भारत, नेपालमा राजा फर्काउने खेलमा लागेको छ : मोहन विक्रम सिंह
![भारत, नेपालमा राजा फर्काउने खेलमा लागेको छ : मोहन विक्रम सिंह](https://annapurnapost.prixacdn.net/media/albums/mohan-bikram-singh-02_cf10I6VGuc_1b6fw2WCmi.jpg)
धनगढी : नेपाल कम्युनिष्ट पार्टी (मसाल) का महामन्त्री मोहन विक्रम सिंहले भारत नेपालमा राजा फर्काउने खेलमा लागि रहेको आरोप लगाएका छन्।
राष्ट्रिय जनमोर्चाको प्रदेशस्तरीय पार्टी कार्यकर्ता प्रशिक्षण कार्यक्रमका लागि धनगढी आएका महामन्त्री सिंहले शनिबार धनगढीमा पत्रकारहरूसँग कुराकानी गर्दै यस्तो बताएका हुन। ‘नेपालमा सडक र सदन दुवैमा राजावादीहरूको संख्या बढिरहेको छ। त्यसको मलजल भारतले गरिरहेको छ।’
महामन्त्री सिंहले भारत र अमेरिकाको खुल्ला हस्तक्षेप भइरहेको र त्यसले नेपालमा गणतन्त्र र संघीयता गुम्न सक्ने सम्भावना रहेको दाबी गरे। ‘भारतको खुला हस्तक्षेप पहिलादेखि नै हो, अहिले पनि धर्मका नाममा नेपालमा खुलम खुल्ला हस्तक्षेप गरिरहेको छ। अमेरिका अब पार्टी नै खोलेर सदनमा पुग्ने प्रयास गरिरहेको छ। एमसीसी जस्ता मुद्दाहरूले पनि त्यसको पुष्टी हुन्छ।’
मुलुकका राजावादी शक्तिहरू विगतभन्दा निकै बलिया भएको बताउँदै महामन्त्री सिंहले भारतमा आगामी निर्वाचनमा पुनः कट्टरपन्थी हिन्दुवादीले जिते नेपाललाई ठूलो क्षति पुग्न सक्ने दाबी गरे। ‘भारतको आउँदो चुनावमा कसले जित्छ, त्यो भन्न त सकिँदैन, तर नेपालले जनआन्दोलनबाट प्राप्त गरेको उपलब्धी रक्षाका लागि भाजपाको सरकार भन्दा अरू सरकार बने नेपालका लागि फाइदा हुन्छ’ महामन्त्री सिंहले भने।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)