राष्ट्रिय जनमोर्चा बागलुङको अध्यक्षमा थापा चयन

बागलुङ : राष्ट्रिय जनमोर्चा बागलुङको अध्यक्षमा तेजबहादुर थापा (तिलक) चयन भएका छन्। जनमोर्चाको बिहीबार बसेको जिल्ला समितिको बैठकले थापालाई अध्यक्षमा मनोनित गरेको हो। जिल्ला अध्यक्ष राजेन्द्र ढुंगानाले दिएको राजीनामा स्वीकृत गर्दै बैठकले थापालाई अध्यक्षमा मनोनित गरेको सचिव भिमलाल पोखरेलले बताए।
अन्य जिम्मेवारी र कार्यव्यस्तता कारण जिल्ला अध्यक्षबाट राजीनामा दिएको निवर्तमान अध्यक्ष ढुंगानाले बताए। उनले आफू केन्द्रीय सदस्य समेत रहेको र घरायसी कारणले गर्दा धेरै समय दिन नसकेको कारण पार्टी अध्यक्षबाट राजीनामा दिएका हुन्।
गत फागुनमा जनमोर्चाको सातौं जिल्ला सम्मेलनले ढुंगानालाई अध्यक्ष र थापालाई सल्लाहकारमा सर्वसम्मत चयन गरेको थियो। थापालाई अध्यक्षमा मनोनित गरेपछि जनमोर्चाले निवर्तमान अध्यक्ष ढुंगानालाई सल्लाहकारमा मनोनित गरेको छ।
यस्तै जनमोर्चाको बिहीबार बसेको जिल्ला समितिको बैठकले भदौ मसान्तभित्रमा पालिका तथा वडा समितिको बैठक सम्पन्न गर्ने, ऐतिहासिक तीन अभियानअन्तर्गत २०८० असोज ५ गतेदेखि २७ गतेसम्म जिल्लाका ८५ वटै वडामा विशेष संगठनात्मक अभियान सञ्चालन गर्ने बताएको छ।
यस्तै दशैं तिहारको सन्दर्भमा सबै वडा तहले वर्तमान राजनीतिक परिस्थिति र यसले पारेको प्रभाव, बढ्दै गइरहेको वैदेशिक हस्तक्षेप, लोकतान्त्रिक प्रणालीमाथि हुन सक्ने हस्तक्षेप लगायतका विषयमा छलफल, अन्तरक्रिया कार्यक्रम पुनर्मिलन कार्यक्रम समेत निर्णय गरेको अध्यक्ष थापाले बताए।
प्रतिक्रिया दिनुहोस !
