माओवादी बैठकमा बहस : आफैंले हिँडेको बाटो भुल्यौं कि !

माओवादी बैठकमा बहस : आफैंले हिँडेको बाटो भुल्यौं कि !
फाइल तस्बिर।

काठमाडौं : ढेड दशक अघिसम्म माओवादी पार्टीका नेताहरूले गाउँमा समान पहुँच र समावेशी आवाजको नारा बाँड्थे। परिवारवादविरुद्ध आगो ओकल्थे। कमिसनखोर र भ्रष्टाचारको कडा विरोध गर्थे। यतिसम्म कि पार्टीभित्र गलत गर्नेमाथि सुप्रिम कमाण्डर प्रचण्डले अनुशासनको वाण चलाउँथे। पार्टीको विचार, सिद्धान्त र कार्यनीतिलाई मूलमन्त्र ठान्दै नीति मिच्नेलाई माओवादी नेताले तह लगाइ छाड्थे। तर, अहिले माओवादीका नेताहरू नै पथभ्रष्ट भएको माओवादी केन्द्रको केन्द्रीय समितिको बिहीबारको बैठकमा चर्को कुरा उठेको छ। 

बैठकमा बोल्ने नेताहरूले भने, ‘हाम्रा नेताहरूको उठबस तस्करसँग भयो। गरिबलाई रुवाएर कम्युनिष्ट नेताहरू नै मिटरब्याज लिन्छन्। उसैले प्राकृतिक दोहन गरेर धन कमाउँछन्। यसले पार्टी र नेता बिग्रियो। माओवादी पार्टी ओरालो लाग्यो। आफैंले हिँडेको बाटो भुल्यौं कि !

पार्टी अध्यक्ष पुष्पकमल दाहाल स्वयम् दबाब, प्रभाव, अभाव, नातावाद, कृपावाद, परिवारवादमा फसेको बैठकमा कुरो उठाइएको छ। चाकडी, चाप्लुसी गर्नेहरूलाई नेताहरूले खल्तीबाट पद बाँड्दै आएको गुनासो कार्यकर्ताहरूले गरेका छन्। गोलीबाट नेता बनाउने कुप्रथाले माओवादी पार्टीको शाख गिरेको र जनताबाट पार्टी टाढा भएको उनीहरूले बताएका छन्। सिंहदरबार, बालुवाटार र पेरिसडाँडामा नेताहरूले जनतालाई भेट नदिने तर, दलालसँग उनीहरूको उठबस हुने गरेको बैठकमा केन्द्रीय सदस्यहरूले कुरो उठाएको केन्द्रीय सदस्य वाहिद मियाँले बताए।

‘नेताहरूको तस्करसँग उठबस बढ्यो। सुन कान्डमा पार्टीका पदाधिकारी लेभलका नेताहरू मुछिए’, बैठकमा शीर्षस्थ नेताहरूमाथि नेताहरूले उठाएको कुरो बारे बताउँदै उनले भने, ‘पार्टीको पदाधिकारीका विषयमा अहिले मात्रै होइन पहिलेदेखि नै कमिसनखोर र तस्करीमा नाम मुछिएको कुरोे उठिरहेको छ। यसमा पार्टी अध्यक्षले गम्भीरतापूर्वक लिनु पर्छ। कारबाही गरिनु पर्छ।’ 

भ्रष्टाचारमा मुछिएका नेताहरूमाथि गम्भीरतापूवर्क अनुसन्धान गरेर दूधको दूध र पानीको पानी छुट्याउन नेताहरूले प्रचण्डसँग माग राखेका छन्। केन्द्रीय सदस्य राजु खड्काका अनुसार सुन कान्ड, ललिता निवास प्रकरण, सरणार्थी कान्ड जस्ता देशद्रोही तथा भ्रष्टाचारको घटनामा छानबिन गरेर दोषीहरूलाई कारबाहीका लागि फायर खोल्न प्रचण्डलाई ध्यानाकर्षण गराएका छन्।

‘अध्यक्षजी कसैलाई नछोड्नुस्। 

आफ्नो अर्काको। माओवादी भित्र वा अर्को, कुनै पनि नेता, व्यापारी वा मान्छे जोडिएको छ भने कसैलाई पनि नछोड्नु। सबैलाई कारबाही गर्नुस्,’ बैठकमा जोडसँग कारबाहीको माग उठेको सुनाउँदै केन्द्रीय सदस्य खड्काले भने, ‘जो जो मुछिन्छन्, आफ्नो होस् वा नजिकको होस्, टाढाको होस् वा जोसुकै होस् कारबाही गर्न अध्यक्षजी निर्मम हुनुहोस्। भ्रष्टाचारविरोधी अभियान निर्मम ढंगले अगाडि बढाउनुहोस्।’

पार्टी अध्यक्ष प्रचण्ड परिवारवादमा फसेको बैठकमा कुरो उठेको छ। केन्द्रीय सदस्य मियाँका अनुसार पार्टी अध्यक्षले प्रस्तुत गरेको प्रतिवेदन ठीक छ। तर, अध्यक्ष वरिपरिकाका केही मान्छेहरूले अध्यक्षलाई कमजोर बनाए।

‘ज्वाइँलाई मन्त्री बनाउने, छोरीलाई स्वकीय सचिव बनाउनेबारे बैठकमा अध्यक्षविरुद्ध नेताहरूले आरोप लगाउँदै पारिवारवादको नारा लगाएर विरोध जनाए,’ केन्द्रीय सदस्य मियाँले भने, ‘कतिपय नेताहरू पार्टी भित्रैबाट प्रचण्डलाई सखाप भएको हेर्न चाहन्छन्। जुन गलत कुरो हो।’ पार्टी सरकारमा रहेको र गृहमन्त्री माओवादीकै नेता रहेकोले सुनकान्ड जस्ता भ्रष्टाचारका विषयमा छानबिन गर्नुपर्ने बैठकमा बहस उठेको बताउँदै उनले थपे, ‘छानबिन गर्ने विषयमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ क्लियर हुनुहुन्छ। पार्टी अध्यक्ष प्रचण्डजी स्वयम् प्रधानमन्त्री हुनुहुन्छ। निष्पक्ष रूपमा आफ्नो नेता वा अरुको नभनी छानबिन गर्नुपर्छ।’

केन्द्रीय सदस्य राजु खड्काका अनुसार पार्टीमा तस्करहरू हावी भएको बैठकमा कुरा उठेको छ। आम पहुँचमा नेताहरू छैनन्। दलालको दैलोमा नेता पुग्छन्। नेताहरूले बिचौलिया, ठेकेदारलाई पोसेका छन्। नेताहरूले आसेपासेलाई पद बाँड्ने काम गरेकाले क्रान्तिकारी पार्टीको विचार र शाखमा धक्का लागेको कुरा बैठकमा उठेको छ।

बिहीबारको बैठकमा प्रायः नेताहरूले प्रचण्डजीको भूमिकालाई प्रशंसा गरे। तर, तलका पदाधिकारीमा रहेका नेताहरूले पार्टी ध्वस्त बनाएको कुरो उठाए।

‘प्रचण्डजीको स्प्रिट, सक्रियता, गम्भीरता ठीक छ। जसरी उहाँले रिस्क मोल्नुहुन्छ, त्योचाहिँ दोस्रो तहको नेताले गर्न सकेनन्। क्रियाशिलता पनि देखिएन। सिर्जनशीलता पनि देखिएन’, केन्द्रीय सदस्य खड्काले भने, ‘तल्लो तहका नेताहरूको मुख्य चिन्ता प्रचण्ड पछाडिका दोस्रो तहको नेता को हो भन्ने थियो।’

पार्टीको उपल्लो तहमा परिवारवाद हावी भएको, नेतृत्वहरू कमिसनको चंगुलमा फसेका बारे बैठकमा चर्को कुरा उठेको थियो। केन्द्रीय सदस्य खड्काले भने, ‘मूलतः प्रचण्डजीतिर नेताहरूले इंगित गर्दै पार्टीमा परिवारवाद हावी भएको र पार्टीका प्रचण्डमुनिका लिडरहरू बिचौलियाको फेरिमा फसेको कुरो उठ्यो।’

माओवादी केन्द्रका स्थायी समिति सदस्य नारायण दाहालले सुन तस्करीमा आफ्नै नेताहरूको नाम मुछिएको प्रकरणमा पार्टी गम्भीर भएर प्रस्तुत हुनुपर्नेमा बैठकमा सहभागी नेताहरूले आवाज उठाएको बताए। उनले भने, ‘सुन तस्करी कान्डमा नाम मुछिएका नेताहरूले आफैं आत्मआलोचना गर्नुपर्छ। पुष्टि भए कारबाही भोग्न तयार हुनुपर्छ।’

पार्टी उपाध्यक्ष कृष्णबहादुर महरा र उनका छोरा, उपमहासचिव वर्षमान पुन, माओवादी नेतृ ओनसरी घर्तीमगर, पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन लगायतसँग सुन तस्करको उठबस भएको फोटो सार्वजनिक भएको थियो। 

बिहीबारको बैठकमा माओवादी नेताहरूले पार्टीलाई शुद्धीकरण गर्न नेता र उनका परिवार तथा आफन्तजनको सम्पत्ति छानबिन गर्न माग गरेका छन्। २०६४ यता विभिन्न पदमा पुगेका नेताहरूको सम्पत्ति छानबिन गर्नुपर्ने माग बैठकमा उठेको हो। ‘सबै नेताहरूले पार्टीलाई सम्पत्ति विवरण बुझाउनु पर्छ,’ माओवादी नेता नारायण दाहालले भने, ‘आफ्नो सम्पत्ति विवरणको तथ्य, सत्य पार्टीमा अनिवार्य दिनुपर्ने र शंका लागे छानबिन गर्नुपर्ने आवाज उठेको छ।’ गोजीबाट नेता बनाउने परम्पराले माओवादी पार्टीभित्र व्यक्तिवाद, परिवारवाद र गुटबन्दी हावी भएको भन्दै बैठकमा चर्को विरोधको स्वर थपिँदै गएको छ। गोजीबाट नेता छान्ने प्रक्रियाले पार्टीका नेताहरू बेलगाम भएको कुरासमेत उठेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.