बालेनको अराजक अभिव्यक्ति

बालेनको अराजक अभिव्यक्ति

जनप्रतिनिधि चुन्दा परिपक्व र राजनीतिक संस्कार भएको नेतृत्व छान्नु पर्दो रहेछ भन्ने शिक्षा दिएको छ ।

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहको अराजनीतिक अभिव्यक्तिले मुलुक तरंगित छ। आफ्नी श्रीमती चढेको सरकारी गाडीलाई ड्युटीमा रहेका आफ्नै सरकारका ट्राफिक प्रहरीबाट चेकजाँच गरेकोमा सरकारलाई ‘चोर सरकारको’ संज्ञा दिँदै देशकै केन्द्रीय प्रशासनिक केन्द्रमाथि आगो लगाइदिने अभिव्यक्ति दिई राज्यमाथि नै धावा बोलेका छन्। उनको यो अभिव्यक्तिले देशविदेश सबैतिर चर्चा–परिचर्चामात्रै नभएर समर्थन र विरोधमा क्रिया, प्रतिक्रियाहरूको बाढी नै आएको छ। वास्तवमा संविधानले निर्धारण गरेको तीन तहको सरकारमध्ये पनि सबैभन्दा शक्तिशाली रहेको र जनताको दैनन्दिनको सेवा प्रवाहसँग अन्योन्याश्रित सम्बन्धमा गाँसिएको स्थानीय सरकार काठमाडौं महानगरपालिकाको प्रमुखले यस्तो अराजनीतिक र अराजक अभिव्यक्ति दिनुले अन्तर्राष्ट्रिय जगत्लाई पनि चकित पारेको छ।

‘याद गर् चोर सरकार, म सिंहदरबार जलाइदिन्छु’ भन्ने बालेनको अभिव्यक्ति उनको लागि त सामान्य नै लाग्ला, उनको कट्टर समर्थकका लागि पनि ठीक गरे बालेनले, क्या असल र क्रान्तिकारी बालेन साह भनेर स्वाद मानेकै देखियो। तर, राज्यको एउटा तहको सरकारको कार्यकारी प्रमुखको यस्तो असैद्धान्तिक, अराजनीतिक र राज्यद्रोही अभिव्यक्तिलाई जिम्मेवार नागरिकले गम्भीर ढंगले लिई यसले मनोवैज्ञानिक र राजनीतिक रूपमा समग्र पक्षमा पार्ने नकारात्मक प्रभावलाई सही रूपमा विश्लेषण गर्न जरुरी छ।

राजनीतिक दललाई आधुनिक राजनीतिको जीवनरेखा पनि भन्ने गरिन्छ। यो विभिन्न व्यक्ति वा समूह मिलेर बनेको राजनीतिक संगठन हो। राजनीतिक दलले सरकार र जनताका बीचमा सम्पर्क सूत्रको रूपमा कार्य गर्दै आफ्ना विभिन्न विचारधाराका आधारमा जनतालाई संगठित गर्ने, प्रभावित पार्ने र परिचालित गर्ने गर्छन्। लोकतन्त्रमा दलहरूलाई एउटा सबैभन्दा महŒवपूूर्ण आधारभूत खम्बा मान्दै सबै राजनीतिक प्रक्रियाहरू राजनीतिक दल वरिपरि नै घुम्छन्। हरेक देशमा राजनीतिक दलको भूमिका समग्र राजनीतिक व्यवस्था र प्रणालीमा निकै महŒवपूर्ण रहन्छ। प्लेटोले भनेका छन् कि शासक दार्शनिकको बौद्धिक योग्यता राख्ने मानिस हुनुपर्छ। अरस्तु भन्छन्, ‘मानिस राजनीतिक प्राणी हो, कुनै पनि व्यक्ति वा समाजले जहिले पनि राजनीतिक विषयमा नै केन्द्रित हुन्छ।’

नेपालको राजनीतिक दलहरूमा बढ्दै गएको सत्ता केन्द्रित राजनीति, भ्रष्टाचार, अनियमितता, बेथिति र विकृति तथा विसंगतिको उपज बालेन र हर्क साङपाङ जन्मिएका हुन्। इतिहासमा यस्ता परिघटनाहरू विरलै घट्दछन्, जुन नेपालको काठमाडौं र धरानमा देखा परेको छ। वास्तवमा इतिहासमा कहिलेकाहीँ स्वतन्त्र व्यक्तिलाई जनताले रोजे पनि अन्ततः राजनीतिक दलबिना राजनीतिक प्रणाली दिगो हुन सक्दैन। बालेन र हर्कका बेलाबखतका अभिव्यक्ति र कार्यशैलीलाई विश्लेषण गर्दा शासनसत्तामा राजनीतिक सिद्धान्त, विचार र कार्यशैली भएका राजनीतिक दलमा आबद्ध भएका व्यक्तिबाट मात्रै कुशलतापूर्वक शासन सञ्चालन हुन सक्दोरहेछ भन्ने पुस्टि हुन्छ। स्वतन्त्र पात्रहरू खहरेका भेलजस्ता हुन्, राजनीतिक संस्कृतिको अभावमा निरन्तर टिक्न सक्दैनन्। जसको परिणाम यस्ता अराजनीतिक र अराजक अभिव्यक्ति आउने गर्दछन्।

नेपालको राजनीतिक इतिहासमा राणाकालदेखि आजसम्म आउँदा नेपाली कांग्रेसका बीपी कोइरालादेखि मनमोहन अधिकारी, मदन भण्डारी, गणेशमान, गिरिजाप्रसाद, देउवा, केपी, माधव नेपालहुँदै प्रचण्डसम्म आउँदा इतिहासका विभिन्न कालखण्डमा विभिन्न खाले संघर्ष, युद्ध, आन्दोलन आदिकै बीचबाट वैचारिक, राजनीतिक, सांगठानिक या संघर्षका थुप्रै विभीषिका पार गरेर मात्रै राजनीतिक नेताको रूपमा स्थापित भएका हुन्। ती नेताहरू २००७ सालको राणाविरोधी, पञ्चायत विरोधी आन्दोलन, झापा विद्रोह, जनयुद्ध र ऐतिहासिक जनआन्दोलनहरूबाट खारिएर, भूमिगत, अर्धभूमिगत र खुलाजस्ता सबैखाले संगठनात्मक र संघर्षका स्वरूपहरू परिचालित गर्दै अभ्यस्त भएर आजको स्थितिमा नेताहरू आइपुगेका हुन् र स्थापित भएका हुन्। राजनीतिक नेतृत्व भन्ने कुरा रातारात बन्दैन, रहर गर्दैमा वा एक पटक जनताद्वारा निर्वाचित हुँदैमा पनि बन्दैन। जनताले चुनेपछि, धेरै भोट दिएपछि निर्वाचित त ऊ हुन्छ तर राजनीतिक रूपमा परिपक्व हुनको लागि विभिन्न संघर्षका चरणहरू पार गर्नु पर्दछ। व्यक्तिले चाहँदैमा, जनताले पत्याएर निर्वाचनबाट लोकप्रिय मत ल्याउँदैमा त्यो व्यक्ति नेता भइहाल्छ भन्ने कुरा पनि सत्य होइन रहेछ। चुनावबाट जित्ने कुरा र नेता बन्ने कुरा, नेता बनाइदिने कुरा र आफैं नेतृत्वमा पुग्ने कुरा, नेता हो भन्ने कुरा र नेतृत्व हाँक्ने कुरा फरक–फरक रहेछ।

बालेन र हर्कहरू लोकप्रिय मत पाएर स्थानीय तहको सरकार प्रमुखमा पुगेको कुरा सत्य हो। यही कुरा नयाँ पार्टी खोलेर उदय भएका रवि लामिछानेहरूमा पनि लागू हुन्छ। नयाँ पार्टीका नेता होऊन् वा स्वतन्त्र व्यक्ति होऊन्, उनीहरूको बेला–बेलाका बोली कति धेरै विवादित भए, कति धेरै अपरिपक्व छन् भन्ने कुराले पनि विजयी हुँदैमा, नेता हुँदैन, पदमा पुग्दैमा पदीय दायित्व र मर्यादालाई कायम राख्न सकिँदो रहेनछ भन्ने कुरा राम्रोसँग पुष्टि भएको छ। तसर्थ, ‘मकै जतिसुकै सप्रिएर हलक्कै बढे पनि समय पुगेपछि मात्रै घोगा हाल्दछ’, भनेझैं बालेन, हर्क वा रविहरू जतिसुकै लोकप्रिय भए पनि, जतिसुकै फूर्तिफार्ती गरे पनि आखिर पाको नेता बनेर सत्ता सञ्चालन गर्नको लागि राजनीतिक सिद्धान्त, विचार, संगठन परिचालनको अनुभव र राजनीतिक संस्कृतिबाट अभ्यस्त हुनु आवश्यक छ। त्यसो नहुँदा यो वा त्यो रूपमा फेरी पनि यस्ता अभिव्यक्ति वा हर्कतहरू दोहोरिरहनुलाई अस्वाभाविक मान्नु हुँदैन

नेपालको संविधानमा तीन तहको सरकारको परिकल्पना गरेको छ। यसमा स्थानीय तहको सरकारलाई जनतासँग जनसम्बन्ध र जनसेवाको दृष्टिमा निकै महत्त्वकासाथ कार्यकारी अधिकार दिएको छ। एक तहको सरकारले अर्को तहको सरकारको निर्णयलाई स्वीकार गर्दै आपसी सहयोग र समन्वयका आधारमा काम कार्बाही गर्ने कुरालाई संविधानले निर्देशित गरेको छ। काठमाडांैका मेयर बालेनले ट्राफिक प्रहरीद्वारा कानुनद्वारा तोकिएको अधिकार क्षेत्रभित्र रहेर शनिबारको दिन सरकारी गाडीमाथि चेकजाँच गर्नुलाई आपत्तिको रूपमा लिनु हुँदैनथ्यो। स्थानीय तहले पनि आफ्नो सत्ता सञ्चालनको लागि आवश्यक नियम, कानुनहरू नगर÷गाउँ सभाहरूद्वारा निर्माण गरी लागू गर्ने संवैधानिक अधिकार प्रदान गरेको छ।

स्वतन्त्र पात्रहरू खहरेका भेलजस्ता हुन्, राजनीतिक संस्कृतिको अभावमा निरन्तर टिक्न सक्दैनन्। जसको परिणाम यस्ता अराजनीतिक र अराजक अभिव्यक्ति आउने गर्दछन्।

काठमाडौं महानगरपालिकाले गैरकानुनी रूपमा खडा गरिएको संरचनाहरू महानगर प्रहरीद्वारा भत्काउने, हटाउने, फुटपाथमा पसलेहरूको सामानहरू कब्जा गर्ने जस्ता कार्यहरू गर्दै आइरहेको छ र जनताहरू पनि नोक्सान भए पनि कानुन मान्न बाध्य छन्। स्थानीय तहको कार्यकारी प्रमुख जस्तो पदमा आसीन भएको मान्छेले केन्द्रीय सरकारको प्रशासनिक केन्द्र सिंहदरबारमा नै आगो लगाइदिन्छु, म कानुन मान्दिनँ भन्नु अराजनीतिकताको पराकाष्टा मात्रै नभएर अराजक, देशद्रोही सोचको अभिव्यक्ति र व्यक्तिवादको उत्कर्ष पनि हो। उनको अभिव्यक्ति ठीक छ भनी समर्थन गर्नु भनेको राज्यलाई अराजकतातिर लैजानु हो। तसर्थ, बालेनले यसलाई नसच्याउने हो भने काठमाडांै महानगर कार्यपालिकाले गरेका निर्णय र निर्देशनलाई कार्यान्वयन गर्न ।

यो घटनाले जनताले जनप्रतिनिधि चुन्दा परिपक्व र राजनीतिक संस्कार भएको नेतृत्व छान्नु पर्दो रहेछ भन्ने शिक्षा दिएको छ। राज्यको जिम्मेवार तहमा जनताद्वारा निर्वाचित भएका जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, वा अन्य जोसुकै जिम्मेवार पदमा पुगेका व्यक्ति वा नागरिकले कानुनको पालनामा विशेष ध्यान दिनुपर्ने कुरालाई आत्मसात् गर्नुपर्ने पाठ पनि सिकाएको छ। सचेत जनताले आफ्नो जनप्रतिनिधिले राम्रो काम गरेमा, सही कुरा बोलेमा ठीक भन्ने र नराम्रो, राष्ट्र तथा जनताको हितविपरीत बोलेमा वा कार्य गरेमा गलत भयो भनेर सुझाव दिने बानीको विकास गर्नु पर्दछ।

युवा पुस्ताले पनि ठीकलाई ठीक र बेठीकलाई बेठीक भन्ने संस्कृतिको विकास गर्नु आवश्यक छ। देशका सबै स्थानीय तहहरूको पनि माउ नेतृत्व भएको नाताले मेयर बालेनले नेपाली जनता र राष्ट्रका सामू आफूले सामाजिक सञ्जालमा दिएको अभिव्यक्ति सरासर गलत भएको भनेर आत्माआलोचना गर्नु सबैभन्दा उपयुक्त हुन्छ। जसले नेपालको राजनीतिक संस्कृतिको विकासमा थप योगदान दिनेछ।

रम्तेल, संविधानसभाका सदस्य तथा दलित मोर्चाका इन्चार्ज हुन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.