बजारमा मिति नभएका आइसक्रिम छ्यापछ्याप्ती

बजारमा मिति नभएका आइसक्रिम छ्यापछ्याप्ती
सांकेतिक तस्बिर।

झापा : बालबालिका र किशोरकिशोरीले गर्मी समयमा बाहिरी खानेकुरामा सबैभन्दा बढी रुचाउने भनेकै आइसक्रिम हो। तर, बजारमा कस्तो आइसक्रिम बिक्री वितरण भइरहेको छ भन्ने बारेमा उनीहरू भने अनविज्ञ छन्। उद्योगहरूले जस्तो आइसक्रिम प्याकिङ गरी बजारमा पठाउँछन्। पसलेहरूले पनि आफ्नो जिम्मेवारी र कर्तव्य भुलेर त्यही आइसक्रिम उपभोक्तालाई बेचबिखन गरिरहेका छन्। 

अहिले झापाका बजारमा पाइने अधिकांश कम्पनीका आइसक्रिम उत्पादन मिति उल्लेख नगरी बजारमा बिक्री वितरणका लागि पठाउने गरेको पाइएको छ। उत्पादन मिति नलेखेर आइसक्रिम कम्पनीहरूले बालबालिका र किशोरकिशोरीको स्वास्थ्यमाथि गम्भीर खेलबाड गरिरहेको बजार अनुगमनको क्रममा भेटिएको छ। 

जिल्लाको सदरमुकाम भद्रपुर बजारको अनुगमन गर्दा कन्काई नगरपालिका– ३ स्थित श्री विन्ध्यवासिनी आइस उद्योग सुरुङगाबाट उत्पादित गज्जबको नामक आइसक्रिम र कुल्फी, अर्जुनधारा नगरपालिका– ६ स्थित कामख्या आइसक्रिम उद्योग, बिर्तामोडस्थित मनकामना आइसक्रिम उद्योग, मेचीनगर धाइजनस्थित ऋतिका डेरी उद्योगबाट उत्पादित पञ्चामृत ओरेन्ज बार कुल्फी, भेनिला आइसक्रिम, बिर्तामोड– ४ स्थित तपस्या कुल्फी तथा आइसक्रिम उद्योगको ओरेन्ज वार कुल्फी आइसक्रिमलगायत भारतीय कम्पनीका आइसक्रिम र कुल्फीको प्याकेटमा न त मूल्य उल्लेख छ, न त उत्पादन र उपभोग्य समाप्त मिति नै लेखिएको छ। कतिपय कम्पनीका आइसक्रिम तथा कुल्फीको प्याकेटमाथि स्टिकर टाँस गरी बिक्रीका लागि बजारमा पठाएको समेत फेला परेको भद्रपुर नगर बजार अनुगमन समितिका संयोजक तथा उपप्रमुख राधा कार्कीले बताइन्। 

सुरुङगाबाट उत्पादित गज्जबको नामक आइसक्रिम र कुल्फीको उत्पादन मिति जनवरी २०२३ र उपभोग्य मिति २०२३ जुलाई उल्लेख थियो। अहिले अगस्ट महिना चलिरहेको छ। त्यस्तै गज्जबको नामक चोको बारमा न मूल्य लेखिएको छ, न उत्पादन र उपभोग्य मिति नै। सो आइसक्रिम चन्द्रगढीको प्रसाईं फ्रुट्स एन्ड भेराइटिज पसलबाट फेला परेको थियो। फेला परेको आइसक्रिम, कुल्फी, चोकोवार, कुरकुरेलगायतको सामान अनुगमन टोलीले जफत गरेका थिए। 

भद्रपुर–४ स्थित मन्त्रीचोकको एक किराना पसलबाट कामख्या आइसक्रिमको प्याकेटमा उत्पादन र उपभोग्य मिति उल्लेख नगरिएको साथै त्यसलाई ढाकछोप गर्न उद्योगले रि–प्याकिङ गरी माथिबाट स्टिकर टाँसेर पुनः बिक्री लागि पठाएको पाइयो। जुन एक महिनाअघि नै उपभोग्य मिति सकिसकेको थियो। भद्रपुर—९ का विभिन्न पसलमा बेच्न राखिएको मनकामना आइसक्रिम, पञ्चामृत ओरेन्ज बार कुल्फी, भेनिला आइसक्रिम, तपस्या कुल्फी तथा आइसक्रिममा पनि त्यस्तै बेथिति देखियो। मनकामना आइसक्रिमले आफ्नो उत्पादनको प्याकेजिङमा माथिबाट स्टिकर टाँस गरेको, पञ्चामृत र तपस्याको कुल्फीमा उत्पादन मिति, मूल्य, उपभोग्य समिति उल्लेख नगरेको नगर उपप्रमुख कार्कीले बताइन्। चन्द्रगढीस्थित एनएमसी सहकारी पसलबाट भारतको अहमदबादबाट उत्पादित भाँडीलाल आइसक्रिममा पनि उत्पादन मिति नै लेखिएको थियो। उपभोग्य समिति १२ महिनामात्र लेखिएको थियो। बनेकै मिति नलेखिएपछि सो आइसक्रिमको बट्टाहरू अनुगमन टोलीले जफत गरेको थियो। 

बजारमा खान अयोग्य अखाद्य वस्तु अत्यधिक मात्रामा फेला परेको बताउँदै उपप्रमुख कार्कीले भनिन्, ‘बच्चाले खाने आइसक्रिम तथा कुल्फीको त कुरै नगरुम, फ्रिजमा हालेर बेच्ने भएकोले बच्चा र तिनका अभिभावकहरू त्यो अखाद्य हो भनेर थाहा नै पाउँदैनन्।’ 
‘अधिकांश कम्पनीका आइसक्रिम, कुल्फी, खट्टीमिठ्ठीमा उत्पादनसँगै उपभोग्य समिति पनि लेखिएको छैन, जुन स्वास्थ्यका लागि एकदमै हानिकारक छ,’ उनले थपिन्। ‘त्यस्ता आइसक्रिम खाएका बच्चाहरूमा एपेन्डिस हुने, झाडापखाला लाग्ने, निमोनियाजस्ता रोग लाग्ने गरेको अस्पतालहरूमा जाँदा भेटिन्छ,’ उनले भनिन्। 

कम्पनीको लेविल, उत्पादन र उपभोग्य मिति हेरेर मात्र बिक्री गर्न अनुगमनका क्रममा पसल सञ्चालकहरूलाई निर्देशन समेत दिएको उनको भनाइ छ। बजारमा बिक्री हुने चुक (अमिलो पदार्थ) पनि हामीले जफत गरेका छौं। ‘चटपटी र पानीपुरीमा बढी मात्रामा प्रयोग हुने चुक महिलाको स्वास्थ्यमा गम्भीर असर पुर्‍याउँदै आएको छ,’ उनले भनिन्, ‘चुकजस्तो अमिलो पदार्थ बिक्री नगर्न पसलहरूलाई सचेत गराएका छौं।’ 

त्यस्तै खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय झापाका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत नारायणप्रसाद भट्टराईका अनुसार बजारमा फेला परेको आइसक्रिम र कुल्फीमा खाद्य ऐनअनुसार लेबल नभएको, उत्पादन मिति, उपभोग्य मिति, ब्याच नम्बर र सम्मिश्रण नदेखिएको त्यस्ता वस्तुहरू बजारबाट जफत गरिएको बताए। 

जिल्लामा रहेका आइसक्रिम कम्पनीहरूलाई पटकपटक सचेत गराउने काम गर्दै आइरहेको बताउँदै खाद्य अनुसन्धान अधिकृत भट्टराईले भने, ‘प्याकिङ गरी बजारमा पठाउने खानेकुरामा अनिवार्य रूपमा खाद्य ऐनले तोकिएअनुसार सबै कुरा उल्लेख हुनुपर्छ।’ 
गत वर्ष आइसक्रिम उद्योगहरू अनुगमन गरिएको थियो। यस वर्ष अनुगमन गर्न बाँकी छ। ‘अब छ्ट्टिै ती उद्योगहरूको अनुगमन गर्ने र अनुगमनको क्रममा त्यस्ता त्रुटि फेला परे कानुनबमोजिम ठाउँका ठाउँ कारबाही गर्छौं,’ उनले भने। 

गत साउन १५ गते मनकामना आइसक्रिमभित्र उपभोक्ताले झिंगा फेला पारेका थिए। बिर्तामोड—२ बेलडाँगीका गोविन्द गिरीले प्याकेट खोलेर खाँदै गर्दा आइसक्रिमभित्र मरेको ठूलो झिंगा भेट्टाएको थियो। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.