वन्यजन्तुले किसान हैरान : पाकेको बाली वन्यजन्तुले खाइदिन्छन्, राहत पाउँदैनन् गरिब किसान
कृषि प्रधान देशमा, किसानलाई दुःखैदुःख। कहिले मल नपाइने, कहिले बिउ नपाइने। जेनतेन बाली हुर्कायो, त्यो पनि भित्र्याउन नपाइने। कतै बँदेलले बालीनाली नष्ट गरिदिन्छ, त कतै बाँदरले खाइदिन्छ। भित्र्याउन ठिक्क पारेको बेला वन्यजन्तुले नष्ट गरेपछि किसानले के गर्ने ? क्षतिपूर्ति मागौं, सरकारले जम्मा १० हजार दिने भनेको छ। त्यति रकमले त बिउमा भएको खर्च पनि उठ्दैन। अर्कोतिर, त्यही १० हजार लिन पनि दशथरी सास्ती भोग्नुपर्छ।
पछिल्लो समय मुलुकभर बाँदर र बँदेलबाट देशभरैका किसान पीडित छन्। तर, वन्यजन्तु रोकथामका लागि सरकारले ठोस कार्यक्रम बनाएको छैन। संघीय संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा वन्यजन्तुको आतंकबारे छलफल भयो। तर ठोस निष्कर्ष निस्केन। समिति सभापति आरजु राणा देउवाले बाँदर नियन्त्रणका लागि नयाँ उपायको खोजी गर्नुपर्ने सुझाव सरकारलाई दिइन्। उनले बाँदरको संख्या घटाउन परिवार नियोजन विकल्प हुन सक्ने सुझाव दिएकी थिइन्।
सधैं बाँदरकै दुःख
भोजपुरका किसानले बर्सेनि भोग्दै आएको समस्या हो– बाँदरको आतंक। जब अन्नबाली पाकेर भित्र्याउने बेला हुन्छ, जंगलबाट बाँदरको बथान आउँछ र क्षणभरमै भएभरको बालीनाली नष्ट गरिदिन्छ।
बाँदरले पाकेको मकैबाली सिध्याउने, च्यातिदिने, बिगारिदिने गर्छ। भोजपुर–५ बोखिम मुडेका पर्कट कार्की दुई सयदेखि तीन सयको हाराहारीमा बाँदरको हूल आउने र पाकेका मकैबाली नष्ट गर्ने गरेको बताउँछन्। टेम्केमैयुङ– ५, खावा, केराबारीका भगतमान राईलाई पनि मकैबाली जोगाउने चिन्ता जहिल्यै हुन्छ। उनले दुई वर्ष त एक दाना पनि मकै भित्र्याउन पाएनन्। बाँदरले १४ रोपनीको मकै सखाप पारेपछि घरमा एक गेडा अन्न पनि भएन। अहिले पनि उनी मकैबारीमै दिनरात पहरा दिन्छन्। बाँदरले हैरान दिएपछि वैकल्पिक समाधानका लागि खोर बनाउने, बुख्याँचा राख्नेसमेत गरे। तर पनि कुनै डेग चलेन। हैरानी उस्तै छ।
महिला र बालबच्चालाई घर छाड्न सुरक्षा नहुने भएपछि बसाइँ जानुको विकल्प नभएको रामप्रसाद राई गाउँपालिका—४, दलगाउँकी जुना दर्जी सुनाउँछिन्। ‘घर बसौं न अन्न राखिदिन्छ, न सामान नै। ग्वारग्वार्ती पस्छन्। खेत गयो बाँदर, घर आयो बाँदर’ उनले भनिन्, ‘जताततै बाँदरैबाँदर, पक्रिने मार्ने कुनै कानुन पनि छैन। अन्तिममा बसाइँ नै जानुपर्ने स्थिति बनाएको छ। बाँदर नआउने ठाउँतिर बसाइँ सर्नुपर्ने स्थिति आएको छ।’
जंगली बाँदरमात्र नभई भालु, दुम्सीले पनि अन्नबालीमा नोक्सानी पुर्याउने गरेको टेम्केमैयुङ गाउँपालिका—२, छिनामखु रुमलाका फुर्तेन्जी शेर्पाले सुनाए। पोहोरसाल मात्रै उनको २५ रोपनीमा लगाएको मकै बाँदर र भालुले सखाप पारेको थियो। भालुले मकै सिध्याउने भएपछि उनी रातभर पहरा दिएरै यो वर्षको पनि मकै रुँघ्ने गरेका छन्। तर, सरोकारवाला निकायले वन्यजन्तुको आतंकबाट किसानलाई छुट दिलाउन बेवास्ता गरेको कृषक तीर्थप्रसाद प्रधानको गुनासो छ। जंगली जनावरले नष्ट गरेको बालीनालीको क्षतिपूर्ति दिने व्यवस्था जिल्लाका ९ वटै स्थानीय तहले गर्न सकेका छैनन्।
टेम्केमैयुङ गाउँपालिकाकी उपप्रमुख रमादेवी राईका अनुसार बाँदरको समस्या न्यूनीकरणका लागि खोर व्यवस्थापनमा बजेट छुट्ट्याए पनि क्षतिपूर्तिका लागि कुनै ठोस योजना छैन। ‘बाँदरबाट हुने अन्नबालीको क्षतिपूर्ति व्यवस्थापनका लागि राज्यले नै नयाँ योजना ल्याए हुन्थ्यो, हाम्रो जस्तो ग्रामीण क्षेत्रमा ठूलो बजेट नहुनाले किसानलाई क्षतिपूर्ति दिन सकेका छैनौ’, उनले भनिन्।
मधेसका किसानलाई बँदेल र नीलगाईकै डर
मधेस प्रदेशका आठै जिल्लामा बँदेल र नीलगाईजस्ता जंगली जनावरको आतंकबाट किसान पीडित हुने गरेका छन्। रौतहटको दुर्गाभगवती गाउँपालिका भलोहियामा किसानहरूले खेतबारीमा धनियाँ, केरा, आलुलगायतका फसल लगाउनै छाडेको बताउँछन्। ‘पहिलापहिला त खेतमा यति धेरै धनियाँ फल्थ्यो कि वर्षैभरि घर परिवारका लागि बचाएर बाँकी रहेको हटियामा बेचेर राम्रो रकम आउँथ्यो। तर, अहिले त्यो अवस्था छैन,’ भलोहियाका चन्दन झा भन्छन्, ‘अहिले खेतबारीमा नीलगाईले आतंक मच्चाएको छ। कुनै पनि बाली सप्रिनै दिँदैन। जनावर धपाउँदै आपत् हुन्छ।’
धनुषाको बटेश्वर गाउँपालिकामा बाँदरले उधुम मच्चाउन थालेपछि किसानको रातदिन खेतमै बित्न थालेको छ। धनुषाकै विदेह नगरपालिकामा बँदेल र नीलगाईले बालीनाली सप्रिनै नदिएपछि किसानलाई निकै सास्ती व्यहोर्न थालेका छन्। ‘जुनसुकै बाली लगाउँदा पनि नीलगाई र बँदेलले खाइदिन्छ,’ रामचन्द्र महतो भन्छन्, ‘यी जनावरहरूलाई न त नियन्त्रण गर्न सकेका छांै, न त यिनको आतंकबाट जोगिन सकेका छौं।’
नीलगाई र बँदेललाई संरक्षित जनावरको सूचीमा राखिएको छ। यी जनावरलाई मार्न पाइँदैन। तर जंगली जनावरहरूले नष्ट गरेको बालीनालीको क्षतिपूर्ति स्थानीय सरकार, प्रदेश सरकार वा अन्य कुनै निकायले नदिँदा किसान थप पीडामा छन्। वन फँडानी बढेपछि जंगली जनावरहरू आहार खोज्दै खेतमा पस्ने गरेको वन अधिकृत सुरेश शर्मा बताउँछन्। ‘यी जनावरहरूलाई मार्नुभन्दा पनि यिनीहरूको बासस्थान कसरी सुरक्षित गर्ने तथा बस्ती र खेतमा पस्नबाट कसरी रोक्ने भनेर तीनै तहको सरकारले नीति बनाउनुपर्छ,’ शर्माले भने।
जनावर रोक्न तारबार
चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जबाट आउने जंगली जनावरका कारण मध्यवर्ती क्षेत्रका बासिन्दा हैरान छन्। जंगली जनावरले बालीनाली नष्ट गर्ने र ज्यानै लिनेसम्मका घटना बढेका छन्।
पछिल्लो समय बढ्दै गएको मानव र वन्यजन्तुको द्वन्द्वले गर्ने धनजनको क्षतिलाई न्यूनीकरण गर्न बागमती प्रदेश सरकारले निकुञ्ज नजिक रहेका बस्तीमा तारबार लगाउने काम गरेको छ। त्यसका लागि प्रदेश सरकारले चालू आर्थिक वर्ष २०८०/०८१ मा ३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।
प्रदेश सरकारले आर्थिक वर्ष २०८०/०८१ मा चितवन राप्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रका स्थानीयसँग समन्वय गर्दै चितवनको खैरहनी नगरपालिका स्थित १२ नं वडा र राप्ती नगरपालिका ६ र ८ नं वडामा दुई करोड रुपैयाँ विनियोजन गरिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सूचना अधिकारी अनुप अधिकारीले बताए। यस्तै प्रदेश सरकारले नुवाकोट जिल्लामा रहेको तादी गाउँपालिका ४ स्थित काउले भंगेरीमा र दुब्चेश्वर ६ नं वडामा एक करोड विनियोजन गरेको छ।
बागमती प्रदेश सरकारले मानव र वन्यजन्तुबीचको द्वन्द्वले मानवमा पारेको असरसँगै कृषि क्षेत्रमा हुने गरेको क्षतिलाई मध्यनजर गर्दै विभिन्न काम गर्दै आइरहेको मन्त्रालयले जनाएको छ। प्रदेश सरकारले आर्थिक वर्ष २०७५/०७६ मा चितवनमा एक किलोमिटर तारजाली गरेको थियो। आर्थिक वर्ष २०७६/०७७ मा दुई दशमलव तीन किलोमिटर, आर्थिक वर्र्ष २०७७/०७८ देखि २०७६/०७७ मा आठ दशमलव पाँच किलोमिटर तारजाली र बाँध बनाएको मन्त्रालयले जनाएको छ। यस्तै आर्थिक वर्ष २०७८/०७९ मा एक दशमलव ९६ किलोमिटर र आर्थिक वर्ष २०७९/०८० मा दुई दशमलव ५९ किलोमिटर गरी हालसम्म १३ दशमलव ०५७ किलोमिटर तार जालीका साथै बाँध निर्माण गरेको मन्त्रालयले बताएको छ।
वन्यजन्तुबाट १५ सय ७४ वटा पशुधन क्षति
गण्डकी प्रदेशमा बाँदरले फलफूल, तरकारी, अन्नबालीलगायतमा क्षति पुर्याउने गरेको छ। बाँदरले खेतीपाती खाएर नष्ट गर्ने भएकाले गाउँका किसानले खेती गर्नै छोडेको अवस्थासमेत छ। खेतीपातीमा बाँदर आतंककै कारण कति बाली नोक्सान भयो र बाँदरकै कारण कति जमिन बाँझो छ भन्ने तथ्यांक अहिलेसम्म नभएको वन निर्देशनालयले जनाएको छ।
गण्डकी प्रदेशमा आर्थिक वर्ष २०७९/०८० मा वन्यजन्तुबाट गाई, भंैसी, गोरु, भेडा, बाख्रालगायत पशुधनको क्षतिको संख्या १ हजार ५ सय ७४ छ। १ हजार १ सय ७ वटा विभिन्न घटनामा १ हजार ५ सय ७४ वटा घरपालुवा जनावरको मृत्यु भएको हो।
‘मकै नपाकुन्जेल बोट समाएर बस्नुपर्छ’
लुम्बिनी प्रदेशका पहाडी जिल्लाहरूमा बाँदरले किसानलाई हैरानी दिएको छ। पाकेको बाली भित्र्याउन नपाई किसानहरूको खेतबारीबाट बाँदरले नष्ट गर्ने गरेको छ।
गुल्मी, प्यूठान, अर्घाखाँची, रोल्पा, पाल्पा, पूर्वी रुकुम र दाङका पहाडी क्षेत्रहरूमा बाँदरको बिगबिगी छ। किसानका खेतबारीमा अहिले मकै छ। बाँदरले सबैभन्दा धेरै तनाव यही मकै भित्र्याउने समयमा दिने गरेको किसानहरूको प्रतिक्रिया छ।
‘मैले जान्दा बुझ्दासम्म बाँदरले सताइरहेको छ’, छत्रकोट गाउँपालिका– २ पल्लीकोटका सागर टण्डनले भने, ‘गाउँमा किसानहरूलाई सबैभन्दा समस्याको विषय बाँदर बनिरहेको छ।’ उनले गाउँमा किसानको मकै, कोदो, केराउ, मुला, आलु, सुन्तला, अम्बा, केरा, उखु र नास्पातीसमेत नष्ट गर्ने गरेको छ। बाँदरले खेतमा पाकिरहेको धानमा समेत क्षति पुर्याउने गरेको किसानहरू दुःखेसो गर्छन्।
‘काँचोमात्र होइन पाकेको बाली पनि बाँदरले खान दिएन’, मालिका गाउँपालिका– ५ छाप गुल्मीकी गीता अधिकारीले भनिन्, ‘नयाँ जनप्रतिनिधि आए पनि बाँदर धपाउने कार्यक्रम केही ल्याएनन्।’ बाँदरकै कारण गाउँमा खेतीपाती गर्नेहरू बर्सेनि घट्दै जान थालेको किसानहरू सुनाउँछन्।
खेतीबालीको सधैं पिरलो
बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र तथा खाता जैविक मार्गका स्थानीयलाई वन्यजन्तुबाट बालीनाली जोगाउने सधैं पिरलो छ। दुःख गरेर अनाज लगायो स्याहार्ने बेलामा रित्तै हात। सरकारले पीडित समुदायलाई क्षतिको राहत दिने गरे पनि प्रक्रिया झन्झटिलो हुँदा किसानहरू दिक्क छन्।
- बाँदरले पाकेको मकैबाली सिध्याउने, च्यातिदिने, बिगारिदिने गर्छ।
- मधेस प्रदेशका आठै जिल्लामा बँदेल र नीलगाईजस्ता जंगली जनावरको आतंकबाट किसान पीडित हुने गरेका छन्।
- नीलगाई र बँदेललाई संरक्षित जनावरको सूचीमा राखिएको छ। जंगली जनावरहरूले नष्ट गरेको बालीनालीको क्षतिपूर्ति स्थानीय सरकार, प्रदेश सरकार वा अन्य कुनै निकायले नदिँदा किसान थप पीडामा छन्।
- गण्डकी प्रदेशमा खेतीपाती खाएर नष्ट गर्ने भएकाले गाउँका किसानले खेती गर्नै छोडेको अवस्था छ।
भारतको कर्तनियाघाट वन्यजन्तु आरक्ष र बर्दिया राष्ट्रिय निकुञ्ज जोड्ने खाता जैविकमार्ग वन्यजन्तुको अत्यधिक ओहोरदोहोर गर्ने क्षेत्र हो। जसका कारण पनि स्थानीय चपेटामा परेका छन्। खाता क्षेत्रमा बाँदर, हात्ती, बँदेलले यतिखेर मकैलगायत धानबाली नोक्सान गर्ने गरेको खाता समन्वय समिति बर्दियाका अध्यक्ष हरि गुरुङले बताए। वन कार्यालयले विद्युतीय तारबार लगाए पनि अधिकांश क्षेत्रमा छेकबार नहुँदा नोक्सानी हुने क्रम बढ्दो छ। ‘वन्यजन्तुको समस्या धेरै छ। राज्यले उचित क्षतिपूर्ति पनि दिनुपर्छ,’ उनले भने।
वन्यजन्तुले खाइदिन्छन् किसानको ‘गास’
दैलेखको भैरवी–२ का तुलाराम विष्टको बारीमा मकै पाक्दै थियो। तर जंगली बँदेल र बाँदरले खाएर सखाप पारिदिए। केही साताभित्र भित्र्याउने तयारीमा रहेको मकै जंगली जनावरले खाइदिएपछि विष्टको परिवारलाई अब वर्षभररि कसरी छाक टार्ने भन्ने चिन्ताले पिरोलेको छ। पाक्दै गरेको मकै जोगाउन बारीमै कुरेर बस्दासमेत जंगली जनावरबाट जोगाउन नसकिएको विष्टले दुःखेसो पोखे।
सुर्खेतको बराहताल–१ का सुर्जा कार्कीको पाक्दै गरेको बाली बाँदरले नोक्सान गरेका छन्। वर्षभरि खाने अन्न बारीमै बाँदरलगायतका जंगली जनावरले सखाप पारेपछि उनलाई निद्रा पर्न छाडेको छ। ‘जंगली जनावरले हाम्रो गाँस नै खोसे,’ उनले भनिन्, ‘जब बाली पाक्न थाल्छ, तब जंगली जनावरले नोक्सान गरिदिन्छन्। कहिल्यै पनि राम्रोसँग बाली भित्र्याउन पाउँदैनौं।’ जंगली जनावरबाट वर्षौंदेखि आफूहरू हैरान भए पनि सरकारले क्षतिपूर्ति र राहत नदिएको उनको गुनासो छ।
वर्षभरि खाने अन्न भित्र्याउने बेलामा बाँदरले बारीमै मकै सखाप पार्न थालेपछि जाजरकोटको नलगाड नगरपालिका–४ पिपलचौरका मगबहादुर सिंहलाई अब परिवारको छाक कसरी टार्ने भन्ने चिन्ता छ। हिजोआज बाँदर धपाउनकै लागि उनी दिनभर बारीमै बस्छन्। बाँदरले मकै खाइदिने र नष्ट गर्न थालेपछि मकै जोगाउन उनले बारीमै कुर्नु परेको हो। कर्णालीका किसानलाई बर्सेनि जंगली जनावरको आतंक झेल्नुपर्ने बाध्यता छ। वर्षात्को समयमा मुख्य खेती धान र मकै तथा हिउँदको समयमा गहुँलगायतका बाली पाक्नै लाग्दा जंगली जनावरले नोक्सान गर्दै आएका छन्।
बाँदर धपाउन चौकीदार
बाँदरले पाक्दै गरेको बाली नष्ट गर्न थालेपछि जुम्लामा चौकीदार राखिएको छ। सिंजा गाउँपालिका–६ भादगाउँका स्थानीयले बाली जोगाउनका लागि गाउँमा चौकीदार राखेका हुन्। पाक्दै गरेको बाली बाँदरले सखाप पार्न थालेपछि स्थानीयले पारिश्रमिक दिने गरी चौकीदार राखेका हुन्। स्थानीय चक्रबहादुर रावतले बाँदरले बाली सखाप पार्न थालेपछि बाली जोगाउन गाउँमा चौकीदार राखिएको बताए।
गाउँकै ३४ वर्षीय प्रेमबहादुर दमाईलाई चौकीदार बनाइएको हो। बाँदर धपाएबापत उनले मासिक १६ हजार ५ सय रुपैयाँ पारिश्रमिक पाउँछन्। उनको पारिश्रमिकका लागि गाउँका १ सय ६५ घरधुरीले मासिक एक सय रुपैयाँका दरले उठाउँदै आएका छन्। चौकीदारले रेखदेख गर्न थालेपछि बाँदरले बाली नोक्सान गर्ने क्रम कम भएको स्थानीयको भनाइ छ।
दिउँसो बाँदर, राति बँदेल र दुम्सी
सुदूरपश्चिममा बर्खे बाली जोगाउन किसानलाई हम्मेहम्मे छ। दिउँसो बाँदरले बालीनाली सखाप पार्छ भने राति बँदेल र दुम्सीले। पाक्न तयार भएको मकैबालीमा जंगली जनावरले सखाप पारेको बैतडी मेलौली–३ मलेनाका हर्कसिंह ठगुन्नाले बताए। जंगली जनावर बँदेलको बथान नै बारीमा पसेर गाउँको सबै मकै सखाप पारेको उनले जनाए। ‘बैतडीका अधिकांश स्थानमा बाँदर, बँदेल, दुम्सी र भालुले बालीनाली सखाप पार्ने गरेको छ’, पाटन–३ का मानसिंह विष्टले भने, ‘मकै खान आएका जनावर धपाउनै सकिँदैन। उल्टै मान्छेमाथि आक्रमण गर्छन्।’
सरकारले हालैमात्र जंगली जनावर बाँदरले पनि बालीनालीमा नोक्सानी पुर्याए राहत दिने व्यवस्था गरेको छ। तर राहत लिनको लागि निकै झन्झटिलो हुने किसानहरूको गुनासो छ। क्षतिपूर्तिका लागि हालसम्म करिब एक सयभन्दा बढी फाइलहरू पेस भएको भए पनि रीतपूर्वक नपुगेको डिभिजन वन कार्यालय बैतडीका प्रमुख भीमप्रसाद कँडेलले बताए।
स्थलगत निरीक्षणको संयुक्त फोटो अनिवार्य गरिएको भए पनि राहतका लागि पेस गरिएका अधिकांश फाइलमा उक्त विवरण नपठाएको उनले बताए। बालीनालीमा क्षति भएको प्रमाणित भए वर्षमा एक पटक अधिकतम १० हजार रुपैयाँसम्म राहत पाउने डिभिजन वन कार्यालय बैतडीका प्रमुख कँडेलले जानकारी दिए।
अछामका किसान दीपा आउजीले जंगली जनावरले मकै, धान, कोदो र तरकारी बालीमा क्षति पुर्याएको बताइन्। समयमै पानी नपर्ने र सिँचाइको सुविधा नहुँदा बाझै रहेका जग्गा पछिल्लो समय जेनतेन गरी खेतबारीमा लगाएको मकै धान र कोदो बाँदर र बँदेलले नष्ट गर्न थालेपछि कतिपय किसानहरूले खेती गर्नसमेत छोडेका छन्।
रातभरि जाग्राम बसेर पनि बाली जोगाउन नसकेको साँफेबगर– ३ की दीपा आउजीले बताइन्। गाउँका स्थानीय, काम छोडेर बाँदर भगाउने काममा जुटेका छन्। चौरपाटी–५ लुंग्राको गहिलमा जंगली जनावर बँदेलले धान र मकैबाली सखाप पारेको महेश खड्काले बताए। दिउँसो बाँदर र राति बँदेल, भालुलाई भगाउनका लागि बारीमा बसेर पहरा दिनुपर्ने अवस्था रहेको खड्काले बताए। यसको समस्या समाधान र राहतका लागि पालिकाले पहल गर्नुपर्ने किसानहरूको भनाइ छ। चौरपाटी गाउँपालिका अध्यक्ष भीम साउदले जंगली जनावरहरूले पारेको समस्याका बारेमा आफू कहाँ धेरै गुनासा आउने गरेको बताए। उनले भने, ‘यो निकै चुनौतीको विषय बनेको छ। यहाँका स्थानीय कृषकहरू जंगली जनावरबाट निकै पीडित बनेका छन्।’
के छ क्षतिपूर्तिको व्यवस्था ?
जंगली जनावरले बाली नोक्सान गरेमा किसानलाई क्षतिपूर्ति तथा राहत उपलब्ध गराउने निर्देशिका सरकारले हालै जारी गरेको छ। साउन १ गतेबाट लागू भएको उक्त निर्देशिकामा निजी जमिनमा लगाएको बालीमा वन्यजन्तुले क्षति गरेमा राहत दिने उल्लेख छ। एक मौसममा लगाइएको बालीको एक पटक र वर्षमा दुई पटकमा नबढ्ने गरी बढीमा १० हजार रुपैयाँ राहत दिने व्यवस्था निर्देशिकामा छ।
बाँदर, नीलगाई, बँदेल, अर्ना, भालु, गैंडा र हात्तीले बाली नोक्सान गरेमा पीडित किसानलाई राहत दिइने निर्देशिकामा छ। तर, यो रकम निकै कम भएको किसानको गुनासो छ। अर्कोतिर निर्देशिकाअनुसार क्षतिपूर्तिका लागि प्रक्रिया पनि निकै झन्झटिलो भएको गुनासो किसानको छ।
प्रदीपचन्द्र राई/भोजपुर, मनिका झा/जनकपुरधाम, सरोज पौडेल/हेटौंडा, कृष्णमणि बराल/पोखरा, गंगा खड्का/गुल्मी, यादव आचार्य/बर्दिया, ललितबहादुर बुढा/सुर्खेत, कृष्ण विष्ट/बैतडी, गीता कुँवर/अछाम