मध्यपहाडी लोकमार्गमा यात्रुलाई सास्ती
![मध्यपहाडी लोकमार्गमा यात्रुलाई सास्ती](https://annapurnapost.prixacdn.net/media/albums/photo-mahdya-pahadi-rukum_wDmGQUSc3e_9BIJdDXxmN.jpg)
रुकुम (पूर्व) : वर्षा सुरु भएयता राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग रुकुमपूर्व खण्डमा पहिरोले ठाउँठाउँमा क्षति पुर्याइरहेको छ। दिनैपिच्छे सानाठूला पहिरोले मध्यपहाडी लोकमार्गको रुकुमपूर्व सडकखण्डमा ओहोरदोहोर गर्ने यात्रुले सास्ती व्यहोरिरहेका छन्।
जिल्लाको भूमे गाउँपालिका–१ लुकुमदेखि सिस्ने गाउँपालिका–५ रुकुमकोटस्थित रानीकोटसम्मको ३५ किलोमिटर कालोपत्रे गरिएको छ भने रानीकोटदेखि रुकुम पश्चिमको सिमाना खोपीचारसम्मको ७ किलोमिटर र भूमे गाउँपालिका–१ लुकुमदेखि बागलुङको सिमाना पातिहाल्नेसम्मको १३ किलोमिटर गरी २० किलोमिटर कालोपत्रे गरिएको छैन। कालोपत्रे गरिएको र नगरिएको विभिन्न ठाउँमा पहिरो खसिरहेको छ।
कालोपत्रे भएको सडकखण्ड पनि आयोजना कार्यालयलाई ठेकेदारले हस्तान्तरण गरेको छैन। वर्षा हुनेबित्तिकै ठाउँठाउँमा पहिरो झर्ने गरेकोले सडक अवरुद्ध हुँदा यात्रुहरूले दुःख झेल्नु परिरहेको हो। मध्यपहाडी लोक मार्ग रुकुमपूर्व खण्डमा ५५ किलोमिटर रहेको छ। तर, सडक निर्माण सेवाका ठेकेदार भने यस विषयमा बेखबर रहेको प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माले बताए। हाल लगातार वर्षा भइरहेकोले पहिरो पनि लगातार गइरहेको प्रजिअ शर्माले बताए। पहिरो झर्दा यात्रु अलपत्र पर्ने गरेका छन्। साथै एक ठाउँको पहिरोको कारणले अर्को ठाउँमा माटोसहितको सडकमा पानी बग्दा अर्को ठाउँमा पनि पहिरो जाने गरेको शर्माले सुनाए।
पहिरो हटाउने र पहिरो जान नदिन माटोसहितको सडकमा बग्ने पानीलाई पहिरो नजाने ठाउँमा निकास गरिराखियो भने अन्य ठाउँमा सडक क्षति हुनबाट जोगाउन सकिने प्रजिअ शर्माले बताए। तर, दुःखको कुरा सडक निर्माणको लागि जिम्मा लिएको ठेकेदार सम्पर्कविहीन भएपछि अवरुद्ध सडक खुलाउन र पहिरो रोक्न स्थानीय सरकार र जिल्ला प्रशासनलाई गाह्रो भइरहेको शर्माले बताए।
शर्माले भने, ‘अवरुद्ध सडकलाई सडक आयोजना कार्यालय दैलेख, जिल्लाको स्थानीय सरकार र जिल्ला प्रशासनको पहलमा जसोतसो पहिरो हटाई सडक सञ्चालन गरिराखेका छौं।’ यद्यपि ठेकेदार सम्पर्कमा भए पहिरो हटाउने र सडकमा बग्ने गरेको पानीलाई ठेकेदारले पन्छाइराख्यो भने सडक क्षति हुनबाट बच्ने प्रजिअ शर्माको भनाइ छ। हालसम्म स्थानीय सरकारका जेसीभी र सडक आयोजनाको इन्धन सहयोग र प्रशासनको पहलमा अवरुद्ध सडक खुलाई सञ्चालन गरिएको शर्माले बताए।
आयोजना कार्यालय दैलेखका इन्जिनियर होमनाथ पौडेलका अनुसार आयोजना कार्यालयले पनि ठेकेदारलाई आफ्नो कार्यक्षेत्र नछोड भनी निर्देशन दिइराखेको छ। उनले भने, ‘तर, ठेकेदार आफ्नो कार्यक्षेत्रको सम्पर्कमा बस्दैनन्, हामीले पटकपटक ताकेता गरिराखेका छौं।’ भूमे गाउँपालिका–१ देखि बागलुङसम्मको १३ किलोमिटर खण्डमा भारत महादेवसिद्धि शाही जेभीले कालोपत्रेको लागि जिम्मा पाएको छ। यस खण्डमा कालोपत्रे तयारीको काम हाल अलपत्र अवस्थामै छ। यसैगरी सिस्ने गाउँपालिका–५ रानीकोटदेखि रुकुम पश्चिमको सिमाना ७ किलोमिटर खण्डमा कालिका प्यासिफिक जेभीले पनि कालोपत्रेको काम अलपत्र पारेको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)