फेरि सदाचारका कुरा
![फेरि सदाचारका कुरा](https://annapurnapost.prixacdn.net/media/albums/Bhagbat_khanal_yQUiTTM0Gq_QEY1E8rBzd.jpg)
अगुवाहरूले समयमै नीति र पद्धतिको समुचित व्यवस्था गर्न सकेको भए आज यो मुलुक र अगुवाहरूकै मुहार उज्यालो हुनेथियो।
एउटा विकसित देशको कार्यालयको परिदृश्य हो यो। एउटै हलमा ४०–५० जना कर्मचारी काम गरिरहेका छन्। पानी खान मन लागे त्यसको व्यवस्था छ। चिया खाजा खाने तोकिएको समय र स्थान छ। कार्यालयमा कोही भेट्न आउँदैन। चिया पिलाउने पियन या सवारी हाँक्ने ड्राइभरको दरबन्दी छैन। सानोदेखि माथिल्लो तहसम्मका लागि ‘मेरो कुर्सी’, ‘मेरो कोठा’ र ‘मेरो कम्प्युटर’ छैन। हलमा लहरै कुर्सीहरू राखिएका छन्। डाइरेक्टर साहेब पनि जुन कुर्सी खाली भेटिन्छ, त्यसैमा गएर बस्छन्।
आफ्नो कामसित सम्बन्ध राख्ने हो। ठूलो हाकिम आयो भन्दैमा कामबाट उठेर नमस्ते गर्नु पर्दैन। ज्येष्ठ या कनिष्ठ, जसले अभिवादन गरे पनि हुन्छ। ठूलो पद पाउनु नै ठूलो सम्मान र अभिमानको हकदार हुनु होइन। ठूलो पदको तात्पर्य हो, ठूलो जिम्मेवारी। ठूलो पदको अर्थ हो, कनिष्ठको तुलनामा धेरै तलब। सबैले निजी सवारीसाधन प्रयोग गर्छन्।
आफ्नै पैसाले किनेको इन्धन हाल्छन्। साधन आफैं हाँक्छन् या सार्वजनिक साधनमा आवतजावत गर्छन्। सरकारी काममा कतै जानु परे अफिसको गाडी प्रयोग गर्न सकिन्छ। त्यहाँ पनि भ्रष्टाचार त हुन्छ, तर यता झैं तीव्र र सघन रूपमा होइन। त्यहाँ सदाचारको उल्लंघन सहज र सुलभ छैन।
कोही पनि ‘अब लोभी हुनुपर्यो’ भनेर विचारपूर्वक लोभी हुँदैन। लोभ मानवको सनातन स्वभाव हो। मनुष्यको हृदयको प्रत्येक स्पन्दनले आफ्नै उन्नतिको प्रेरणा दिइरहेको हुन्छ। ईष्र्या, द्वेष, आशक्ति र अभिमान मानिसको स्वभाव हो। उसलाई नैतिक शिक्षा दिएर मात्र तह लगाउन कठिन छ। हिन्दुस्तानमा रातदिन नैतिकता, सदाचार र संयमको पाठ सिकाउने तथाकथित योगीहरू आफ्नो काम वासनाको आवेगलाई थाम्न नसकेर जेलमा सडिरहेका छन्।
समाजमा नैतिक शिक्षाको बहुतै ठूलो महत्त्व छ। परन्तु त्यसको मात्र भर गरेर ढुक्क हुन सकिन्न। कसैलाई सदाचारको उच्चस्तरीय दीक्षा दिनुहोस्। दीक्षितलाई भव्य दीक्षान्त समारोहमा ‘सदाचार शिरोमणि’को उपाधिले विभूषित गर्नुहोस्। परन्तु मान्छेको मन त चञ्चल नै रहनेछ।
इन्द्रले एकसेएक संयमित र नीतिपरायण मानिएका ऋषिहरूलाई भ्रष्ट बनाउन सुन्दरी अप्सराहरू खटाएर पठाउँथे। तपस्या गर्दागर्दा शरीरलाई ठाडै सुकाएका ऋषिहरू पनि अप्सराको हाउभाउ र कटाक्षयुक्त मुस्कान देखेर विचलित हुन पुग्थे। अनुकूल वातावरण पाउनेबित्तिकै कामुकता रसाउन थालेका अनेकौं उदाहरण छन्। ऋषिमुनिहरूमा मात्र त्यसरी आसक्ति रसाएको होइन। सुन्दर र बलिष्ठ देह भएका महादेवलाई देखेर ऋषि पत्नीहरू पनि उन्मक्त हुन पुगेका कथाहरू छन्।
एक समयमा हाम्रै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि इन्द्रको नीति अपनाएको थियो। उसले आफैं नयाँ नयाँ कटकटे नोटरूपी अप्सरा र महादेवहरू पठाएर कर्मचारीलाई लोभ्याउँदै बल्छीमा पार्दै गर्ने नीति लिएको थियो। जो आफैंमा अनैतिक र असदाचारी तरिका थियो। ठूलाठूला मानिस पनि मनको आवेग र चित्तको चञ्चलतालाई दमन गर्न असफल हुन्छन्। दुर्भाग्यवश समाजको नेतृत्व गर्ने व्यक्तिहरू नै अनीति र अनाचारको अनुचित मार्गको अनुसरण गर्न पुग्छन्। चञ्चल चित्तलाई लगाम लगाउन नसक्दा भरोसा गरिएका मानिसले समेत बाटो बिराउँछन्। अगुवाहरूले उपयुक्त समयमै नीति र पद्धतिको समुचित व्यवस्था गर्न सकेको भए आज यो मुलुक र अगुवाहरूकै मुहार पनि उज्यालो हुने थियो।
नियत खराब हुने किसिमको अनुकूल अवस्था भेट्टाउनै नसक्नेगरी पद्धति निर्माण गर्नु आजको आवश्यकता हो। त्यसरी निर्माण गरिएको पद्धतिमा निर्लाेभ, अनाक्रमण र निष्कामताको अभ्यास हुँदै जान्छ।
नियत खराब हुने किसिमको अनुकूल अवस्था भेट्टाउनै नसक्नेगरी पद्धति निर्माण गर्नु आजको आवश्यकता हो। त्यसरी निर्माण गरिएको पद्धतिमा निर्लाेभ, अनाक्रमण र निष्कामताको अभ्यास हुँदै जान्छ। अनि मन पनि क्रमशः शान्त र स्थिर हुँदै जान्छ। कुनै व्यक्ति तुलनात्मक रूपमा शान्त र धीर रहेछ भने उसको परिवार या कार्यस्थलमा त्यस्तो अभ्यास हुँदै आएको छ भनेर बुझ्नुपर्छ। कतिपय व्यक्तिमा समाज र कानुनको भयको कारणले पनि सदाचार कायम भएको पाइन्छ। परन्तु भयसृजित सदाचारभन्दा पद्धति र अभ्याससृजित स्वशासित सदाचार उत्तम हो।
हाम्रा प्रधानमन्त्रीले ललिता निवास प्रकरणमा हालैको ‘न्यायिक सक्रियताप्रति’ गुनासो पोख्नु भएछ। तरल अवस्थामा न्यायालय सक्रिय हुनुपर्ने परिस्थिति उत्पन्न हुन्छ भन्ने कुरा उहाँहरूले समयमै बुझ्नु जरुरी थियो। सोही प्रसंगमा साउन ३१ को अन्नपूर्ण पोस्ट्मा प्रधानमन्त्रीको अभिव्यक्ति छापिएको छ। ‘८, १० दिन त मलाई धेरै अप्ठ्यारो भयो। कुनै पनि सचिव केहीमा पनि सही गर्न नमान्ने। बैठक बस्न रुचि नराख्ने।’ किन यस्तो भयो ? किनभने हाम्रो राजनीतिक वृत्त कहिल्यै पनि पद्धति निर्माणतर्फ अग्रसर भएन।
नेपालजस्तो ‘सिस्टम’ निर्माण हुन नसकेको मुलुकमा व्यक्ति र कानुनबीचको सम्बन्ध सधैं प्रतिस्पर्धी हुन्छ। कानुनको नजरमा जो कोही पनि आनाचारी या सदाचारी हुन सक्छ। कानुन सदैव व्यक्तिप्रति बदलाको भावनाले प्रेरित हुन्छ। नेपालमा नीति र पद्धतिभन्दा कानुनको बोलबाला छ। नागरिकमाथि मुद्दा चलाएर दण्ड दिने अवस्था आउनु राज्यकै लागि सुखद कुरा होइन। यो उपायले त केवल ‘जस्तो कर्म त्यस्तै फल’को मात्र सन्देश दिन्छ। तथापि पद्धति निर्माण गर्न नसक्दासम्म यही उपाय नै अपनाइरहनुपर्ने अवस्था छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)