाहरण हो।’

गैरीगाउँमा यसअघि छिटफुट घटना भए पनि यत्रो ठूलो घटना भएको थिएन। स्थानीयवासी भन्दै थिए, ‘हे प्रभु, यो के दिन देख्नु परेको हामीलाई। अब हामी सुरक्षित छैनौं। चार/चार जनाको ज्यान लिने पापीहरूलाई फाँसी दिनुपर्छ।’ सिनामंगल बस्ने ६५ वर्षीय दीपक थापा भन्छन्, ‘चार जनाको हत्या भएको घटना यस क्षेत्रको ठूलो घटना हो। हामीले यत्रो अपराध भएको पहिलो घटना सुन्दै छौं।’ उनी भन्छन्, ‘काठमाडौंको चोकैपच्छिे पुलिस—प्रशासन छ। सीसी क्यामरा छ। यत्रो ठूलो घटना हुँदा ? उनीहरूको नजर कहाँ हरायो ?’ हत्याको घटना एकाबिहानै सुन्दा धेरै दुःख लागेको उनीले  सुनाइन्।

गाउँमा घटनाहरू हुँदा स्थानीयले प्रहरीलाई फोन गर्दा पनि समयमा नआउने गरेको स्थानीयहरूले गुनासो गरेका छन्। ‘टोलमा कुनै घटना भयो भनेर हामीले प्रहरीलाई फोन गर्छौं। तर, समयमा पुलिस आइपुग्दैन,’ थापा भन्छन्, ‘काठमाडौंको ठाउँ बसेर के गर्नु ? अपराधी भागेर कहाँ पुगिसकेका हुन्छन्। घटना भएपछि प्रहरी आइपुग्छन्।’ घटना स्थलमा भेटिएकी सुकुम्बासी बस्तीकी पविला परियार घटना सुनेर चकित भएको बताइन्। ‘यहाँ बसेको धेरै भयो। मैले यत्रो ठूलो हत्याको ठूलो घटना सुनेको पहिलोपटक हो,’ उनी भन्छिन्, ‘सरकारमा बस्ने सबै मान्छे काठमाडौंमा बस्छन्। प्रहरीका ठूला हाकिम पनि यही बस्छन्। सरकार पनि त यहीबाट सञ्चालन हुन्छ। अनि यही ठाउँ यत्रो असुरक्षा  किन ?’

सहरमै असुरक्षा छ भने गाउँको अवस्था कस्तो होला ? भन्दै शान्ति टोलकी ३६ वर्षीय शान्ति नेपालीले प्रश्न गरिन्। ‘घटना भएको ठाउँनजिकै प्रहरी बस्छन्। अनि यो ठाउँमै यस्तो घटना हुन्छन् ? सोच्न सक्दैनौं हामी,’ उनी भन्छिन्, ‘ठाउँका ठाउँ चार—चार जना मारिदा गाउँघर, विकट ठाउँ, जहाँ कोही नभएको ठाउँमा कस्तो होला प्रहरी सुरक्षा ?’
 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.